उत्तराखण्ड बाढी : बेपत्ताको खोजीका लागि परिवारका सदस्य पुगे पौडीगढवाल

बेपत्ताहरुको खोजी कार्य जारी रहेको पौडीगढवाल प्रहरीका डीएसपी लोकेश्वर सिंहले बताए । तर निरन्त्तर वर्षा भइरहेका कारण खोजीमा समस्या भइरहेको छ ।

श्रावण २३, २०८२

कमल पन्थी, भवानी भट्ट

Uttarakhand floods: Family members reached Paudigarhwal to search for the missing

What you should know

कञ्चनपुर र बर्दिया — भारत उत्तराखण्डको पौडीगढवाल जिल्लाअन्तर्गत थलिसेन ब्लकको बकुडा गाउँमा बेपत्ता भएका नेपाली कामदारको खोजीका लागि परिवारका सदस्यसमेत त्यहाँ पुगेका छन् । बुधबार बिहान आएको पहिरोमा परी बेपत्ता भएका नरेन्द्र खड्काका बुवा र भिनाजु खोजीका लागि गढुवाल पुगेका हुन् ।

खड्काका बुवा चुडामणि र भिनाजु नविन थापा शुक्रबार दिउँसो बकुडा पुगेका छन् । उनीहरु बेपत्ता भएको खबर सुन्नेबित्तिक्कै बिहीबार घरबाट हिँडेका हुन् । पहिरोमा परी नरेन्द्रसँगै उनकी श्रीमती सन्ध्या र १८ महिनाको छोरा रोमन बेपत्ता छन् । ‘पहिरो मिसिएको खोला हेर्दा बेपत्ता भएकाहरु भेटिएलान् भन्ने आस छैन, तै पनि मनले मानेन एकपटक चित्त बुझाउन भए पनि यहाँ पुग्नुपर्‍यो,’ खड्काले भने, ‘कमाउन गएको छोराको परिवारै पहिरोले लग्यो, घरमा बस्न पनि सकिएन ।’

उनले बखुडा पुगेकै अवस्थामा बिहीबार दिउँसो पहिरो गएको क्षेत्रको निरीक्षणका लागि पुगेका उत्तराखण्डका शिक्षा, स्वास्थ्य तथा आपदा विभागका मन्त्री धनसिंह रावतलाई पनि भेटेका छन् । मन्त्री रावतले पहिरोमा परी बेपत्ता भएकाहरुका परिवारलाई उचित राहत उपलब्ध गराइने आश्वासन दिएको खड्काले बताए ।

‘तपाईंहरु प्रधान र मेटको सम्पर्कमा रहनुहोला, आपदा विभागले उचित निर्णय गरेर राहत दिनेछ,’ मन्त्रीले दिएको आश्वासनबारे खड्काले भने, ‘अहिले खोजीका लागि पनि सबै संयन्त्र परिचालन भएको छ ।’ उनले नेपालीहरुलाई काममा लगाउने मेट गोपाल खड्कालाई पनि भेटेको बताए ।

बेपत्ताहरु भेटिने सम्भावना नदेखिएपछि खड्का शनिबार घर फर्किने तयारीमा छन् । घर फर्केर अन्तिम संस्कारदेखि किरिया लगायतको काम गर्ने बताए । पहिरोमा परी बेपत्ता भएकी अमृता परियारका श्रीमान् रामु बखुडामै छन् । उनीहरुसँगै काम गरिरहेका छन् । रामु अहिले बोल्न सकिरहेका छैनन् । श्रीमतीका विषयमा कुरा गर्दा रुन थाल्छन् । अर्का बेपत्ता सुवास विकको घरमा पनि खबर पठाइएको बखुडामा रहेको चित्रबहादुर पौडेलले बताए ।

बुधबार बिहान बकुडा क्षेत्रमा ठूलो पहिरो आएपछि सडक निर्माणका लागि त्यहाँ पुगेका ५ जना नेपाली कामदार बेपत्ता भएका थिए । सडक किनारमा टेन्ट गाडेर बसोबास गर्ने उनीहरुलाई पहिरोले टेण्टसहित बगाएर लगेको थियो । पहिरोमा परी ४ जना घाइते भएका छन् ।

बेपत्ताहरुको खोजी कार्य जारी रहेको पौडीगढवाल प्रहरीका डीएसपी लोकेश्वर सिंहले बताए । तर निरन्त्तर वर्षा भइरहेका कारण खोजीमा समस्या भइरहेको छ ।

यसैगरी मधुवन–५ का गाउँ नम्बर ८ का ४५ वर्षीय रामु परियारका श्रीमती अमृता बेपत्ता भएकी छिन् । घर ठेगाना थाह नभएको सुभाष विक बेपत्ता भएको पौडेलले बताए । पौडेलले कान्तिपुरसँग मोबाइलमा जानकारी गराएअनुसार मधुवन नगरपालिका–५ गाउँ नम्बर ८ कि लक्ष्मी परियार र सोही पालिका–७ का भुपेन्द्र खत्रीको उपचार भइरहेको बताए । ‘परियारको सुशीला तिवारी अस्पताल हलद्धानी र खत्रीको फाउण्डेशन अस्पताल सतफलीमा उपचार भइरहेको छ,’ उनले भने, ‘मधुवन–५ का उदय गुरुङ, मधुवन–८ का गोपाल थापा, बारबर्दिया नपा–४ का कालिग्राम चौधरी र मधुवन–५ का अशोक परियार अस्पतालबाट डिस्चार्ज भएका छन् ।’

दिल्लीस्थित नेपाली दूतावासका एसएसपी प्रकाश मल्लले भारतीय प्रहरीले दिएको जानकारी अनुसार तीनजना डिस्चार्ज भएको र एकजनाको उपचार भइरहेको बताए ।

बैंकको ऋण र छोरीको उपचारका लागि मजदुरी

छोरीको उपचार र ऋण तिर्न बाबा, आमा र बहिनी गढवालमा मजदुरी गर्न गएको अमृताकी जेठी छोरी पुजा परियारले बताइन् । ‘घाइते बहिनी एउटा आँखा राम्रोसँग हेर्न सक्दिनन्,’ उनले भनिन्, ‘बैंकबाट ऋण काढेर काठमाडौ पुर्‍यायौं, धेरै खर्च भयो, अहिले बहिनी पनि घाइते छिन् ।’ आमा जिउँदो वा मृत जे भएपनि एकपटक हेर्न मन भएको भन्दै उनी भक्कनिन् ।

Uttarakhand floods: Family members reached Paudigarhwal to search for the missing

पुजाका अनुसार बाढी आएको समय बुबा सुरक्षित स्थलमा चामल ओसार्दै थिए । बुबाले आमा–बहिनीलाई पनि टेन्टबाट निस्कन भनेको तर भाग्दा टिपरको ठोकिएर खुट्टामा चोट लागेपछि पहिरोले पुरेको थियो । पुजाको बुबा रामबहादुर, आमा अमृता र बहिनी लक्ष्मी गत बैशाख महिनामा गढवाल गएका थिए । ‘यस वर्ष बैंकको ऋण आधा भन्दा बढी बुझाउने कुरा घरमा भइरहेको थियो,’ उनले भनिन्, ‘च्यातिएको टेन्टमा आमाको मोबाइल र चप्पल भेटिएको छ ।’

नरेन्द्रकी आमा छिनछिनमा मुर्छित

एकै परिवारका तीन जना सदस्य बेपत्ता भएपछि मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का खड्का परिवार चिन्तित छन् । पहिरोमा परी मधुवन नपा–६ का ३९ वर्षिय नरेन्द्र खड्का, ३० वर्षीया श्रीमती सरस्वती र छोरा २ वर्षीया रोमन बेपत्ता भएका छन् । नरेन्द्रका बुबा चुडामणि एक मात्र छोरा बेपत्ता भएको जानकारी पाएपछि शुक्रबार गढवाल पुगेको पौडेलले बताए । गत असार ६ गते सडक निर्माणको काममा दैनिक ज्यालादारी गर्न नरेन्द्र परिवारसहित गढवालको जमपुरीमा गएका थिए ।

Uttarakhand floods: Family members reached Paudigarhwal to search for the missing

छोरा, बुहारी र नाती बेपत्ता भएपछि नरेन्द्रको आमा लिला सरा तीनदिनदेखि खाना नखाएको देवर उद्धव खड्काले बताए । ‘भाउजू बेलाबेलामा मुर्छित हुनुहुन्छ । बोल्दा बोल्दै भक्कानो छोडेर रुनु हुन्छ,’ उनले भने, ‘भतिज नरेन्द्र अधुरो घर निर्माण गर्न मजदुरी गर्न गएको थियो । आर्थिक अवस्था कमजोर भएकाले अधुरो घर ढलान गर्न बाकी थियो ।’

बेलाबेलामा पानी परेकोले उद्धार कार्य प्रभावित हुने गरेको छ । उद्धार कार्यमा एनडीआरएफ, नेपाली मजदुर, सडक ठेकेदार कम्पनी र सुरक्षाकर्मी खटिएको त्यहाँ स्थित नेपालीले जानकारी गराएका छन् । बर्दियाको ठेगाना नखुलेका सुभाष विक पनि सम्पर्कविहीन रहेको बताइएको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully