काठमाडौँ मोडेल कलेजमा अनुशासनका नाममा दुर्व्यवहार !

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यो घटनाले स्कुल र कलेजहरूले अनुशासनका नाममा विद्यार्थीहरूमाथि जे गरिरहेका छन्, के त्यो ठीक छ भन्ने प्रश्न उठाइदिएको छ । अनि अनुशासन कायम गराउन कलेज र स्कुलमा डर देखाउने, सजाय दिने वा मानसिक रुपमा दबाबमा राख्ने जे-जस्ता अभ्यास गरिरहेका छन् त्यसमाथि पनि समीक्षा गर्नुपर्ने अवस्था आएकाे देखाएकाे छ ।

श्रावण २३, २०८२

आरती राय

Abuse in the name of discipline in Kathmandu Model College!

What you should know

काठमाडौँ — दुर्व्यवहारको मापन कसरी हुन्छ ? शरीरको नीलडाम, चोटपटक वा उजुरी हेरेर ? त्यसो भए मानसिक दुर्व्यवहारकाे मापन कसरी हुन्छ त ? पछिल्ला दिनमा सामाजिक संजालमार्फत सार्वजनिक भएका केही टिप्पणी र भोगाइजन्य 'स्टाटस'हरूले यी विषयमा बहसको खाँचो औँल्याएका छन्।

अनि स्कुल र कलेजहरूले अनुशासनका नाममा विद्यार्थीहरूमाथि जे-गरिरहेका छन्, के त्यो ठिक छ त भन्ने प्रश्न समेत उठेको छ। अनुशासन कायम गराउन कलेज र स्कुलहरूमा डर देखाउने, सजाय दिने वा मानसिक रुपमा दबाबमा राख्ने जे जस्ता अभ्यासहरू भइरहेका छन् त्यसले कतै विद्यार्थीहरूलाई आघात पुर्‍याइरहेको त छैन भन्ने बहस पनि सुरु भएको छ।

गत बुधबार ‘द काठमाडौँ पोस्ट’ले काठमाडौं मोडेल कलेज (केएमसी) मा भएको दुर्व्यवहारसम्बन्धी समाचार प्रकाशित गर्‍यो। यस कलेजमा अध्ययनरत विद्यार्थी, भूतपूर्व विद्यार्थीहरूले कलेजमा भोगेको दूर्व्यवहारबारे सामाजिक सञ्जाल र रेड्डिटमा लेखेपछि यो विषय सार्वजनिक भएको थियो।

पोस्टले यस विषयमा थप बुझ्न १६ जना अध्यनरत र भूतपूर्व विद्यार्थीहरू कुराकानी समेत गरेको थियो । यी सबै कुराकानीको अडियो रेकर्ड पोस्टसँग सुरक्षित छ । पोस्टको रिपोर्टिङ प्रकाशित भएपछि पोस्टको टिकटक अकाउन्ट र इन्स्टाग्राम पेजमा उक्त कलेजमा अध्यनरत र भूतपूर्व विद्यार्थीहरूले आफूले भोगेका अनेकन दूर्व्यवहारका घटनाहरू शेयर गरेका छन्।

पोस्टको टिकटकमा एक विद्यार्थीले लेखेका छन्, ‘दुई वर्षअघि म कक्षा १२ मा पढ्दा कपालको स्टाइल मन परेन भनेर कुटाइ खाएकाे थिएँ । मेराे कपालकाे स्टाइल कलेजमा असुहाउँदाे त थिएन। तर पनि पिटाइ खाएँ । यस्तो व्यवहार त बन्द गरिनुपर्छ ।’

कतिपयले भने यस्ता व्यवहारलाई अनुशासनकै हिस्सा भन्दै, आजकालका विद्यार्थीहरू ‘धेरै संवेदनशील’ भएको टिप्पणी पनि गरेका छन् । एकजनाले लेखेका छन् ‘हाम्रा पालामा अझ धेरै कुटिइन्थ्यो, झन् गाह्रो थियो ।’

अधिकांश कमेन्टमा विद्यार्थीहरूले यस्ता दुर्व्यवहार धेरैजसो विद्यालय र कलेजमा सामान्य झैँ बनिसकेको बताए । पोस्टको टिकटकमा अर्का एक विद्यार्थीले लेखेका छन्, ‘केएमसीमा मात्र होइन, काठमाडौंका अधिकांश कलेजहरू नै कसरी कडा अनुशासन लागू गर्न सकिन्छ भनेर प्रतिस्पर्धामा छन् र अनुशासनकाे नाममा विद्यार्थीहरू दुर्व्यवहार खेप्न बाध्य छन्।’  केही विद्यार्थीले त कलेजको नामै लिएर पनि आफूमाथि भएका दुर्व्यवहारका घटनाहरू उल्लेख गरेका छन्। 

केएमसीमा भएको के हो ? 

दुई साताअघि रेडिटमा ‘Kathmandu Model College CI Staff Humiliate and Physically Assault Students’ शीर्षकको एक पोस्ट सार्वजनिक भयो । त्यसपछि बागबजारस्थित २० वर्ष पुरानो काठमाडौं मोडेल सेकेन्डरी स्कूल (केएमसी प्लस टु) विवादमा आयो । उक्त पोस्टमा भनिएको थियो - कलेजका काउन्सिलिङ इन्चार्ज (सीआई) ले अनुशासनको नाममा विद्यार्थीहरूमाथि नियमित रूपमा दुर्व्यवहार गर्दै आएका छन् ।

रेडिटमै आएका २०० भन्दा बढी कमेन्ट, पोस्ट र कन्फेसनमा कुटपिट, गालीगलौज, सार्वजनिक अपमान र अनावश्यक शारीरिक जाँचजस्ता गतिविधिहरू गर्ने गरिएकाे उल्लेख छन् । त्यस्तै ‘ट्रूथ’ नामक एक टिकटक पेजबाट केएमसीमका विद्यार्थीहरूले छद्मनामबाट आफ्ना अनुभव सार्वजनिक गर्न थाले।

जुलाई ३० सम्ममा मात्रै उक्त पेजमा १० हजारभन्दा बढी लाइक आइसकेको थियो र पोस्ट गरिएका भिडियोहरूमा सयौँ सेयर र कमेन्टमा त्यस्तै अनुभवहरूको सेयर गरिएका थिए । पछिल्लो पटक धेरै शिक्षण संस्थामा अनुशासन हेर्ने पदलाई ‘डिसिप्लिन इन्चार्ज’ (डीआई) भनिन्थ्यो। तर काठमाडौं महानगरपालिकाले 'डीआई' राख्न प्रतिबन्ध लगाएपछि, काठमाडौं मोडेल कलेजले उक्त पदको नाम फेरेर ‘काउन्सिलिङ इन्चार्ज’ राखेको हो ।

महानगरका सह-प्रवक्ता ध्रुवकुमार काफ्लेले कान्तिपुरसँग भने, ‘स्कुल, कलेजमा डीआई राख्न पाइँदैन । तर नाम मात्रै फेरेर उनीहरूले पहिलेकै कडा व्यवहार लागू गरिरहेका छन् भने त्यो गलत हो ।’ 

२५औँ ब्याचको प्लस टु ‘डी–१३ सेक्सन’मा अध्ययनरत एक विद्यार्थीले दुई हप्ताअघि कलेजमा घटेको एउटा घटनाबारे रेडिटमा लेखेका छन् । उनका अनुसार अन्तिम कक्षा सुरु हुनुअघि करिब १२–१३ जना विद्यार्थीहरू शौचालय गएका थिए । फर्किएपछि कम्प्युटर शिक्षकले कक्षा प्रवेश गर्न दिएनन् र सबैलाई ‘कोअर्डिनेटर’को कार्यालयमा लगे । 

उनले लेखेका छन, ‘अफिसमा सीआई रेनन रिजालले हामीले सीआर (क्लास मोनिटर) वा शिक्षकसँग अनुमति लिएका थियौ कि थिएनौ भनेर सोधे । हामीले अनुमति लिएका थिएनौं । हाम्रै गल्ती हो । तर त्यसको लागि हामीले यति ठूलाे सजाय पायाैँ । हामी त छक्कै पर्‍यौँ।’ 

विद्यार्थीका अनुसार  सीआई रिजालले सबैलाई एक–एक गरी पिट्न सुरु गरे । अर्का सीआई सुब्बा साह भने छेउमै चुपचाप उभिएकाे विद्यार्थीहले अनुभव सुनाए । त्यस्तै आईडी नलगाएको भन्दै सीआईले सर्टको कलर समातेर बेस्सरी कुटेकाे अर्का विद्यार्थीले सुनाएका थिए ।  ‘हामीलाई अपराधीसरह व्यवहार गरियो’, उनले भनेका छन्, ‘केएमसी शैक्षिक रूपमा उत्कृष्ट होला, तर यहाँका सीआईहरूको व्यवहारले सम्पूर्ण वातावरण बिग्रिएको छ ।’ 

यही कलेजमा म्यानेजमेन्ट अध्ययनरत एक विद्यार्थीले हामीसँग यस्तै दूर्व्यवहारको अनुभव सुनाए । नाम नराख्ने सर्तमा उनले भने, ‘मेरो कपाल छोटो थियो, तेल पनि लगाएको थिएँ । तर, एउटा सानो रौँ निधारतिर झरेकै आधारमा मलाई पिटियो । म कलेजको सबै नियम पालना गर्छु, तर उनीहरू सानो बहानामा पनि हात हाल्छन् ।’

Abuse in the name of discipline in Kathmandu Model College!

म्यानेजमेन्ट र कम्प्युटर साइन्स समूहमा अध्ययनरत अर्की छात्रा कलाले पनि हामीसँगको कुराकानीमा क्याम्पसभित्र हुने व्यवहारबारे आक्राेस पाेखिन् । ‘कलेजमा मेकअप ल्याउन पाइँदैन, त्यो हामीलाई थाहा छ । पार्टीमा गएजस्तै मेकअप गरेर कलेज आउन नहुने सामान्य बुझाइ हामीसँग पनि छ । तर केएमसीले सनस्क्रिन, भेस्लिन, लिप बामजस्ता आधारभूत कुरालाई पनि मेकअप भन्दै प्रतिबन्ध लगाउँछ । आजकल त छालारोग विशेषज्ञले पनि सनस्क्रिन लाउनुपर्छ भन्छन्, तर कलेजले भने यति सामान्य कुरामा पनि प्रतिबन्ध लाउँछ ।’ 

उनका अनुसार यी सामग्रीहरू नियमित रूपमा गरिने ‘र्‍यान्डम चेक’ का बेला खोसिन्छन्, धेरैजसो त फिर्ता पनि दिइँदैन । त्यसपछि विद्यार्थीहरूलाई सीआईको अफिसमा बोलाएर तथानाम गाली गरिन्छ । काठमाडौं पोस्टसँग सम्पर्कमा आएका छात्राहरूका अनुसार महिला सीआईहरूले शौचालयमै गएर पनि मेकअप ल्याएका छन् कि भनेर शरीरको जाँच गर्ने गर्छन् । 

कलाका अनुसार यस्तो कडा नियमले विद्यार्थीहरूलाई लुकाएर सामान ल्याउने र कलेजसँग विद्रोह गर्ने मनोविज्ञानमा पुर्‍याएको छ । ‘ओठ फुट्दा लगाउने लीपबामजस्ता सामान्य कुरा पनि भित्री कपडाभित्र लुकाएर ल्याउनुपरेको छ। कलेजले पनि आफ्ना नियमहरूमा केही समस्या छन् कि भनेर मनन् गर्नु पर्ने हो’, उनले प्रश्न गरिन्, ‘सनस्क्रिन वा लीपबामको अनुशासन वा पढाइसँग के सम्बन्ध ? 

कलेजमा सीआईहरूलाई कसैको कपाल, पहिरन मन परेन भने विद्यार्थीहरूलाई ‘कन्डक्टर’ को उपनाम दिएर खिसीट्युरी गर्छन् । एक विद्यार्थीले पीडा सुनाउँदै भने, ‘हामी पढ्न आएको हो । तर यहाँ त सामान्य पेशामा काम गर्ने व्यक्तिलाई होच्याउने, अपमान गर्ने शब्द प्रयोग गरिन्छ ।’ 

कक्षा १२ मा अध्यनरत भावनाले पनि हामीसँग यस्तै अनुभव सुनाइन् । उनले कक्षा ११ मा पढ्दा आफूले मानसिक रूपमा अत्यन्त कठिन समय भोगेको बताइन् । दिदी क्यान्सरकी विरामी भएकाले तनावपूर्ण घरेलु परिस्थितिका कारण ती दिनहरूमा उनी कहिलेकाँही साथीको घरमा बस्न जान्थिन् । एकदिन उनी कलेजको भ्यान नचढी सोझै साथीको घर गइन् । तर यो खबर उनले घरमा भन्न भुलिन् । 

उनी नआएपछि बाबुआमा कलेजमा सम्पर्क गरे । उनले यही घटनापछि आफूले कलेजबाट बारम्बार गाली खानु परेकाे बताइन् । उनले भनिन, ‘मैले कोर्डिनेटर सर (मनोज सुवेदी)सँग सबै कुरा स्पष्ट पारेँ । तर पनि मलाई पटक–पटक कक्षाबाट निकालेर मनोज सरको अफिसमा बाेलाइन्थ्याे ।’ 

कलेजका डेपुटी सीइओ राम न्यौपाने र अनिश ढकालले  विद्यार्थी को मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेरै आफूहरूले कलेजमा मनोचिकित्सक राखेको बताए। तर भावनाले भने आफूले कलेजको प्रशासनबाट आफ्नो मनाेभावनाको सम्मान नभएको बताइन् । 

Abuse in the name of discipline in Kathmandu Model College!

उनले भनिन्, ‘मैले एन्जाइटीको औषधि खाइरहेकी थिएँ । तर मनोज सरले मलाई नाटक गरेको आरोप लगाउनुभयो। याे भन्दा धेरै औषधि खानेहरू पनि त पढिरहेका छन् । तिमीचाहिँ नाटक गर्दैछौ भनेर अपमान गर्नुभयो।’ उनले पारिवारिक र व्यक्तिगत कुरालाई लिएर पनि कलेजले बारम्बार हाेच्याउने गरेकाे गुनासो सुनाइन् । 

कक्षा १२ की कानूनकी विद्यार्थी आश्माले पनि कलेजमा आफूले भोगेको उकुसमुकुसपूर्ण व्यवहारबारे बताइन् । उनले भनिन, 'कलेजको सीसीटीभी निगरानी यति कडा छ कि पढ्न आएका विद्यार्थी अपराधीझैँ व्यवहार भोग्न बाध्य छन् । सीआईहरू सधैं सीसीटीभी हेरेर बसेका हुन्छन् । हामी पढ्न आएका हौं । जेलमा राखेर निगरानी गरिनुपर्ने अपराधी होइनौं ।’ 
Abuse in the name of discipline in Kathmandu Model College!

एक महिना अघि मात्रै आश्माकी एक साथीलाई कक्षामा धेरै बोलेको भनेर सीआईले बोलाए । तर उनकाे अनुसार उनले कक्षामा सामान्य संवाद गरेकी थिइन् । ती सीआईले उनकाे कुरै नसुनी आमाबुबालाई पनि ‘आपत्कालीन अवस्था छ’ भन्दै तुरुन्तै कलेज बोलाए। आश्माले भनिन्, ‘सबैको अगाडि गाली गर्ने, अपमान गर्ने जस्ता घटना कलेजमा दिनहुँको जस्तै भइरहेको हुन्छ।’ 

पोस्टको सम्पर्कमा आएका धेरैजसो विद्यार्थीहरूले कलेज प्रशासनमा गुनासो राख्ने पनि कुनै सुरक्षित, गोप्य र प्रभावकारी संयन्त्र नभएको बताए । कक्षाका प्रतिनिधि (सीआर) मार्फत लिखित उजुरी दिनुपर्ने भए पनि, ती उजुरीहरूलाई प्रायः बेवास्ता गरिन्छ ।

Abuse in the name of discipline in Kathmandu Model College!

प्रणालीगत दुर्व्यवहारको चपेटामा विद्यार्थीहरू

हालै कक्षा १२ पूरा गरेकी पल्कीले भने फरक अनुभव सुनाइन् । कलेजले शौचालय जस्ताे आधारभूत अधिकारमासमेत नियन्त्रण गरेको उनको अनुभव छ । ‘ब्रेक नटुंगिँदै पुरुष सीआईहरू शौचालयको ढोकामा आएर चिच्याउँथे । छिटो कक्षामा जाउ भन्थे’ उनी सम्झिन्छन्, ‘महिलालाई हेप्ने अनेकन टिप्पणीहरू दिने गर्थे ।’ 

त्यतिबेला पल्कीले यस्ता कुरा सामान्य ठान्थिन् । तर जब उनी २०८२ को असारमा स्वयंसेवी इन्टर्नको रूपमा फेरि कलेज फर्किन्, उनले यो व्यवहार कुनै व्यक्तिगत घटना नभई, संस्थागत ढाँचाकै हिस्सा रहेको स्पष्ट देखिन्। ‘त्यो केवल एक–दुई जनाको व्यवहार थिएन,’ उनले भनिन्, ‘त्यो त संस्थागत र प्रणालीगत थियाे ।’

उनी एकदिनको घटना सम्झिँदै भनिन्, ‘कक्षामा एकजना केटा विद्यार्थीलाई दुईचोटि थप्पड हानिएको थियो । त्यसपछि सीआईहरू रेनन र सुब्बाले उनलाई कार्यालय लगे, जहाँ फेरि थप्पड हानियाे । उनी रुँदै थिए, तर सीआईहरूले कुटिरहे ।’ 

पल्कीले जब सीआईहरूलाई यस्तो व्यवहार गलत भएको भन्दै सोधपुछ गरिन्, उनीहरूको जवाफ झन् अचम्मको थियो ।  उनीहरूमा कुनै पछुतो थिएन । ‘केएमसी ठूलो संस्था हो,’ उनीहरूले भने, ‘यस्ता विद्यार्थीहरूलाई यसैगरी सम्हाल्नुपर्छ। तिमीलाई थाहा छैन, साइन्सका विद्यार्थीहरूलाई यसरी नै पढाइन्छ। कतिपय अभिभावकले त हामीलाई पिट्नेसम्मको अनुमति दिएका छन्।’

होस्टलभित्र मानसिक यातना

२०८१ सालमा कलेज सकेकी रुहानीका लागि नियन्त्रण केवल कक्षा कोठामा सीमित थिएन। त्यो होस्टलसम्मै फैलिएको थियो । उनले त्यतिबेला विद्यार्थीहरूलाई बिहान ५ बजे उठ्नुपर्ने, राति १० बजेसम्म अनिवार्य सुत्नुपर्ने नियम भएको बताउँदै थकित हुँदा पनि दिउँसो सुस्ताउन नपाइने अनुभव सुनाइन् ।

उनले मोबाइल फोनहरू सबै वार्डेनसँग राखिने र शनिबार ६ घण्टाकाे लागि मात्र दिइने बताउँदै भनिन्, ‘अरु बेला अत्ति आवश्यक परेमा मात्र वार्डेनमार्फत फोन गर्न पाइन्थ्यो, त्यो पनि वार्डेन कै अगाडि, अधिकतम तीन मिनेटका लागि मात्र । कुनै गोपनीयता नै थिएन ।’  

Abuse in the name of discipline in Kathmandu Model College!

उनले होस्टलको कुरा अभिभावकलाई भन्न नपाउने नियम पनि रहेको र यदि कसैले भनिहाले र वार्डेनलाई थाहा पाए भने कराउने, गाली गर्ने चलन भएको पनि बताइन् । विद्यार्थीहरूका अनुसार जाडो महिनामा घाम ताप्नका लागि केही समय छतमै बस्दा पनि आशंकाको नजरले हेरिन्थ्याे । छतमा लुगा सुकाउँदा पनि तुरुन्तै फर्की हाल्नु पर्ने नत्र गाली खानुपर्ने अनुभव पनि धेरै विद्यार्थीहरूले सुनाए।

रुहानीले पुरानाे दिन सम्झिँदै भनिन्, ‘जाडोमा कपाल सुकाउन छतमा बस्दा वार्डेनहरू चिच्याउँथे- ‘कसलाई देखाउन बसेकी ? कुन केटालाइ देखाउनु त्यस्तो गरेको, कुन केटासँग लागेको छस् ?’  केएमसी होस्टलमा बस्ने छात्राहरूलाई अनिवार्य रूपमा एकै प्रकारको कलेजले दिएको ट्रयाकसुट लगाउन लगाइन्थ्यो।

कक्षा १२ मा अध्ययनरत विज्ञान संकायकी एक छात्राका अनुसार, छात्राहरूको शरीरलाई निरन्तर वस्तुवादी नजरले हेरिन्थ्यो । ट्रयाकसुट धुने दिनमा समेत ‘हाफ-स्लीभ’ लगाउन वा छाला देखिने किसिमको पोशाक लगाउन रोक थियो। ‘तिमीहरूको लुगाले पुरुष शिक्षकहरूको ध्यान तान्छ भनेर हामीलाई नै कराइन्थ्याे’, उनले भनिन् । 

यसले आफूलाई परेको मानसिक असर सम्झँदै उनले थपिन्, ‘१५-१६ वर्षको हामीलाई,  ‘तिमीहरू जतिखेर ढाकिएर बस, नत्र पुरुष शिक्षकहरू विचलित हुन सक्छन्’ भन्दा कस्तो भयो होला ? त्यसले पुरुष शिक्षकहरूबारे के संकेत गर्छ ? यस्ता टिप्पणीहरूले हामीलाई वस्तुको रूपमा लिएको जस्तो लाग्थ्यो, शिक्षकहरूले यौनिक दृष्टिले हेरेको जस्तो लाग्थ्यो । हामी नै गलत हौँ। फोहोर हौं जस्तो लाग्थ्यो ।’ 

२०७९ मा यस कलेजको पढाइ सकेकी पूर्वविद्यार्थी मनिषले कलेजमा छँदाका कैयन नमिठा अनुभवहरू सुनाए। उनले कक्षा ११ सकिएपछि करिब १०–१२ दिने बिदाको बेलाकाे एउटा सन्दर्भ सुनाउँदै भने, ‘एक दिन कलेज परिसरमा हाफ पाइन्ट लगाएर छिरेँ। तर गैरे थरका कोर्डिनेटरले देखे र दौडिँदै आएर झण्डै चड्काए।’ उनले त्यसदिन आफूलाइ गेटबाहिर उभ्याएर गाली गर्दै घर पठाएको बताए । Abuse in the name of discipline in Kathmandu Model College!

मनिषको अनुभवमा, कलेजमा अझ मधेसी विद्यार्थीप्रति अन्यायपूर्ण व्यवहार गरिन्छ । उनीहरूको लागि सजाय कडा हुने र बोल्ने शैली नै फरक हुने गरेकाे उनकाे अनुभव छ । एक पटक उनले सार्वजनिक कार्यक्रममै यो विषय उठाएका पनि थिए । तर उनको कुरा एक प्राध्यापकले तुरुन्तै खारेज गरे। ‘हाम्रो टपर नै तराईबाट आएको छ, हामीले किन भेदभाव गर्नु ?’ भनेर जवाफ दिए।

उनको अनुभवमा, अलिक कमजोर पृष्ठभूमिका विद्यार्थी वा शिक्षकहरूको अगाडि मजाले बोल्न नसक्ने अभिभावक भएका विद्यार्थीलाई झन् बढी सताइन्थ्यो, धेरै दुर्व्यवहार गरिन्थ्यो । यस्तो कुरा उनले कलेजमा पढिरहेको बेला बाहेक पछि पनि केही डकुमेन्ट र सर्टिफीकेटहरू लिन जाँदा देख्थे।

‘यहाँको अनुशासन प्रणाली एकदमै कठोर छ शून्य सहनशीलता छ । त्यहाँ सहानुभूति छैन, समझदारी छैन । विद्यार्थीलाई व्यक्ति होइन, समस्या भनेर हेरिन्छ’, उनले भने । 

विद्यार्थीमाथि मानसिक प्रभाव

मानसिक स्वास्थ्य विशेषज्ञहरूले नेपालका शैक्षिक संस्थानहरूमा सामान्य बनेको डर र सजायमा आधारित अनुशासनको संस्कृतिले विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा गहिरो असर पुर्‍याएको बताउँछन् ।

मनोचिकित्सा क्षेत्रमा काम गर्ने संस्था मनोस्पर्शकी संस्थापक एवं मनोपरामर्शकर्ता श्रद्धा गड्तौलाले थप्पड हान्ने, कराउने, सबैको अगाडि अपमान गर्ने, नाम बिगारेर हेपेको शैलीमा बोलाउनेजस्ता व्यवहारलाई सामान्य वा आवश्यक ठानिने गलत अभ्यास रहेको बताइन्।

भनिन्, ‘तर यस्ता व्यवहार बारम्बार दोहोरिनुले मस्तिष्कको तनाव प्रतिक्रिया प्रणालीमा असर पुर्‍याउँछ, जसले भावनात्मक नियन्त्रण, सिकाइ क्षमता र दीर्घकालीन मानसिक स्वास्थ्यलाई नकारात्मक रूपमा प्रभावित गर्छ ।’ उनले विद्यार्थीलाइ गधा, दिमाग नभएको, तिमी नलायक छौ, काम नलाग्ने छौ जस्ता शब्दहरू प्रयोग गर्दा उनीहरूको आत्मसम्मान बिस्तारै नष्ट गर्ने र यस्तो वातावरणमा हुर्किने विद्यार्थी डिप्रेसनमा पनि पुग्नसक्ने बताइन् ।

उनले एक छात्राले शिक्षकले बारम्बार “मूर्ख” भनेपछि आफ्नो हात काट्दै, आफैलाई चोट पुर्‍याउने अवस्थामा पुगेको उदाहारण पनि बताइन् । 

मानसिक स्वास्थ विज्ञ सुनिका जोशीका अनुसार सबैको अगाडि गाली गर्ने, बेइज्जती र भावनात्मक उपेक्षामा परेका विद्यार्थीहरू अत्याधिक सतर्क हुने, भावनात्मक रूपमा बिचलित र असफलताबाट डराउने खालका मानसिक समस्याहरूबाट गुज्रिन बाध्य हुन्छन् । उनले यस्ता समस्याहरू  मानसिक चोटका लक्षणहरू भएको बताइन् । 

विशेषज्ञका अनुसार, यस्तो दुरुपयोग सामान्य ठानिएमा झन बढ्न सक्छ । जोशीले भनिन, ‘सानोतिनो दुर्व्यवहार स्वीकार गरिएपछि त्यो बढ्छ । चिच्याउने कुरा थप्पडसम्म पुग्छ, थप्पड लाठी चार्जमा पुग्छ र जहाँ यस्तो दुर्व्यवहार सामन्यकरण हुन्छ, त्यहाँ यौन दुर्व्यवहारको सम्भावना पनि बढ्छ ।’  

शिक्षाविद् अमिना सिंहका अनुसार, शैक्षिक संस्थानहरूमा मुख्य समस्या भनेको  कुटपिट गर्ने, कराउने, र कपडा, कपाल र मेकअप नियम थोपर्नलाई ‘अनुशासन’ मानिनु र त्यस अनुशासनले सिकाइमा सुधार ल्याउने विश्वास गर्नु हो । “शिक्षक भएर प्रश्न गर्नैपर्छ, विद्यार्थीको केशशैली वा मेकअप र उसको शैक्षिक क्षमताबीच के सम्बन्ध छ?” उनले भनिन्, ‘म कुनै सम्बन्ध देख्दिनँ । यी सबै पितृसत्तात्मक, दण्डात्मक र पुरातन नियन्त्रणका धारणा हुन् ।’

शैक्षीक शैलीका बारेमा अनुसन्धान गर्दै आएकी अनुसन्धानकर्मी  प्रिथा दाहालले धेरै विद्यालय र कलेजमा अनुशासन शिक्षा भन्दा बढी नियन्त्रण र संस्थाको ‘ब्रान्ड’ कायम राख्नका लागि भइरहेको बताइन् । ‘यी व्यवहारहरू यति सामान्य भइसकेका छन् कि दुर्व्यवहार बाहिरिए पनि संस्थाहरूले केवल औपचारिक कदम चाल्छन्, कुनै कर्मचारीलाई निलम्बन वा बर्खास्त गर्ने, तर त्यो अस्थायी समाधान मात्रै हो,’ उनी भन्छिन्, ‘केही महिनामा फेरि यस्तै समस्या उठ्छ ।’

अनुसन्धानकर्मी  दाहालले शैक्षिक संस्थाहरूले सबैभन्दा पहिले त हरेक कुरामा टाउको हल्लाउने, गुडिया, कटपुतली जस्ता विद्यार्थी उत्पादन गर्ने मनोवृत्ति लाई परिवर्तन गर्नुपर्छ । उनले भनिन, ‘विद्यार्थीलाई नियन्त्रण र दबाबले मात्रै ‘शिक्षित’ बनाउन सकिन्छ भन्ने सोच र विद्यार्थी लाई ‘ठेगान’, लाउनुपर्छ, ‘ठिक’ पार्न अलि प्याटपुट पिट्नु नर्मल हो भन्ने कुरा परीवर्तन गर्नु पर्छ ।’ 

केएमसीको जवाफ

विद्यार्थीहरूले सामाजिक सञ्जाल र संवाददातासँग प्रत्यक्ष भेटेर सुनाएका तथ्यहरूबारे बुझ्न हामीले साउन ९ मा केएमसीका डेपुटी सिइओ राम न्यौपानेसँग टेलिफोन मार्फत प्रतिक्रिया माग्यौं । डेपुटी सिइओ न्यौपानेले अनलाइनमा आएका आरोपलाई अस्वीकार गरे । उनले भने, ‘हामीले सबै विद्यार्थीहरूलाई आफ्नै छोराछोरीजस्तै मानेर व्यवहार गरेका छौं।’

उनले छद्मनाममा पोष्टहरू लेख्ने विद्यार्थीलाई ‘शैक्षिक रूपमा कमजोर’ र ‘आफ्नै अभिभावकहरूले त्यागेका’ भन्दै टिप्पणी गरे । उनले मानसिक स्वास्थ्यका लागि औषधि सेवन गर्नेहरूका भनाइ अविश्वसनीय ठान्नुपर्ने संकेत दिँदै भने, ‘औषधि खाइरहेका मान्छेका कुरा पत्याउन हुँदैन ।’ यद्यपी, उनले हाल दुई जना सीआई एक साताका लागि निलम्बनमा परेको बताए । Abuse in the name of discipline in Kathmandu Model College!

केएमसीका अर्का डेपुटी सिइओ अनिश ढकालले हालै उक्त दुई निलम्बित सीआईहरू, रेनोन रिजाल र प्रज्ञा आचार्यलाई स्थायी रूपमा बर्खास्त गरिएको जानकारी दिए । उनले विद्यार्थीहरूसँगको छलफलपछि सबै समस्या समाधान भइसकेको दाबी गर्दै भने, ‘केएमसीमा दुर्व्यवहार संस्थागत भएको दाबी गलत हो । अनलाइनमा आएका घटनाहरू केही एकल घटनाहरू हुन जुन समाधान भइसके ।’

ढकालले थपे, ‘धेरैले आफ्ना पोष्टहरू हटाइसकेका छन् । टिकटक एकाउन्ट ‘ट्रूथ’ पनि डिलिट भइसक्यो । सम्भवतः उनीहरूको गुनासो सम्बोधन भइसकेको भएर नै डिलिट गरेको होला ।’  

ढकालले यस्तो भनेपनि ‘ट्रूथ’ नामक टिकटक अकाउन्टका संचालकहरूले आफूहरूलाइ पोस्टहरू हटाउन आफूहरूलाइ दबाब आएको बताउँदै अकाउन्ट छिट्टै डिलिट हुनसक्ने कुरा टिकटकमार्फत नै सार्वजनिक गरेका थिए । 

डेपुटी सिइओ ढकालले कलेजले आफ्नो गुनासो व्यवस्थापन प्रणाली सुधार गर्न नयाँ विद्यार्थी समिति गठनका लागि आवेदन खुला गरेको समेत जानकारी गराए । तर धेरै विद्यार्थीलाइ कलेजले चालेका यस्ता कदमबाट मात्रै सन्तुष्ट देखिदैनन् । 

जब विद्यार्थीहरूलाइ साइबर ब्युरोले बोलायो ‍‍‍…

केएमसी कलेजको यो घटना यतिमै सकिदैन् । कलेजका बारेमा टिकटक अकाउन्टमा विभिन्न गुनासो सार्वजनिक भएकै पृष्ठभूमीमा केएमसीका ८ जना विद्यार्थीहरूलाइ प्रहरीको साइबर ब्युरोले बयानका लागि बोलायो । विद्यार्थीहरूले भने कलेज प्रशासनले नै आफूहरू विरुद्द ब्युरोमा उजुरी गरेको आशंका सुनाए । साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले कलेज प्रशासनले उजुरी गरेपछि आफूहरूले केही विद्यार्थीसँग बयान लिएको बताए । उनले भने, ‘स्पष्ट रूपमा भन्नुपर्दा, कलेज व्यवस्थापनले नै हामीलाई अनुसन्धानको लागि निवेदन दिएको हो।’ 

तर डेपुटी सिइओ अनिश ढकालले भने आफूहरूले कुनै उजुरी नगरेको दाबी गरे । ढकालले ट्रुथ नामक टिकटक अकाउन्टमा केएमसी बालकुमारीमा पढने एक विद्यार्थीको होस्टलमा भएको आत्महत्या प्रकरणमा लेखेको र त्यस विषयमा सम्बन्धित अभिभावकले गुनासो गरेपछि ब्यूरोले बयानमा बोलाएको हुनसक्ने बताए ।

उनले भने,  ‘ब्यूरोले ती विद्यार्थीको पहिचान गरेर आफैँ बोलाएको थियो। हाम्रा विद्यार्थीप्रति चिन्तित हुँदै, हामीले उनीहरूलाई ब्यूरोसम्म लैजाने र फर्काउने काम मात्र गरेका हौं।’ साइबर व्यूरोका अनुसार कलेजका बारेमा टिकटक अकाउन्टमा गुनासाेजन्य कुराहरू आएपछि कलेजले ८ जना विधार्थीलाई शंकाको घेरामा राखेको थियो ।

कलेजले तीमध्ये कुनै विधार्थीको मोबाइलबाट उक्त ट्रुथ नामक टिकटक अकाउन्ट चलाइएको हुनसक्ने आशंका गरेको थियो । त्यसैले कलेजले व्यूरोसँग कुन विधार्थीको मोबाइलबाट उक्त टिकटक अकाउन्ट चलेको हो भनेर पत्ता लगाउन अनुरोध गरेको थियो । 

कलेजका सबै विधार्थीलाई थाहा दिने गरी ८ जना विधार्थीलाई साइबर ब्युरो लगिएपछि अरु विधार्थीहरूले पनि कलेज प्रशासनबारे लेखेका स्टाटसहरू डिलिट गरेको केही विधार्थीहरूले बताए । एक विधार्थीले भने, 'यसरी कलेजबाटै ब्युरो लैजानु भनेको पीडितहरूलाई डर देखाउने र दबाउने चेतावनी हो।’

कलेजले दुई सीआई हटाएपनि आफूहरू कलेज प्रशासनबाट सन्तुष्ट नभएको विधार्थीहरूले बताए। एक विधार्थीले भने, ‘यो केवल दुई जना सीआईले गरेको दुर्व्यवहार मात्रै हैन, यो संस्थामा यस्तो कुरा सामान्यीकरण गरिएको छ भन्ने प्रमाण पनि हो ।’ 

(सुरक्षाका लागि सबै विद्यार्थीहरूको नाम परिवर्तन गरिएको छ।)

आरती आरती काठमान्डु पोस्टकी संवाददाता हुन् । उनी विविध सामाजिक मुद्दाहरुमा रिपार्टिङ गर्छिन् ।

Link copied successfully