'नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्वसूचना बाहिर छन् ।'
What you should know
काठमाडौँ — गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने बताएका छन् । बिहीबार सबैका लागि पूर्वसुचना राष्ट्रिय कार्याशालामा बोल्दै उनले भने '२०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ ।'
नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्वसूचना बाहिर रहेको उनको भनाइ थियो । 'संयुक्त राज्यले सन् २०२२ मा घोषणा गरेर २०२७ भित्र एक तिहाइ मानिसले पनि सूचना प्राप्त गर्नुपर्छ भनेको छ,' उनले भने, 'हामी अहिले त्यसको मार्गचित्र बनाउँदै छौं ।'
उनले पूर्वसूचनाले सुरक्षा निकायलाई समेत काम गर्न सहज भएको बताए । 'जुन ठाउँमा हामीले पूर्वसूचना दिन सक्यौं त्यस ठाउँमा भारी वर्षा भएर पनि मानवीय क्षति भएको छैन,' उनले भने, 'जुन ठाउँमा पूर्वसूचना दिन सकेनौं तुलनात्मक रुपमा कम वर्षा हुँदा पनि मानवीय क्षति भएको छ ।'
रसुवामा आएको बाढीबारे पूर्वजानकारी नहुँदा जनधनको क्षति भएको उनको भनाइ थियो । गत वर्ष कञ्चनपुरमा ७७ वर्षयताकै सबैभन्दा ठूलो वर्षा हुँदा पनि पूर्वसूचना भएकाले मानवीय क्षति नभएको उनले बताए ।
