सिंहले भने : गर्नुपर्ने काम नगर्ने अनि समयमा महाधिवेशन हुनुपर्‍यो भनी कराएर मात्रै हुन्छ ? 

‘पार्टीको विधानमा हरेक चार वर्षमा महाधिवेशन हुनुपर्छ भनेर किटान गरेको छ'

श्रावण २२, २०८२

कान्तिपुर संवाददाता

Singh said: Do not do the work that needs to be done and only by shouting that the convention should be held on time?

सिरहा — कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पदमा बसेकाहरूले महाधिवेशन गर्नुपर्छ भनेर माग गर्ने कि समयमा सम्पन्न गर्नका लागि भूमिका निर्वाह गर्ने ? भनेर प्रश्न गरेका छन् ।

सिरहा कांग्रेसले आयोजना गरेको कार्यक्रममा सिंहले महाधिवेशन गर्नुपर्ने जिम्मेवारीमा रहेका नेताहरू नै महाधिवेशन माग गर्दै हिँडिरहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

सिरहामा बिहीबार भएको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा महाधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाएर अघि बढ्नुपर्ने सिंहको भनाइ थियो । ‘क्रियाशील सदस्यता नवीकरण हुनुपर्‍यो, नयाँ क्रियाशील सदस्यता दिनुपर्‍यो, त्यसै त महाधिवेशन हुँदैन नि,’ सिंहले भने, ‘समयमा गर्नुपर्ने काम नगर्ने अनि समयमा महाधिवेशन हुनुपर्‍यो भनेर कराएर मात्रै हुन्छ ?’

सिंहले क्रियाशील सदस्यता नवीकरणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएका छन् । पार्टीको विधान र नेपालको संविधानअनुसार कांग्रेसको १५ औँ महाधिवेशन हुने पनि उनको भनाइ थियो । पार्टी विधानमा हरेक चार वर्षमा महाधिवेशन हुने व्यवस्था रहेको पनि सिंहको भनाइ थियो । 

‘पार्टीको विधानमा हरेक चार वर्षमा महाधिवेशन हुनुपर्छ भनेर किटान गरेको छ । केही विपद् आएको खण्डमा, पार्टीले गर्नुपर्ने काम गर्न पूरा नगरेको खण्डमा एक वर्ष म्याद थप्ने गरेकै छ । हरेक सभापतिले थप्ने गरेकै छ,’ सिंहले भने, ‘त्यतिमात्रै नभएर संविधानसभाले समयमा पाँच वर्षमा गर्न नसकेर सर्वदलीय बैठक राखेर, सबैलाई चित्त बुझाएर कांग्रेसले नेतृत्व गरिरहेको बेलामा महाधिवेशन गर्दा संविधान लेखनको काम एकातिर पर्ने भएका हुनाले अर्को ६ महिना थप्न पाउँ भनेर संविधान संशोधन गरेको हो ।’

कान्तिपुर

Link copied successfully