भुजेललाई ६ लाख दिने भनेर मिर्गौला झिकिएको थियो
What you should know
काठमाडौँ — दिनभर सडक र पुल निर्माणमा पसिना बगाउने सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेल अहिले लौरोको सहाराबिना हिँड्न सक्दैनन् ।
ढुंगा, गिटी, बालुवा बोकेर जीवन निर्वाह गर्दै आएका भुजेल बिहीबार मानव बेचबिखन अनुसन्धान ब्युरोको मुद्दा शाखामा प्रलोभनमा पारी मिर्गौला निकालिएको जाहेरी लिएर आएका थिए ।
‘होटलमा सजिलो काम पाइने भन्दै भारत पुर्याएका मान्छेले नै मेरो मिर्गौला झिक्दिए,’ भुजेलले भने,‘६ लाख दिन्छु भन्नेका थिए । हालसम्म लागेको सम्पूर्ण खर्च ब्यहोर्नु पर्ने भनी डर त्रास, करकापमा पारी चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा मसहित ५ जनाको मिर्गौला झिकियो । मिर्गौला निकालिसकेपछि नेपाल फर्कने बेलामा पैसा दिन्छु भनी प्रलोभन देखाए पनि मलाई पैसा दिएनन् ।’ उनका अनुसार साउन ९ गते उनको मिर्गौला झिकिएको थियो ।
ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार यो कार्यमा संगठित गिरोह नै लागेकाले सोहीअनुसार कार्यालयबाट अनुसन्धान भएको बताए । ‘भारतमा स्वास्थ्य परीक्षण लगायतका विभिन्न कार्यका लागि एक महिना राखिएको र मिर्गौला झिकेपछि नेपाल फिर्ता पठाएको भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ उनले भने,‘भारतको होटलमा काम गर्दा मासिक भारु १० देखि २० हजारसम्म कमाई हुन्छ भन्ने प्रलोभन देखाई पीडित भुजेललाई कोटेश्वरबाट कलंकी हुँदै सुनौली सीमा पार गराई भारतको चण्डीगढस्थित अपार्टमेन्टमा पुर्याएको रहेछ । त्यसको भोलिपल्ट एक क्लिनिकमा लगी मेडिकल चेकअप गराई मिर्गौला झिकिएको छ ।’
प्रहरीले संगठित रुपमा कानुनविपरीत मानव अंग मिर्गौला झिकी बिक्री गर्ने मानव बेचविखन तथा ओसारपसारसम्बन्धी कसूरमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिकाका कुमार भन्ने राजकुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका-९ का २४ वर्षीय समिर नेपाली र ४७ वर्षका राकेश नेपालीलाई प्रतिवादीका रुपमा पक्राउ गरेर संगठित अपराध निवारण ऐन २०७० बमोजिम अदातलबाट ७ दिनको म्याद थप गरेर अनुसन्धानसमेत सुरु गरेको कुँवरले बताए ।
उनले संगठित समूहका अन्य फरार प्रतिवादीहरुको खोजी जारी रहेको र विभिन्न जिल्लाबाट अन्य दर्जनौं मानिसहरुको मिर्गौलाको अवैध रुपमा बिक्री गरेको भन्ने सूचनाको आधारमा अन्य पीडितहरुको पहिचान गर्ने कार्यसमेत अघि बढाएको बताएका छन् ।
पीडित भुजेललाई समिर नेपाली र राकेश नेपालीले अपार्टमेन्टमा पुर्याउने र रेखदेख गर्ने काम गरेको जाहेरीमा उल्लेख छ । राजकुमार परियार र समिर नेपालीले उनीसहित पाँच जनालाई मिर्गौला झिकेपछि नेपाल ल्याएर छाडेको भुजेलले प्रहरीलाई बयान दिएका छन् । उनीहरुले इलेक्ट्रिक गाडी (ईभी)मा काठमाडौं ल्याएर छाडेका थिए । उनले आफूसँगै मजदुरी गर्ने साथीको सल्लाहमा भारत गएको समेत बताएका छन् ।
‘हामी जेष्ठ अन्तिमतिर भारतमा होटलमा काम गर्ने भनेर सुनौलीको गाडीमा मसहित ९ जना लगिएको थियो । फर्किंदा म जस्तै घाउ भएका ५ जना साथीहरु थियौं,’ उनले भने,‘मलाई भारतमा के गरियो, कसरी मिर्गौला झिकियो केही पनि थाह भएन ।’
प्रहरीको अनुसन्धानमा कारोबारमा संलग्न गिरोहले नेपाल तथा भारतमा बसी संगठित रुपमा मिर्गौला बिक्री गर्ने, पीडितहरुको कमजोर आर्थिक स्थितिको फाइदा उठाई विभिन्न प्रलोभन देखाई मानिस पहिचान गर्ने, ओसारपसार गर्ने, मेडिकल चेक गर्ने र भारतमा बसी आवश्यक सबै प्रबन्ध मिलाई मिर्गौला निकाल्ने कार्य गरेको देखाएको छ ।
पछिल्लो ४ आर्थिक वर्षमा मात्र नेपालमा कानुनविपरीत मानव अंग मिर्गौला झिकी बिक्री गर्ने मानव बेचविखन तथा ओसारपसारसम्बन्धी कसूर अन्तर्गत १ हजार ४५ मुद्दा दर्ता भएका छन् । जसमध्ये ३ सय ३४ मुद्दा मानव बेचबिखन अनुसन्धान ब्युरोमा दर्ता भएको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेशमा १८५, कोशी प्रदेशमा ११२, सुदूरपश्चिम प्रदेशमा १०४, उपत्यकामा ९२, बागमती प्रदेशमा ५७, मधेश प्रदेशमा ८१, गण्डकी प्रदेशमा ५५, कर्णाली प्रदेशमा २५ मुद्दा आव २०७६/०७७ देखि २०८१/२०८२ सम्म दर्ता भएका छन् ।
