सांसद बाँस्कोटाले नयाँ राजनीतिक दलहरूलाई लोकप्रियतावादको लहरमा नबग्न र लोकतन्त्र सुदृढ बनाउन आग्रह गरे।
काठमाडौँ — एमाले सांसद गोकुल बाँस्कोटाले संविधान संशोधनको विषय कहाँ पुग्यो ? भनेर सरकारलाई प्रश्न सोधेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तारुढ दलकै सांसद बाँस्कोटाले वर्तमान सकारले केही सकारात्मक काम गरेको भए पनि संविधान संशोधनको प्रक्रिया अगाडि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
अहिले दलहरूले केही गर्न नसकेको भन्ने भाष्य स्थापित गरेर लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन खोजिएकोप्रति सबै सचेत हुन आवश्यक रहेको सांसद बाँस्कोटाको भनाइ छ ।
'यो समीकरणले केही कुराहरू उठाएको थियो । तर भन्नुपर्छ–संविधान संशोधनको विषय कहाँ पुग्यो ? त्यो विषय अब अगाडि आउनुपर्छ । र हामीले आफूले आफूलाई पनि समीक्षा गर्नुपर्छ । सुधार्ने ठाउँहरूमा सुधार गर्न तयार हुनुपर्छ । सुध्रिनुपर्ने ठाउँमा सुध्रिनका लागि पनि तयार हुनुपर्छ,' उनले भने ।
नयाँ राजनीतिक दलहरू लोकप्रियतावादमा लागेको समेत उनको भनाइ छ । संसद् बहिष्कार गरेर व्यवस्था कमजोर बनाउनुभन्दा सुदृढ बनाउन भूमिका खेल्नसमेत उनको आग्रह छ ।
