हिन्दुकुश सम्मेलन काठमाडौंमा हुँदै

हिन्दुकुश क्षेत्रमा जैविक विविधताको क्षति, वायु प्रदूषण, तीव्र आर्थिक तथा सामाजिक परिवर्तनले मानव जीवनमा पारेको गम्भीर असरहरू बारे ज्ञान आदान–प्रदान गर्न सम्मेलनको आयोजना गर्न लागिएको हो ।

श्रावण २१, २०८२

राजेश मिश्र

The Hindu Kush Conference is being held in Kathmandu

What you should know

काठमाडौँ — प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले हिन्दुकुश हिमालय क्षेत्रमा रहेका देशका सांसदहरूको सम्मेलन आयोजना गर्दैछ । भदौ २ र ३ गते उक्त सम्मेलन हुन लागेको समितिले जनाएको छ ।

हिन्दुकुश हिमालय क्षेत्रमा नेपालसहित पाकिस्तान, बंगलादेश, भुटान, म्यानमार, अफगानिस्तान, चीन र भारत पर्छन् । समितिले अफगानिस्तान बाहेकका देशलाई निमन्त्रणा पठाएको छ । तालिबान नेतृत्वको अफगानिस्तान सरकारलाई नेपालले मान्यता दिई नसकेकाले त्यहाँ निमन्त्रण पठाइएको छैन । समितिका सचिव शिवदत्त बरालले सम्मेलनको तयारी भइरहेको र विभिन्न देशबाट आउने पाहुनहरूको कन्फर्मेसन प्राप्त भइरहेको बताए । पाकिस्तान, बंगलादेश, भुटान र म्यानमारले सम्मेलनमा सहभागी हुनेहरूको नाम पठाइसकेको छ । बंगलादेश र म्यानमारमा हाल संसद् नरहेकाले त्यहाँका सरकारका तर्फबाट सहभागिता रहने छ । 

पाकिस्तान र भुटानबाट त्यहाँको संसदीय समितिबाटै प्रतिनिधित्त्व रहने जानकारी आइसकेको बरालले जानकारी दिए । ती देशहरूबाट १८ जना पाहुनाहरू आउने भएका छन् । भारत र चीनबाट अझैसम्म को–को आउने जानकारी समितिले पाइसकेको छैन । समितिले परराष्ट्र मन्त्रालयको सहयोग लिएर कार्यक्रमलाई अगाडि बढाएको जनाएको छ । 

हिन्दुकुश क्षेत्रमा जैविक विविधताको क्षति, वायु प्रदूषण, तीव्र आर्थिक तथा सामाजिक परिवर्तनले मानव जीवनमा पारेको गम्भीर असरहरू बारे ज्ञान आदान–प्रदान गर्न सम्मेलनको आयोजना गर्ने समितिले गत फागनुमा निर्णय लिएको थियो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(ईसिमोड)को आर्थिक तथा प्राविधिक सहयोगमा समितिले कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रमलाई सफल बनाउन चरणबद्ध छलफल गर्दै आएको समितिले शुक्रबार हिन्दुकुश क्षेत्रमा रहेका देशहरूका नेपालस्थित राजदूतहरूसँग अन्तर्क्रिया समेत राखेको छ ।  

समिति सभापति सांसद कुसुमदेवी थापाले समितिबाट पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता रहने गरी कार्यक्रम गर्न लागेको बताइन् । ‘तयारीको अन्तिम अन्तिम चरणमा छौं, ३० देखि ३५ जना विदेशी पाहुनाहरूको सहभागिता रहने अपेक्षित छ,’ उनले भनिन्, ‘हिन्दुकुश क्षेत्र बाहेक केही देशलाई पर्यवेक्षकका रूपमा पनि निमन्त्रणा पठाइएको छ ।’

वातावरणमा आइरहेको परिवर्तनले हिमालय क्षेत्रमा परिरहेको प्रभावका विषयमा सम्मेलनमा छलफल हुने उनले जानकारी दिइन् । ‘हामी सबै हिमालसँग जोडिएका छौं, हिमाल कसरी जोगाउने मुद्दामै छलफल केन्द्रित होस् भन्ने हाम्रो चाहना छ,’ उनले भनिन् ‘त्यही विषयमा नीति, निर्माता तहमा रहेकाहरुबीच ज्ञान तथा देखिएका समस्याहरू साझा गर्ने प्रयत्न रहने छ ।’

नर्वे, स्वीडेन, न्युजिल्यान्ड र क्यारेबियन कन्ट्रीलाई पर्यवेक्षकका रुपमा सहभागिताका लागि निमन्त्रणा पठाइएको उनले बताइन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट कार्यक्रमको उद्‍घाटन गराइने उनले जानकारी दिइन् ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully