प्रणाली जडानसँगै दुर्घटना वा विपद्का घटना भएमा सर्वसाधारणले समेत डिभाइसमार्फत् सूचना प्रवाह गर्न सक्ने, सूचना दिए लगत्तै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालयमा साइरन बज्ने र त्यसले घटनास्थल पुगेर खोज तथा उद्धार गर्न सहज हुने जनाइएको छ।
What you should know
काठमाडौँ — सवारी दुर्घटना र प्राकृतिक प्रकोपजन्य विपद्को खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल (एपीएफ) ले चितवन र धादिङका दुई ठाउँमा ‘साइरन’ जडित सूचना प्रणाली स्थापना गरेको छ ।
सूचना प्रविधिसम्बन्धी कम्पनी ‘लुना जीपीएस’ को सहयोगमा सशस्त्रले सोमबार चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल र धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीमा प्रकोप र दुर्घटनासम्बन्धी सूचना दिने प्रणाली इलेक्ट्रिक डिभाइस ‘इन्टरनेट अफ थिङ्स’ (आईओटी) जडान गरेको हो ।
सशस्त्र प्रहरीका सहप्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाका अनुसार सूचना प्रणालीको सञ्चालन कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट हुने छ । यो प्रणाली जडानसँगै त्यस क्षेत्रमा दुर्घटना वा विपद्का घटना भएमा सर्वसाधारणले समेत डिभाइसमार्फत सूचना प्रवाह गर्न सक्नेछन् र त्यस्तो सूचना दिए लगत्तै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालयमा साइरन बज्नेछ । त्यसपछि घटनास्थल पुगेर खोज तथा उद्धार गर्न सशस्त्रलाई सहज हुने छ ।
सहप्रवक्ता थापाले डिभाइस जडानसँगै दुर्घटनालगायत विपद्जन्य घटनाको खोज, उद्धार र नियन्त्रणमा सहयोग पुग्ने बताए । ‘साइरनसहित डिभाइस जडान गरिएका क्षेत्र वरपर कुनै पनि घटना तथा दुर्घटना भएमा घटनास्थलबाटै स्थानीय बासिन्दा वा जोसुकैले सूचना प्रवाह गर्न सक्छन्, त्यसका लागि डिभाइसमा रहेको हरियो बटन १० सेकेन्डसम्म थिच्नुपर्ने हुन्छ, बटन थिचिसकेपछि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनकारमा जडान गरिएको डिभाइसमा साइरन बज्नेछ,’ थापाले भने, ‘त्यसपछि शिक्षालयमा रहेको मोनिटरमा घटनास्थलको लोकेसनसहित जानकारी प्राप्त हुन्छ र तत्कालै सुरक्षा फौज खोज, उद्धारका लागि परिचालन हुन्छन् ।’
विपद् व्यवस्थापन र सवारी दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न यो प्रणाली प्रभावकारी र उपयोगी हुने उनले बताए । यो प्रविधि प्रकोप र दुर्घटनाका लागि जोखिम मानिएका अरू सडकमा पनि जडान गर्न सकिए जनधनको क्षतिलाई कम गर्न सकिने थापाको भनाइ छ ।
चितवन र धादिङ क्षेत्रमा पर्ने राजमार्गमा जडित डिभाइसको प्रयोग र कसरी घटनाबारे तत्कालै सूचना प्रवाह गर्ने भन्नेबारे सोमबार सशस्त्र प्रहरी शिक्षालयले स्थानीय वासिन्दाहरुलाई प्रशिक्षण सोत दिएको छ । यसबाहेक नारायण घाटदेखि नागढुंगासम्मका स्थानीय बासिन्दा तथा सो क्षेत्रमा आपद् विपद्मा परेका र घटना दुर्घटना देखेका व्यक्तिले आफ्नो मोबाइलमा समेत लुना जीपीएसको एप डाउनलोड गरी घटनाबारे जानकारी दिन सक्ने व्यवस्था मिलाइएको छ ।
एपभित्र रहेको एसओएस बटनमा क्लिक गर्दा त्यसभित्र रहेको चार वटा अप्सन एम्बुलेन्स, बाढी–पहिरो, आगलागी र दुर्घटनाका अप्सनहरू देखिने छन्, त्यसमा कुन प्रकृतिको घटना हो, त्यसमा गएर क्लिक गर्दा कुन व्यक्तिले जानकारी गराएको हो विवरणसहित विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनकारमा त्यसको जानकारी प्राप्त हुनेछ । उक्त एप्सलाई डाउनलोड गरी अफलाइनमा समेत जानकारी गराउन सकिने पनि व्यवस्था मिलाइएको छ ।
नारायण घाटदेखि नागढुंगासम्म सडक दुर्घटना, बाढी पहिरोलगायत विपद्का घटना र दुर्घटनाले बर्सेनि जनधनको क्षति हुँदै आएको छ । यस्ता घटनामा स्रोतसाधन र तालिमप्राप्त जनशक्ति पर्याप्त नहुँदा तथा व्यवस्थित पूर्वाधार अभाव मूल समस्याका रूपमा देखिएको छ ।
दुर्घटना र प्राकृतिक प्रकोपजन्य घटनामा पछिल्ला दुई ठुला दुर्घटनामा ठुलो मानवीय क्षति भएको थियो । समयमै सूचना र खोज एवं उद्धार नहुँदा मानवीय क्षति भएको थियो । चितवनको सिमलताल नजिकै २८ असार २०८१ मा पहिरोले २ वटा बस सडकबाट त्रिशूली नदीमा खसाल्दा बसमा सबार तीनजना मात्रै पौडिएर बाँचेका थिए । बसमा सबार ६८ जनामध्ये २४ जनाको शव फेला परेको थियो भने अझै ३९ जना बेपत्ता छन् ।
त्यसअघि १९ असार २०७८ मा धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा पहिरोले पाँच वटा बस पुरिएकामा १४ जनाको शव फेला परेको थियो । सिमलताल र बेनिघट दुवै घटना राती भएको र विपद्लगत्तै सूचना प्रवाह हुन नसक्दा खोज तथा उद्धारमा भएको ढिलाइले अकल्पनीय मानवीय क्षति हुन पुगेको थियो ।
डीएसपी थापाले अब आमसर्वसाधारण जोसुकैले पनि यस्ता विपदजन्य घटनाको तत्कालै सूचना दिन सक्ने र सम्भव भएसम्म हरप्रयासबाट खोज तथा उद्धारमा सुरक्षाकर्मीहरु दत्तचित्त भएर लाग्न सहयोग पुग्ने बताए ।
