सौराहामा फेला पर्‍यो दुर्लभ पुतली ‘चाँदी धर्से बबुलपरी’

चितवन निकुञ्जको गेटअगाडि जिनास्पा टोडरा प्रजातिको पुतली फेला परेको छ, जसलाई नेपालका लागि अति दुर्लभ मानिएको छ ।

श्रावण २१, २०८२

रमेशकुमार पौडेल

Rare butterfly 'Chandi Dharse Acacia' found in Sauraha

What you should know

चितवन — नेपालमा अति नै दुर्लभ मानिएको पुतली ‘चाँदी धर्से बबुलपरी’ चितवनको पर्यटकीय क्षेत्र सौराहामा फेला परेको छ । नेपालमा सन् १९७४ पछि यो पुतली यस पटक देखिएको चितवनका पुतली विज्ञ टेकबहादुर गुरुङले बताए । गुरुङको सहलेखनमा गत वर्ष मात्रै फिल्ड गाइड, बटरफ्लाईज अफ चितवन, नेपाल नामको किताब प्रकाशित भएको थियो । गुरुङसहितको टोलीले मंगलबार मध्याह्न उक्त पुतली देखेको हो ।

सुरुमा नेचर गाइड रोजन सुवेदीले सौराहाको चितवन निकुञ्ज गेटअगाडि यो पुतली देखेका थिए । त्यसलगत्तै टेकबहादुर गुरुङ, मिलन तमाङ, विशाल लामा र बासु बिडारीसहित गएर यो पुतली हेरेर फोटोसमेत खिचेका हुन् । ‘मैले हाम्रो समूहमा रहेका स्वदेशी–विदेशी पुतली विज्ञहरूलाई तस्बिर र भिडिओ पठाएँ । उहाँहरूले यो पुतली नेपालका लागि अति नै दुर्लभ भएको बताउनुभयो,’ टेकबहादुर गुरुङले भने ।

पोखराका पुतली विज्ञ साजन केसी र सुरेन्द्र परियार तथा नेदरल्यान्ड्सका पिट भेनको टोलीले यसको थप पहिचान र पुष्टि गरेको गुरुङले जानकारी दिए । नेपालमा ‘पुतली बाजे’ भनेर प्रख्यात कोलिन स्मिथले सन् १९७४ मा मकवानपुरमा पहिलो पटक यो पुतली रेकर्ड गरेका थिए । त्यसको ५१ वर्षपछि दोस्रो पटक चितवनमा यो पुतली भेटिएको गुरुङको दाबी छ । यसको वैज्ञानिक नाम जिनास्पा टोडरा  भएको उनले बताए । अंग्रेजीमा यसलाई सिल्भर स्ट्रिक्ड एमासिया ब्लु भनिन्छ । ‘पहिलो पटक रेकर्ड भएको ५१ वर्षपछि दोस्रो पटक चितवनमा यो अति नै दुर्लभ मानिएको पुतली देखा पर्‍यो । सौराहा आडमा यसरी दुर्लभ पुतली देख्दा चितवनवासी संरक्षणकर्मीहरू गौरवान्वित छन्,’ गुरुङले भने ।

नेपालमा ६९२ प्रजातिका पुतलीहरू भेटिँदा चितवनमा मात्रै ३१२ भन्दा धेरै पुतलीहरू रहेको गुरुङले बताए । पानीको राम्रो स्रोत भएको, विविध खालका वनस्पति भएको ठाउँमा नै धेरै पुतली हुन्छन् भन्ने विश्वास राख्ने गुरुङका अनुसार पुतली स्वस्थ वातावरणको सूचक हुन् ।

रंगिबिरंगी पुतलीहरू देख्दा मनै आनन्दित हुन्छ । खेतीमा पराग–सेचनका लागि पनि पुतलीको भूमिका हुन्छ । यसका साथै, पुतली मात्रै हेर्न भनेर विदेशबाट पर्यटकसमेत आउने गरेका कारण पर्यटनमा पनि यसको महत्त्व रहेको गुरुङले बताए ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully