कांग्रेसको भागमा ७ मन्त्रालय रहेकामा ५ मन्त्रालय मुख्यमन्त्री बानियाँले आफैं मातहत राखेका छन् । नवनियुक्त मन्त्रीमध्ये एमालेका किरण थापाबाहेक सबै नयाँ हुन् ।
What you should know
हेटौंडा — बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । यसअघिका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएपछि बानियाँले कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जनाको समर्थनसहित सोमबार दाबी पेस गरेका थिए । बानियाँले मंगलबार नै एमालेका तर्फबाट ६ र कांग्रेसबाट २ गरी ८ मन्त्री नियुक्ति गरेका छन् ।
प्रदेश सरकारमा एमालेबाट मधुसुदन पौडेल कृषि तथा पशुपन्छी विकास, दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकास, जयराम थापा श्रम रोजगार तथा यातायात, भरतबहादुर केसी वन तथा वातावरण, किरण थापा स्वास्थ्य र बिन्दु श्रेष्ठ उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री भएका हुन् । कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र शिवराज अधिकारी बिनाविभागीय मन्त्रीमा नियुक्त भएका छन् ।
कांग्रेसको भागमा ७ मन्त्रालय रहेकामा ५ मन्त्रालय मुख्यमन्त्री बानियाँले आफैं मातहत राखेका छन् । नवनियुक्त मन्त्रीमध्ये एमालेका किरण थापाबाहेक सबै नयाँ हुन् ।
थापा यसअघि पनि स्वास्थ्यमन्त्री नै थिए । कांग्रेस प्रदेश सभापतिसमेत रहेका बानियाँ बागमतीका छैटौं मुख्यमन्त्री हुन् । यसअघि यहाँ डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा मुख्यमन्त्री बनिसकेका छन् ।
कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि लामाले आइतबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसअघि संसदीय दलका नेता लामाविरुद्ध बानियाँकै नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । गत बुधबार भएको निर्वाचनमा बानियाँका पक्षमा २२ मत र लामाका पक्षमा १४ मत परेको थियो । उनीहरूबीच १३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो । त्यतिबेला बानियाँलाई १६ सांसदको समर्थन रहेको थियो भने लामाका पक्षमा २१ मत परेको थियो । बागमतीमा कांग्रेसका ३७ सांसद छन् ।
लामाको राजीनामापछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
को हुन् बानियाँ ?
हेटौंडा उपमहानगरपालिका—१८ हर्नामाडीमा १५ भदौ २०२७ मा जन्मिएका बानियाँ मकवानपुरको चेपाङ र तामाङ समुदायको बाहुल्य भएको क्षेत्रबाट प्रदेशसभामा दोस्रो पटक निर्वाचित भएका हुन् ।
बानियाँ २०४४ सालदेखि राजनीतिमा छन् । नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै राजनीति गरेका उनी पार्टीको महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै ०७३ मा कांग्रेस मकवानपुर सभापति भएका थिए । २०६४ मा संविधानसभा सदस्यमा मकवानपुर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेका उनी माओवादीसँग पराजित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने संविधानसभा सदस्य निर्वाचित भए । २०७४ मा उनी गृहराज्यमन्त्री बनेका थिए ।
बानियाँ २०७४ मै मकवानपुरको २ (२) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । त्यतिबेला उनी सर्वसम्मत कांग्रेसको प्रदेश संसदीय दलको नेता चुनिएका थिए । उनी २०७९ मा पुनः सोही क्षेत्रबाट निर्वाचित भए । बानियाँ निर्माण व्यवसायी पनि हुन् ।
