सांसद सापकोटाले लिचीबारी प्रकरणमा सरकारको भूमिका र संवैधानिक संशोधन प्रक्रियामा असफलता औंल्याउँदै कडा आलोचना गरे।
What you should know
काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले संविधान संशोधन, सुशासन र स्थिरताको प्रतिबद्धता गर्दै गठन भएको वर्तमान सरकार पूर्णतः असफल भएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो आरोप लगाए । उनले सरकार गठनको उद्देश्यअनुसार संविधान संशोधन प्रक्रिया नथालेको, समन्वय नगरेको र सुशासन प्रवर्द्धनमा असफल भएको आरोप लगाए । उनले पोखराको लिचीबारी जग्गा प्रकरणमा मधेसी मूलका सोझा मन्त्रीलाई पदमुक्त गरिएको तर मुख्य आरोपीलाई संरक्षण गर्ने काम भइरहेको पनि आरोप लगाए । सरकारले गर्ने सकारात्मक काममा सहयोग गर्न प्रतिपक्षी दल सधैँ तयार रहे पनि सरकार भ्रष्टाचार र अनियमितता गर्नमै व्यस्त रहेको उनको आरोप छ।
उनले भने, ‘संविधान संशोधन, मुलुकमा सुशासन कायम र स्थिरता दिन्छौँ भनेर गठन भएको सरकार कहाँ छ भनेर लिची बारीसम्म आइपुग्दा देखियो। मधेस मूलबाट आएको एउटा सोझो मन्त्रीलाई छपक्क ढालियो। चाणक्यले भनेजस्तो काटिने त अन्ततः सोझै रुख हो। अर्को एउटा बाङ्गो रुख त बाङ्गै छ। त्यो रुखलाई त राम्रो मलजल र राम्ररी संरक्षण भएको होला। संविधान संशोधन, स्थिरता र सुशासनको नारा दिएको सरकारले आजको दिनसम्म पनि कसैलाई एक मिनेट बोलाएर छलफल नगर्ने? अनि अहिले आएर लोकप्रियतावादीहरूलाई गाली गरेर के उपलब्धि हुन्छ? राम्रो काम गरौँ न। त्यसका लागि कस्तो कागजमा हस्ताक्षर गर्नुपर्ने हो, प्रतिपक्ष तयार छ। तर काण्डैकाण्डले हुँदैन।’
उनले लोकप्रियतावादको विरोध गरेर मात्र केही उपलब्धि नहुने भन्दै सरकारलाई व्यवहारिक सुधार र परिणाममुखी कार्यमा ध्यान दिन आग्रह गरे ।
