Live

वर्षाको विपद् : लाइभ अपडेट

अविरल वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ भने बाढीपहिरोले धेरै ठाउँमा क्षति पुर्‍याएको छ ।

श्रावण २०, २०८२

कान्तिपुर संवाददाता

Rain Disaster: Live Update

25 Updates

(10:05 PM)

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । लेदोसहितको पहिरोले सोमबार बेलुकी ७ः०० बजेदेखि अवरुद्ध कर्णाली राजमार्गअन्तर्गतको सडकखण्ड मंगलबार साँझदेखि सञ्चालनमा आएको हो । कालीकोटको गगने खोलामा आएको पहिरोले बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्ला प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए ।

(07:45 PM)

बबई नदीमा पानीको बहाव घट्दै 

बबई नदीमा लगातारको वर्षाले दिउँसोसम्म जलस्तर खतराको चिह्न पार गरेकोमा बेलुकादेखि घट्दै जान थालेको हो । दिउँसो १ बजेसम्म चेपाङ जलमापन केन्द्रमा ७ दशमलव १३ मिटर पानी बगेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य एवम् सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीका अनुसार बेलुकी ७ बजेसम्म बबईको पानीको  बहाव घटेर ६ दशमलव १६६ मिटर बगिरहेको बताए । 

Decreasing water flow in Babai river

(07:38 PM)

बबई नदीमा फसेका दुईको उद्दार

बबई नदीमा फसेका दुईको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

गुलरिया नगरपालिका–५ बालापुरस्थित बबई नदीमा फसेका दुई जनालाई मंगलबार साँझ साढे ४ बजेतिर सशस्त्र प्रहरीले उद्धार गरेको हो ।गुलरिया नगरपालिका–५ बालापुरका ७५ वर्षीय मोतिलाल चौधरी र ६९ वर्षीय देविप्रसाद थारुलाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गणका गणपति मानबहादुर शाहीले बताए ।

गाईभैंसी चराउन गएका उनीहरू बबई नदीमा फसेको खबर पाउनासाथ उद्धारका लागि १० जनाको सशस्त्र प्रहरी टोली खटिएको गणपति शाहीले जनाए ।

Rescue of two trapped in the Babai river

(05:09 PM)

सात घन्टापछि खुल्यो राप्ती राजमार्ग

अविरल वर्षापछिको पहिरोले मंगलबार बिहानदेखि अवरुद्ध भएको राप्ती राजमार्ग सात घन्टापछि खुलेको छ । वर्षात रोकिएसँगै डोजरले पहिरो हटाएपछि अवरुद्ध राजमार्ग खुलेको हो । राजमार्ग खुलेपनि ढुंगामाटो खसिरहेकाले जोखिम भने उत्तिकै रहेको प्रहरीले जनाएको छ ।

Rapti Highway was opened after seven hours
राप्ती राजमार्गको चोरखोलामा पहिरो हटाउँदै डोजर । तस्बिरः कान्तिपुर

(05:07 PM)

सिद्धार्थ राजमार्ग २० घन्टापछि एकतर्फी सञ्चालनमा

सोमबार बेलुकी ८ बजेदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड मंगलबार ४ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डको सिद्धबाबा क्षेत्रका दर्जन बढी स्थानमा ढुंगा, माटोसहितको पहिरो खसेको थियो ।

Siddharth Highway in one-way operation after 20 hours

(04:38 PM)

दाउन्नेमा एकतर्फी यातायात सञ्चालन

र्षाका कारण गाडी फसेर गत ३८ घण्टादेखि अवरुद्ध महेन्द्र राजमार्ग अन्तर्गत दाउन्नेमा एकतर्फी यातायात सुरु भएको छ।

प्रहरी चौकी दाउन्नेका अनुसार वर्षा रोकिएपछि सडक पुरपार गरेर केहीबेर अघिदेखि एकतर्फी पालैपालो गाडी खुलाइएको छ। दाउन्नेको ५ ठाउँमा सडक एकतर्फी सञ्चालनमा छ, प्रहरी राखेर पालैपालो यातायात खुलाइएको छ।

दाउन्नेमा लामो जाम नहोस् भनेर दुम्कीवासदेखि ३० पूर्व कावासोतीमा रोकिएका लामो गाडी गन्तव्यतर्फ पठाइएको छ। दुम्कीवास बजारबाट ३ किलोमिटर पश्चिममा रहेको विश्वकर्मा मन्दिर नजिक सडक भासिएका कारण त्यहाँ राजमार्ग अवरुद्ध भएको थियो। भासिएको स्थानमा ग्राभेल राखेर राजमार्ग सहज बनाएपछि यातायात खुलेको हो।

तीन महिनाअघि त्यहाँ पुल निर्माण गर्न खनिएको खाल्डोको माटो बगेका कारण त्यहाँ गाडी फसेर समस्या भएको थियो। त्यहाँ ठाडो उकालो भएकाले गाडी डोजरले धकेलेर वारपार गराइएको छ। विश्वकर्मा मन्दिर नजिक राजमार्गमा पानी बगिरहेकै कारण गाडी हिँडाउन भने कठिनाइ छ।

राजमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले दाउन्नेमा काम नगरेका कारण सामान्य वर्षामा समेत राजमार्ग ठप्प हुने गरेको छ।

दुम्कीवासदेखि बर्दघाट बीचको १४ किलोमिटर सडक दाउन्ने पहाड पर्दछ। पूर्व–पश्चिम हिँडेका गाडी दाउन्ने जाममा परेका छन्। दाउन्नेमा लामो जाम हुन नदिन कावासोती र बर्दघाटमा रोकिएका गाडी गन्तव्यतर्फ पठाएका कारण दाउन्नेमा लामो जाम छ। ३–४ घण्टामा गाडी वारपार हुनसक्ने प्रहरीले जनाएको छ।

(04:26 PM)

सन्धिखर्क–गोरुसिंगे सडक छिनछिनमा खुल्ने, बन्द हुने

सन्धिखर्क–गोरुसिङ्गे सडक छिनछिनमा बन्द हुने र खुल्ने गरेको छ । तीन दिनदेखि लगातार परेको पानीका कारण पहिरो खस्ने, रुख ढलेर बाटो अवरुद्ध पर्ने गरिरहेको छ ।

माथिबाट पहिरो खसेर र रुख ढलेर सन्धिखर्क–गोरुसिङ्गे सडक बन्द हुने गरेको छ । शीतगंगा नगरपालिका ठाडादेखि पथ्थरकोटसम्म र सन्धिखर्क क्षेत्रको घुम्ती–नरपानीका ठाउँ ठाउँमा सडक माथिबाट पहिरो खसिरहेको छ ।

स्थानीय र सुरक्षाकर्मीले अवरोध हटाए पनि छिनछिनमा पहिरो खसेकाले पूर्ण रूपमा सडक नखुलेको सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष श्रीधर महत्राले जानकारी दिए ।

शीतगंगाकै सितापुर र ठाडा क्षेत्रमा छिनछिनमा पहिरो खस्ने गरेको छ । तीन दिनदेखि सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय सडकमै बसेर खसेको पहिरो हटाउने कार्य गरिरहेको उनले बताए ।

प्रहरी निरीक्षक झलकप्रसाद शर्माले डोजर बाटोमै राखिएको र जतिबेला पहिरो खस्छ त्यहीँ पुगेर बाटो हटाउने कार्य बिहानैदेखि जारी रहेको बताए । नरपानी–घुम्ती आसपासमा निरन्तर पहिरो छिनछिनमा खसिरहेको उनले बताए ।

पहिरो खसेपछि बाटो अवरुद्ध हुन्छ, त्यसपछि त्यहीँ पुगेर हटाएपछि यातायात सुचारू हुने र पहिरो, ढुंगा र रुख ढल्दा पहिरो नहटाउँदासम्म केही घण्टा यातायात ठप्प हुने गरेको शर्माले बताए ।

Sandhikhark-Gorusinge road will be opened and closed at intervals

(04:16 PM)

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

हिरोका कारण कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक पुनः अवरुद्ध भएको छ। मंगलबार दिउँसोदेखिको अविरल वर्षाले कालिकोट खण्डअन्तर्गत गगने खोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो। सोमबार बेलुकी गएको पहिरो मंगलबार बिहान सडक डिभिजन कार्यालय जुम्लाले दुई वटा मेसिन प्रयोग गरेर बिहान ९ बजे सुचारु गरे पनि दिउँसो २ बजेदेखि लेदो सहितको अर्को पहिरो खस्दा पुनः अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

उनले भने, ‘हिजो बेलुकी गएको पहिरो बिहान पन्छाएर गाडी सञ्चालन भएका थिए। तर फेरि पहिरो गएर सडक अवरुद्ध भएको छ। पानी लगातार परिरहेकाले पहिरोमा काम गर्न नसकिने अवस्था छ।’

उनका अनुसार सुर्खेततर्फबाट आएका गाडी दैखोला र दैलेखको खिडकीज्युलामा रोकिएका छन् भने जुम्लाबाट आएका मालवाहक गाडी हुल्ममा रोकिएका छन्।

कर्णाली राजमार्गको गगने खोलामा प्रत्येक वर्ष पहिरो जाने गरेको छ। दुई वर्षअघि त्यही ठाउँमा पहिरो रोक्न सडक डिभिजन कार्यालय जुम्लाले ३ करोड रुपैयाँको ठेक्का मार्फत ग्याविन जाली लगाएको थियो। तर, गत वर्ष आएको बाढीले उक्त संरचना पूरै बगाएको छ।

Landslide blocked Karnali highway again

(02:59 PM)

अविरल वर्षाले घर भत्कियो, ४ जना विस्थापित

अविरल वर्षाको सुर्खेत गुर्भाकोट नगरपालिका–१ काल्चे घुमाउनेस्थित दालमाया बुढाको तीन तले कच्ची घर भत्किएको छ । ‎ढुंगा र माटोले बनेको जस्तापाताले छाएको घरमा ४ जनाको परिवार बस्दै आएको थियो । घटनापछि उनीहरू माइतीघरमा आश्रय लिएर बसेका छन् । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी मालारानीबाट खटिएको टोलीले परिवारको उद्धारमा सहयोग गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । 

(12:48 PM)

आर्यभञ्ज्याङ–रामपुर सडक पनि एकतर्फी 

वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गको आर्यभञ्ज्याङदेखि ताहुँ हुँदै रामपुर जाने सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । ४९ किलोमिटर लामो यो सडकको आर्यभन्ज्याङनजिकै माथागढी गाउँपालिका–१, बुढीकोट क्षेत्रमा ढुंगामाटोसहितको दुई स्थानमा पहिरो खसेको थियो । 

सडक डिभिजन पाल्पाका अनुसार सडक चौडा गरेका र स्तरोन्नतिका लागि डोजर लगाएका स्थानमा पहिरो खसेको हो । पहिरोले सवारी साधन अवरुद्ध भएकोमा अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पूर्वका माथागढी, पूर्वखोला, रम्भा, निस्दी गाउँपालिकाका साथै रामपुर नगरपालिका केही भागमा जाने सवारी साधन यही सडक भएर गुड्छन् । सडक अवरुद्ध भएपछि साना तथा ठूला सवारी साधन चल्न सकेका थिएनन् । एकतर्फट्ठ खुलेपछि अहिले सवारी साधन तथा यात्रुलाई गन्तव्यतर्फ पठाइएको छ ।

चिदीपानी, हुमीन, ताहुँ, वीरकोट, पूर्वखोला, जल्पा, ज्यामिरे, अर्चले, सिलुवा, जब्गादीलगायत दर्जनौँ स्थानमा जाने सवारी साधन यही सडक भएर सञ्चालन हुन्छन् । हुमीनका विभिन्न स्थानका साथै वीरकोट, खल्लुकभञ्ज्याङ, सेफत, जब्गादी, सिलुवा, वेलडाँडा लगायतका स्थानमा सडक बिग्रेको छ । -माधव अर्याल/पाल्पा

(12:10 PM)

बर्तुङ–तानसेन–रिडी सडकखण्ड एकतर्फी सञ्चालनमा

पाल्पा गुल्मी सडकअन्तर्गत बर्तुङ–तानसेन–रिडी सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन पाल्पाका अनुसार सडकमा खसेको पहिरो पन्छाएर बर्तुङ–रिडीको मालमुल खण्डमा एकतर्फी सडक सञ्चालन गरिएको छ । डिभिजन मातहतको हृवील लोडर उक्त स्थानमा चौबिसै घण्टा तैनाथ रहेकाले वर्षाका कारण तत्काल खुलाउन नसकिएको सडक डिभिजनका सूचना अधिकारी दुर्गा गौतमले बताए । निरन्तर वर्षाका कारण राजमार्गको विभिन्न स्थानहरुमा ढुङ्गा, पहिरो, लेदो, गेग्रान खस्ने सम्भावना अत्याधिक रहेकाले आवश्यक सतर्कता अपनाई अत्यावश्यक यात्रा मात्र गर्न सबैमा आग्रह गरिएको उनले बताए ।

Bertung-Tansen-Reedy road section in one-way operation

(12:07 PM)

सन्धिखर्क–गोरुसिंगे सडकमा निरन्तर पहिरो

तीन दिनदेखि परेको अविरल वर्षाका कारण सन्धिखर्क–गोरुसिंगे सडकको ठाउँठाउँमा निरन्तर पहिरोले सडक अवरुद्ध पारेको छ । नरपानी, घुम्ती, सीतापुर, ठाडा लगायतका क्षेत्रमा सडकमाथिबाट पहिरो निरन्तर खसिरहेको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए । रातभर माथिबाट खसेको पहिरो बिहान डोजरले हटाएपछि केही समय गाडी सञ्चालनमा आएका थिए । पहिरो हटाउन जनपथ, सशस्त्र प्रहरी, नेपाली सेना र त्यस क्षेत्रका जनप्रतिनिधि सडकमै खटिएका छन् । ‘सडक माथिबाट ढुंगा र पहिरो बगिरहन्छ,’ सन्धिखर्क नगरपालिका–६ का वडाध्यक्ष श्रीधर महत्राले भने, ‘डोजरले हटाउँछ, फेरि त्यही ठाउँबाट र अर्काे नयाँ ठाउँबाट पहिरो खसेको खस्यै गर्‍यो । पहिरो हटाउँदै गाडी पार गराउँदै गरेका छौं ।’ 

Continuous landslides on Sandhikhark-Gorusinge road

(11:28 AM)

चोरखोलामा पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिरोका कारण राप्ती राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका-३ चोरखोला आसपासमा पहिरो खसेको हो । यात्रुवाहक सवारीसाधन सडकमै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले पहिरो हटाउन अहिले डोजर प्रयोग भइरहेको जानकारी दिए । वैकल्पिक मार्ग प्रयोग गर्न पनि उनले सल्लाह दिएका छन् । 

Rapti highway blocked due to landslide in Chorkhola

(11:24 AM)

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

अविरल वर्षापछि खसेको पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सडक अवरुद्ध भएको छ । सोमबार रातिदेखि खसेको पहिरोले बागलुङको काठेखोला गाउँपालिका-६ को ताराखसे भन्ने स्थानमा रुखहरु ढलेका छन् । यो सडक रोकिँदा पूर्वपश्चिम गर्ने सवारीसाधनदेखि बागलुङ सदरमुकामदेखि पश्चिममा ६ वटा स्थानीय तहका बासिन्दालाई आउजाउमा असर परेको छ । पहिरो पन्छाउने कामका लागि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय र प्रहरी चौकी दोबिल्लाका प्रहरी सहायक निरीक्षक खिमबहादुर कार्की नेतृत्वको प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी बसन्त रेग्मीले बताए । प्रहरी र स्थानीय मिलेर एकतर्फी सडक खुलाउने प्रयास भएको हो । 

(10:24 AM)

नारायणीमा पानीको सतह बढ्दो क्रममा

लगातार तीन दिनदेखिको वर्षाका कारण नारायणी नदीमा पानीको सतह बढ्दै गएको छ।

मंगलबार बिहान सवा ९ बजे त्रिवेणीधामस्थित गण्डक ब्यारेजमा पानीको सतह १ लाख ६५ हजार ६ सय क्यूसेक लिटरभन्दा माथि पुगेको छ। गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भएकाले नारायणीमा पानीको सतह बढ्दै गएको हो। त्रिवेणीधामस्थित नारायणी नदीमा बाँध बाँधेर भारतले बिहार र उत्तर प्रदेशमा सिँचाइका लागि नहरमार्फत पानी लैजाने गरेको छ। नारायणी नदीलाई भारतमा ‘गण्डक’ भनिन्छ।

त्यस्तै, मंगलबार बिहान सवा ९ बजे चितवनको नारायणगढस्थित नारायणी पुलमुनि पानीको सतह ८ दशमलव ८१ मिटर पुगेको छ। त्यहाँ पानीको सतह ११ मिटर पुगे चेतावनी तह (वार्निङ लेभल) मानिन्छ।

प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले नारायणी आसपासको क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेका छन् ।

(10:01 AM)

गुल्मीमा कालीगण्डकी करिडोरसहित तीन सडक अवरुद्ध

गुल्मीमा कालीगण्डकी करिडोरसहित तीन सडक अवरुद्ध भएका छन्। मंगलबार बिहानदेखि कालीगण्डकी करिडोर, रुद्रवेणी–वामी र रिडी–खर्ज्याङ सडक अवरुद्ध रहेका छन्।

कालीगण्डकी करिडोरका गरगरे, राक्से र कनौटामा पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए। अवरुद्ध उक्त सडकखण्ड कालीगण्डकी गाउँपालिका–१, २ र ३ मा पर्दछ। त्यसैगरी रिडी–खर्ज्याङ सडक पनि अवरुद्ध भएको छ।

सत्यवती गाउँपालिका–६ स्थित डहरे खोला र तल्लोफाँट खोलामा समेत सडक अवरुद्ध भएको छ। यो बुटवल–बुर्तिवाङ सडकखण्डको रुद्रवेणी–वामी खण्डमा पर्दछ।

गुल्मीसहित आसपासका क्षेत्रमा विगत तीन दिनदेखि निरन्तर वर्षा भइरहेकोले पहिरोका कारण सडक अवरुद्ध भएको हो।

(09:55 AM)

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

लेदोसहितको पहिरोले सोमबार बेलुकी ७:३० बजेदेखि अवरुद्ध कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकखण्डको कालिकोटको गगने खोलाको सडक एकतर्फी रुपमा खुलेको छ।

पहिरो पन्छाउन मंगलबार बिहान ७ बजेदेखि दुई वटा मेसिन (जेसिबी) परिचालन गरेर बिहान ९:३० मा सडक सञ्चालनमा ल्याइएको हो।

कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले गगने खोलामा आएको लेदो सहितको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सडक सञ्चालनमा आएको जानकारी दिए।

सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालिकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आउजाउ गर्न रोकिएका गाडी गन्तव्य तर्फ लागेका छन्। सिमसिम पानी परिरहेकोले फेरि पनि पहिरो आउन सक्ने भन्दै सडक डिभिजन कार्यालय जुम्लाले एउटा जेसिबी मेसिन त्यही नजिकै राखेको छ भने अर्को मेसिन हुल्म पठाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, सोमबार बेलुकी झरेको कर्णाली राजमार्गको कालिकोट–जुम्ला सडकखण्डमा पर्ने खाँडाचक्र–५ बिहानी खोला र वडा नं. ४ मा पर्ने छेकाको पहिरो राति नै हटाइएको प्रहरीले जनाएको छ।

The Karnali highway, which was blocked by landslides, was opened in one direction
पहिरोले अवरुद्ध कर्णाली राजमार्गको गगने खोलामा गएको पहिरो खुलेपछि गन्तव्य तर्फ जाँदै गरेका गाडीहरू। तस्बिर : तुलाराम/कान्तिपुर

(09:46 AM)

अवरुद्ध पाल्पा–बुटवल सडकखण्ड अझै खुलेन

सोमबार बेलुकी ८ बजेदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अझै खुल्न सकेको छैन । राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डको सिद्धबाबा क्षेत्रका दर्जन बढी स्थानमा पहिरो खसेको छ । राजमार्गको पाल्पा तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रको नागडाँडा, ड्यामसाइड, सिद्धबाबा लगायतका स्थानमा खसेका पहिरोले सोमबार बेलुकीदेखि अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रविन आचार्यका अनुसार सडकमा खसेका पहिरो पन्छाउन माथिल्लो क्षेत्रबाट खस्ने ढुंगाका कारण समस्या भएको हो ।

(09:44 AM)

आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडक अवरुद्ध

वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङदेखि ताहुँ हुँदै रामपुर जाने सडक मंगलबार बिहानदेखि अवरुद्ध भएको छ । ४९ किलोमिटर लामो यो सडकको आर्यभन्ज्याङ नजिकै माथागढी गाउँपालिका–१, बुढीकोट क्षेत्रमा पहिरो खसेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । सडक चौडा गरेका र स्तरोन्नतिका लागि डोजर लगाएका स्थानमा पहिरो खसेको हो । पहिरोले सवारीसाधन अवरुद्ध भएको प्रहरी चोकी ताहुँ पाल्पाले जनाएको छ ।सडक अवरुद्ध भएपछि साना तथा ठूला सवारीसाधन चल्न सकेको छैन ।

(09:42 AM)

धौलीगंगाको बाँध खोल्दा महाकाली नदीको बहाव बढ्यो

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाध मंगलबार बिहानैबाट खोलिएको छ । सोमबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार बिहान ६ बजेदेखि बाँधका ढोका खोलिने हुनाले महाकाली नदी किनारमा नजान र सतर्कता अपनाउन भनेको हो । दार्चुला सदरमुकाम आसपास बिहान ८ बजेसम्म महाकालीको बहाव बढ्दै गएको छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

(09:40 AM)

शारदा ब्यारेजको पुलमा सवारी आउजाउमा रोक

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ । मंगलबार बिहानैदेखि सवारी आवागमनमा रोक लगाइएको हो । प्रहरीका अनुसार ७ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख २ हजार ७४२ क्युसेक पुगेको छ । सोमबार पनि चारपांग्रे सवारी दिनभरि बन्द गरिएको थियो । साँझ बहाव घटेपछि खुला भएको हो । पुरानो पुल भएका कारण नदीमा पानीको बहाव १ लाख क्युसेक पुग्नेबितिक्कै चारपांग्रे सवारी आवागमनमा राके लगाइने गरिन्छ ।

(09:39 AM)

दाउन्नेमा गाडी फस्दा आवागमन नै ठप्प

पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने सडकखण्डमा यातायात ठप्प भएको छ । मंगलबार बिहान वर्षाका कारण विश्वकर्मा मन्दिर उकालोमा गाडी फस्दा सवारीसाधन रोकिएका हुन् । प्रहरीका अनुसार बिहानदेखि वर्षा भइरहेकाले उकालोमा राजमार्ग चिप्लो भएर यातायात रोकिएको हो । दाउन्नेको विश्वकर्मा मन्दिर नजिक निर्माणाधीन पुलको आडैमा राजमार्ग भासिएर सोमबार ग्राभेल राखे पनि आवागमन सहज हुन सकेको छैन ।

(09:39 AM)

अवरुद्ध कर्णाली राजमार्गमा पहिरो हटाउन दुई एक्स्काभेटर

लेदोसहितको पहिरोले सोमबार बेलुकी ७:३० देखि अवरुद्ध कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडकखण्डमा पर्ने कालिकोटको गगने खोलाको पहिरो पन्छाउन दुई वटा एक्स्काभेटर लगाइएको छ । पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन गर्न मंगलबार बिहान ७ बजेदेखि दुई वटा मेसिन परिचालन गरेर पहिरो हटाउन थालिएको कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताए । उनले कर्णाली करिडोर र राजमार्ग हुँदै कालिकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आउजाउ गर्ने गाडी रोकिएको बताए ।

(09:38 AM)

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध

उत्तरदक्षिण जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सोमबार बेलुकीदेखि अवरुद्ध सडक अझै खुलेको छैन । सिद्धबाबा क्षेत्रमा खसेको पहिरो पन्छाउन निरन्तरको वर्षाले नसकिएको सडक डिभिजन पाल्पा र सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएका छन् ।प्रहरीले वर्षा नरोकिएसम्म सडक खुलाउन नसकिने जनाएको छ । सडक अवरुद्ध हुँदा पहाडबाट तराई झर्ने र तराईबाट पहाड हिँडेका सयौं सवारीसाधन सडकमै अलपत्र परेका छन् । यस क्षेत्रमा नरम माटोमा अडिएको चट्टान वर्षायामका साथै सुक्खायाममा पनि खस्ने समस्या रहेको छ ।

(09:36 AM)

बबई नदीमा पानीको सतह बढ्दै

लगातारको वर्षाले बबई नदीमा जलस्तरले खतराको चिह्न पार गर्न लागेको छ । चेपाङस्थित जलमापन केन्द्रमा मंगलबार बिहान ७ बजेर १३ मिनेटमा जलस्तर ६ दशमलव ८७ मिटर पुगेको छ । ७ मिटर पुग्नासाथ बाढी आउने भएकाले बर्दियाको बारबर्दिया, ठाकुरद्वारा, मधुवन र गुलरियाको तटीय क्षेत्रमा जोखिम बढेको छ । यसैबीच तटीय क्षेत्रमा साइरन बजाउन थालिएको छ । गुलरिया स्थित बबई पुल (भादा) मा पानीको सतह ६ दशमलव ५० पुग्नासाथ खतरा हुने भएकाले सुरक्षित रहन स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

कान्तिपुर

Link copied successfully