चितवनको सिमलताल र धादिङको चरौँदीमा विपद् सूचना प्रणाली जडान

सूचना प्रणालीको सञ्चालन र नियन्त्रण सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट हुने प्रबन्ध मिलाइएको छ ।

श्रावण २०, २०८२

कान्तिपुर संवाददाता

Connection of disaster information system at Simaltal in Chitwan and Charaudi in Dhading

What you should know

काठमाडौँ — सशस्त्र प्रहरी बल (एपीएफ)ले चितवन र धादिङका दुई स्थानमा विपद् सूचना प्रणाली जडान गरेको छ ।

लुना जिपिएस कम्पनीको सहकार्यमा सशस्त्रले चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल र धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीमा विपद्को पूर्व सूचना दिने इलेक्ट्रिक डिभाईस 'इन्टरनेट अफ थिङ्स' (आईओटी) जडान गरेको हो । यसको सञ्चालन र नियन्त्रण सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट हुने प्रबन्ध मिलाइएको छ । यस क्षेत्रमा दुर्घटना वा विपद्का घटना भएमा सर्वसाधारणले समेत सूचना दिन मिल्नेगरी जडान गरिएको छ र उक्त डिभाइसबाट तत्कालै शिक्षालयमा साइरन बज्नेछ ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले डिभाइस जडानसँगै दुर्घटनालगायत विपद्जन्य घटनाको खोज, उद्धार र नियन्त्रणमा सहयोग पुग्ने बताए । 'कुनैपनि घटना तथा दुर्घटना भएमा त्यसको जानकारी दिनको लागि उक्त स्थानमा रहेका स्थानीय वासिन्दा तथा घटनाबारे जानकारी पाउने जो कोहीले सो डिभाइसमा रहेको हरियो वटन १० सेकेन्डसम्म  थिच्नुपर्ने हुन्छ, वटन थिचिसकेपछि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेको साइरन बज्नेछ,' उनले भने,'त्यसपछि शिक्षालयमा रहेको मोनिटरमा लोकेसनसहितको जानकारी आएपछि तत्कालै खोज, उद्धारका लागि सुरक्षा फौज परिचालन हुन्छन् ।' 

Connection of disaster information system at Simaltal in Chitwan and Charaudi in Dhading

उक्त डिभाइसबारे तालिम शिक्षालय कुरिनटारले जडान गरिएका स्थानका स्थानीय वासिन्दाहरुलाई प्रयोगको तरिका र अबस्था बारे जानकारी गराइएको उनले बताए । 

त्यसैगरी नारायणघाटदेखि नागढुङ्गासम्मका स्थानीय वासिन्दा तथा सो क्षेत्रमा आपद् विपद्मा परेका र घटना दुर्घटना देखेका व्यक्तिले आफ्नो मोवाईलमा समेत लुना जिपिएसको एप्स डाउनलोड गरी घटनाबारे जानकारी दिन सक्ने व्यवस्था मिलाइएको छ । उक्त एप्सभित्र रहेको एसओएस वटनमा क्लिक गर्दा त्यसभित्र रहेको चारवटा अप्सन एम्बुलेन्स, बाढी–पहिरो, आगलागी र दुर्घटनाका अप्सनहरु देखिने छ, त्यसमा कुन प्रकृतिको घटना हो, त्यसमा गएर क्लिक गर्दा कुन व्यक्तिले जानकारी गराएको हो विवरणसहित विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुनेछ । उक्त एप्सलाई डाउनलोड गरी अफलाइनमा समेत जानकारी गराउन सकिनेछ । 

नारायणघाटदेखि नागढुंगासम्म सडक दुर्घटना, बाढी पहिरो लगायत विपद्‌का घटना र दुर्घटनाले बर्सेनि जनधनको क्षति हुँदै आएको छ । यस्ता घटनामा तालिमप्राप्त पर्याप्त जनशक्ति र स्रोत साधन तथा व्यवस्थित पूर्वाधारको अभाव घटनाको मूल कारण देखिँदै आएको छ ।

कान्तिपुर

Link copied successfully