भेरी र बबई नदीमा जलस्तर खतराको तह पार गरिसकेको हुँदा जनधनको क्षति हुन नदिन सतर्कता अपनाउन आग्रह गरिएको छ।
What you should know
काठमाडौँ — कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राप्ती र बबई नदीमा जलस्तर खतराको तह पार गरेको भन्दै जोखिमयुक्त स्थानहरूमा सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएका छन् ।
नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको र भेरी तथा बबई नदीमा जलस्तर खतराको तहभन्दा माथि पुगेकाले जनधनको क्षति हुन नदिन सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएका हुन् ।
कार्यवाहक प्रधानमन्त्री सिंहको भनाइ उद्धृत गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले बबई र भेरीमा जलस्तर खतराको तह पार गरेको अवस्थामा त्यहाँको स्थितिबारे जानकारी लिएको बताए ।
उनले जनधनको क्षति हुन नदिन समयमै सतर्कता अपनाई सुरक्षाकर्मीहरूलाई जोखिमयुक्त स्थानमा तैनाथ गर्न निर्देशन दिएको बताए। साथै मंगलबार (आज) महाकाली र कर्णालीमा पनि जलस्तर बढ्ने पूर्वानुमान रहेकाले त्यहाँ पनि सचेत हुन आग्रह गरेका छन् ।
उनले भने, ‘राप्ती र बबई नदीमा जलस्तर बढेको स्थितिमा आकस्मिक बैठक बोलाउनुभएको हो। त्यो बाहेक देशभर विपद् मा के भइरहेको छ र कहाँ पानी कति परेको छ भन्ने सन्दर्भमा छलफल गरेका छौँ। आजका लागि राप्ती, बबई, कर्णाली र महाकाली क्षेत्रमा अलि बढी पानी पर्ने भएकाले र जलस्तर बढेकाले सचेत हुन सबै सम्बन्धित जिल्लाका सिडिओहरूलाई र सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिनुभयो।’
कार्यकारी प्रमुख भट्टका अनुसार कार्यवाहक प्रधानमन्त्री सिंहले मधेस प्रदेशमा वर्षाको अवस्थाबारे पनि चासो लिएका छन् । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले त्यहाँको वस्तुस्थिति बारे कार्यवाहक प्रधानमन्त्री सिंहलाई जानकारी गराएको पनि बताइएको छ।
