सरकारले बहुविवाहको अनुमति दिने कानुनको मस्यौदा तयार गरेपछि चौतर्फी आलोचना सुरु भएको छ। सांसद राईले यसको खारेजीको माग गरेकी छन्।
काठमाडौँ — नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यता दिने मस्यौदा लेखेको भन्दै आपत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद राईले यस्तो बताएकी हुन् । सरकारले हालै विशेष परिस्थितिमा बहुविवाह गर्न दिने गरी कानुनी मस्यौदा तयार गरेको समाचार बाहिरिएका थिए ।
विधेयकको मस्यौदामा विवाहित पुरुषलाई दोस्रो विवाह गर्न अनुमति दिने लगायत व्यवस्था राखिएको छ । सरकारले लैङ्गिक असमानता र महिला हिंसालाई प्रोत्साहन दिने गरी कानुन निर्माण गर्न लागेको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ ।
सांसद राईले बहुविवाह गर्न पाउने कानुन आए महिला हिंसा बढ्ने र पुरुषहरू छाडा हुँदै जाने भन्दै उक्त मस्यौदा खारेज गर्न आग्रह गरिन् ।
उनले भनिन्, ‘बहुविवाहलाई छुट दिने गरी सरकार किन कानुन बनाउन चाहन्छ ? जस–जसको स्वार्थमा ऐन बनाइँदैछ, उनहरूलाई सोध्न चाहन्छु । आफ्नो ज्वाइँले दोस्रो विवाह गरेमा “स्याबास ज्वाइँ” भन्न तयार हुनुहुन्छ ? नत्र महिला हिंसा बढ्ने र पुरुषहरू छाडा हुने कानुन सरकारले किन ल्याउन चाहन्छ ?’
उनले उक्त विधेयक मस्यौदाको निन्दा समेत गरिन् ।
