राष्ट्रिय स्वतन्त्र पार्टीको नगर अधिवेशनका क्रममा पत्रकार नेपालीमाथि दुर्व्यवहार भएको थियो ।
काठमाडौँ — समाचार संकलनका क्रममा कान्तिपुरका उदयपुर संवाददाता राकेश नेपालीलाई गरिएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले भर्त्सना गरेको छ ।
शनिबार त्रियुगा नगरपालिका–३ मोतिगडास्थित होटल इम्पायर इनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको नगर अधिवेशनका क्रममा नेपालीमाथि दुर्व्यवहार भएको थियो ।
रास्वपाकी नेतृ सरिन तामाङले नेपालीलाई औपचारिक कार्यक्रममा तस्बिर/भिडियो खिच्न अवरोध गरेको र क्यामरा खोस्ने जस्ता प्रेस स्वतन्त्राविरोधी हर्कत गरेको भन्दै महासंघले घटनाको निन्दा गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालले हस्ताक्षर गरेको विज्ञप्तिमा समाचार संकलनमा खटिएका पत्रकारलाई अवरोध पुर्याउने र क्यामरा खोस्ने रास्वपा नेतृलाई कारबाहीको दायरामा ल्याउन र पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ ।
नागरिकलाई सुसूचित गर्ने धर्म निर्वाहमा जुटेका पत्रकारलाई कार्यक्रममा बोलाएर रास्वपाले देखाएको यो हर्कतलाई महासंघले अत्यन्त आपत्तिजनक र प्रेसविरोधी कदमका रुपमा लिएको उल्लेख गरेको छ ।
पत्रकार नेपालीप्रति दुर्व्यवहार भएको विषयमा महासंघ केन्द्रीय समितिसँगै प्रदेश समिति, उदयपुर शाखा, राष्ट्रिय दलित पत्रकार संघ केन्द्रीय समिति, प्रदेश समिति र पत्रकारका विभिन्न संघसंगठनले आपत्ति जनाउँदै भर्त्सना गरेका छन् । पत्रकारलाई समाचार संकलनका क्रममा बाधा पुर्याई हतोत्साही नबनाउन र संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्राको सहज उपभोग गर्ने वातावरण निमार्ण गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ ।
