मुख्यमन्त्री लामाको राजीनामा घोषणा

दुईदलीय गठबन्धनमा बनेका अन्य प्रदेशका सरकार यथावत् रहँदा बागमतीमा भने सरकार परिवर्तनको अवस्था बनेकामा उनले असन्तुष्टि व्यक्त गरे ।

श्रावण १९, २०८२

प्रताप विष्ट

Chief Minister Lama's resignation announcement

What you should know

हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सोमबार पदबाट राजीनामाको घोषणा गरेका छन् । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरी लामाले राजीनामाको घोषणा गरेका हुन् । 

लामाले आइतबार बेलुका नै प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गर्ने तयारी गरेका थिए । तर प्रदेश प्रमुख काठमाडौंबाट नआइपुगेकाले राजीनामा दिन पाएनन् ।

‘सोमबार राजीनामा दिनेछु,’ मुख्यमन्त्री लामाले भने । संवैधानिक हिसाबले अझै मुख्यमन्त्री बनिरहने अवस्था रहे पनि आफ्नो पार्टी कांग्रेसभित्रको छलफल र पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा राजीनामा दिन लागेको उनले बताए ।

मुख्यमन्त्री लामाले साथीहरूबाट अपेक्षित सहयोग प्राप्त नभएको, वरिष्ठ सरकारी अधिकृतहरूको अनियमित सरुवाजस्ता कार्यले काम गर्न नसकेको दाबी गरे । दुईदलीय गठबन्धनमा बनेका अन्य प्रदेशका सरकार यथावत् रहँदा बागमतीमा भने सरकार परिवर्तनको अवस्था बनेकामा उनले असन्तुष्टि व्यक्त गरे । ‘सरकार किन परिवर्तन गर्नुपर्‍यो ? पाँच वर्षका लागि चयन भएको दलको नेता किन तुरुन्तै परिवर्तन गर्नुपर्‍यो ?,’ उनले भने । 

साथीहरूबाट अपेक्षित सहयोग नपाएको, वरिष्ठ सरकारी अधिकृतहरूको अनियमित सरुवाजस्ता कार्यले काम गर्न नसकेको मुख्यमन्त्री लामाको दाबीषड्यन्त्र र प्रपञ्च परम्पराका रूपमा स्थापित भए अन्य प्रदेशमा पनि सरकार परिवर्तनका खेल सुरु हुने तर यसले कसैको हित नगर्ने उनको भनाइ थियो । ‘यसले लोकतान्त्रिक गणतन्त्रमाथि नै खतराको आशंका जन्माएको छ,’ उनले भने । 

लामा ८ साउन २०८१ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनीविरुद्ध केही दिनअघि कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

मतदानमा पराजित भएपछि लामा संसदीय दलको नेताबाट हटेका थिए । लामाको राजीनामापछि बागमतीमा कांग्रेस प्रदेश संसदीय दलका नेतामा निर्वाचित भएका बानियाँको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ ।

बानियाँलाई बागमती प्रदेशको छैटौं मुख्यमन्त्री बन्ने अवसर जुरेको छ । उनले यसअघि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको संयुक्त सरकार बन्दा पनि मुख्यमन्त्री बन्ने प्रयत्न गरेका थिए । त्यतिबेला विभिन्न राजनीतिक गठजोडका कारण एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका थिए । 

१३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको नेताको निर्वाचन बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामासँग प्रतिस्पर्धा गरेका थिए । तर उनी पराजित भएका थिए । त्यतिबेला उनलाई १६ सांसदको समर्थन थियो भने लामाको पक्षमा २१ सांसदको मत परेको थियो । यस पटक भने उनको पक्षमा २२ सांसदले मत दिएपछि दलको नेतामा निर्वाचित भएका हुन् । बागमतीमा कांग्रेसका ३७ सांसद छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully