‘कुलिङ अफ पिरियड’ हटाउने कार्यमा संलग्नहरूको नाम किटान गरी छानबिन प्रतिवेदन आओस् : सांसद ज्वाला

सांसद ज्वालाले संसदको गरिमा बचाउन सत्ता र प्रशासनले गरेको नाङ्गो हस्तक्षेपको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरे।

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

An inquiry report should come out listing the names of those involved in the removal of 'cooling off period': MP Jwala

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले संघीय निजामति सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ हटाउने प्रक्रियामा सहभागी व्यक्ति र कारबाही स्पष्ट रूपमा उल्लेख गरेर प्रतिवेदन ल्याउन छानबिन समितिसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद ज्वालाले यस्तो माग गरेका हुन् । उनले राजनीतिक र प्रशासनिक हस्तक्षेपका कारण कुलिङ अफ पिरियडको व्यवस्थामा छलछाम गरिएको टिप्पणी गरे ।

उनले संसद्को गरिमा रक्षा गर्न यस्तो हस्तक्षेपका दोषीहरूलाई किटान गरेर छानबिन प्रतिवेदन आउनुपर्ने बताए । उनले आठ अर्बभन्दा बढी मूल्यमा पासपोर्ट छपाइको ठेक्का टुक्र्याएर सेटिङमार्फत दिन खोजिएको भन्दै आपत्ति समेत जनाए । उनले उक्त ठेक्का रद्द गरी पारदर्शी रूपमा नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने बताए ।

उनले भने, ‘संसद्को गरिमाको लागि पनि सत्ता र राजनीतिक, प्रशासनिक नेतृत्वको नाङ्गो हस्तक्षेपका बाबजुद संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरूको नाम र कारबाही किटान गरेर आओस् भन्ने कुरामा म जोडदार माग गर्दछु । आठ अर्बभन्दा बढी पासपोर्ट छपाइको ठेक्का टुक्र्याएर सेटिङमा दिने गरी घप्लाबाजी गरेकोले उक्त ठेक्का खारेज गरी नयाँ ठेक्का प्रक्रिया अगाडि बढाइयोस् । प्रहरी र सशस्त्र प्रहरीको बन्दोबस्तीको सामान खरिदको विषयमा पनि मिलेमतो भइरहेको छ । सो ठेक्का पनि खारेज गरी पारदर्शी तरिकाले गरियोस् ।’

कान्तिपुर संवाददाता

Link copied successfully