विगत ३१ वर्षदेखि अन्तरराष्ट्रिय विश्व आदिवासी दिवस विश्वभर मनाउँदै आइएको छ ।
काठमाडौँ — नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३१औँ विश्व आदिवासी दिवस सप्ताहव्यापी रूपमा मनाउने भएको छ ।
‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गल माथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्, संयुक्त राष्ट्र सङ«घका एजेन्सी संस्था युएनड्रिप र आइएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर्’ भन्ने मूल नारासहित सप्ताहव्यापी दिवस मनाउन लागिएको नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए ।
आइतबार काठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा उनले यही साउन २४ देखि २८ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने बताए ।
विगत ३१ वर्षदेखि अन्तरराष्ट्रिय विश्व आदिवासी दिवस विश्वभर मनाउँदै आइएको छ । 'नेपालमा पनि आफ्नो जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक पहिचानलाई स्थापित गर्ने, मौलिक ज्ञान, सीप र आफ्नो थातथलो संरक्षण एवं प्रवर्द्धन, भूमि र प्राकृतिक स्रोतमाथिको अधिकार सुनिश्चित गर्ने अवसरका रूपमा यसलाई लिएका छौँ', अध्यक्ष शेर्पाले भने, 'यसलाई राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउनेलगायत मुद्दालाई राष्ट्रिय वा अन्तरराष्ट्रिय रूपमा बहस पैरवी गर्ने अवसरका रुपमा मनाउने गरिएको छ ।'
नेफिनका महासचिव दिवस राईले मुख्य कार्यक्रम साउन २४ गते राष्ट्रियसभा गृहमा आयोजना गरिने र त्यहाँ आदिवासी जनजातिका पहिचान झल्किने सांस्कृतिक झाँकी, नृत्य, खानाका परिकारहरूको प्रदर्शनसमेत हुने बताए ।
