मन्त्री दाहाल भन्छन् : काठमाडौं उपत्यकाको यातायात प्रणाली समस्याग्रस्त छ

मन्त्री दाहालले उपत्यकाको यातायात प्रणाली समस्याग्रस्त रहेको बताउँदै सुधारको आवश्यक्ता औंल्याएका छन्।

श्रावण १८, २०८२

कान्तिपुर संवाददाता

Minister Dahal says: The transport system of Kathmandu Valley is problematic

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं उपत्यकाको यातायात प्रणाली समस्याग्रस्त रहेको बताएका छन् । आइतबार ललितपुरमा 'जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाको लागि दिगो, सुरक्षित र समावेशी यातायात' विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री दाहालले सन् २०१२ मा बनेको सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो मास्टरप्लानयता यातायातको अवस्था निकै बिग्रिएको बताएका हुन् ।

 'काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरु समेटिएको काठमाडौं उपत्यका नेपालको आर्थिक, सांस्कृति र प्रशासनिक गतिविधिको केन्द्र हो । तर यहाँको यातायात प्रणाली निकै समस्याग्रस्त रहेको छ,' मन्त्री दाहालले भने ।

नेपालको संविधान, दीर्घकालीन दृष्टिकोण २०४३, १६ औं आवधिक योजना राष्ट्रिय यातायात नीतिले समृद्ध, समावेशी र स्वच्छ वातावरणसहितको नेपालको परिकल्पना गरेको उनको भनाइ छ । काठमाडौं उपत्यका सहरी यातायात प्रणाली मास्टरप्लान परियोजनाले ट्राफिक जाम, वायु प्रदुषण जस्ता महत्वपूर्ण समस्याहरुलाई सम्बोधन गर्दै दिगो आर्थिक वृद्धि र वातावरणीय बोझ कम गर्ने लक्ष्य राखेको उनको भनाय छ ।

‘बढ्दो सवारीसाधन, अव्यवस्थित शहरीकरण र अपर्याप्त पूर्वाधारका कारण गम्भीर ट्राफिक जाम ढिलाइ र वायुप्रदूषण बढेको छ । यी कारणहरूले दैनिक यातायातलाई मात्रै होइन, आर्थिक उत्पादकत्व र जनस्वास्थ्यलाई पनि प्रभावित पारिरहेको छ,’ मन्त्री दाहालले भने । अब पनि निर्णायक कदम नचाल्ने हो भने अवस्था अझै बिग्रिने उनको दाबी छ । 

कान्तिपुर

Link copied successfully