पूर्वराष्ट्रपतिको पार्टी सदस्यताको विषय अब असान्दर्भिक : महासचिव पोखरेल

एमाले प्रदेश कमिटीको बैठकलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले पार्टी केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालिसकेकाले अब उक्त विषय सान्दर्भिक नरहेको उनले बताए ।

श्रावण १७, २०८२

अनुप पौडेल

The issue of former president's party membership is now irrelevant: General Secretary Pokharel

कास्की — एमाले महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यताको विषय असान्दर्भिक भइसकेको टिप्पणी गरेका छन् ।

एमाले प्रदेश कमिटीको बैठकलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले पार्टी केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालिसकेकाले अब उक्त विषय सान्दर्भिक नरहेको उनले बताए । ‘सदस्यताको विषय राजनीतिक निर्णयपछि सान्दर्भिक रहेन । उहाँले नवीकरण शुल्क बुझाउनुभएको थियो र त्यसलाई नवीकरण नगर्ने भन्ने निर्णय भएको छ,’ उनले भने । 

राष्ट्रपति र उपराष्ट्रपति गणतन्त्रको प्रतीकको रुपममा रहनुपर्ने र पार्टीगत राजनीतिमा फर्कनु उचित नहुने पार्टीको धारणा रहेको उनले सुनाए । राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कँदा गणतन्त्र विरोधीले आलोचना गर्ने ठाउँ पाउने उनको भनाइ थियो । भण्डारीको सामाजिक जीवन र प्रतिष्ठालाई पार्टीले सम्मानपूर्वक ढंगले सहयोग गर्ने उनले सुनाए । 

माओवादीसँगको एकतापछि एमालेको व्यवस्थित संगठनात्मक प्रणाली खल्बिलिएको पोखरेलले जिकिर गरे । ‘हाम्रो पार्टीको व्यवस्थित संगठनात्मक प्रणाली नेकपा कालमा खल्बलियो । विस्तारै त्यसलाई व्यवस्थित गर्ने प्रयत्नमा छौं । पुरानै लयमा फर्किसकेका छैनौं,’ उनले भने । जनतासँग जोडिन कम भएकाले परिणाम कमजोर हुँदै गएको उनले टिप्पणी गरे । 

दमन र उत्पीडनमा परेकाहरु राजनीतिक दलको सक्रियता घट्दा सञ्चारमाध्यममा आफ्ना पीडा सुनाउन पुग्ने परिस्थिति बनेको उनको भनाइ थियो । आर्थिक सामाजिक विकास र समृद्धिको यात्रा अबको राजनीतिको मूल विषय बन्नुपर्नेमा उनले जोड दिए । 

अनुप

Link copied successfully