घोषणा र जाँचपास नै नगरी विदेशी चुरोट, सुकुटीसहितका सामान विदेश पठाउन खोजेको सूचनाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो ।
What you should know
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलाई नै झुक्याएर विदेशी चुरोटसहित ३२ कार्टुन निकासीजन्य मालवस्तु जहाजमा लोड गर्नै लाग्दा नियन्त्रणमा लिइएको छ ।
घोषणा र जाँचपास नै नगरी ठूलो परिमाणको मालवस्तु विदेश पठाउन खोजेको सूचनाका आधारमा नियन्त्रणमा लिएको विमानस्थल भन्सार कार्यालयको भनाइ छ । प्रमुख भन्सार प्रशासक दिलिपकुमार गौतमले विशेष सूचना पाएपछि निकासी घोषणा नै नगरी कतार जाने जहाजमा लोड गर्न लागेको मालवस्तु मंगलबार साँझ नियन्त्रणमा लिएको पुष्टि गरे । 'कसको सेटिङमा ती सामानलाई भन्सार र सुरक्षा गेट पास गरी जहाजको ढोकासम्म पुर्याइयो भन्ने खोजीको विषय भएको छ,' उनले भने, 'जहाजमा लोड गर्न खोजिएका ती सामानका विषयमा अनुसन्धान हुनेछ ।'
केही चुरोट क्यानडाको भएको सम्बन्धित कर्मचारीले बताएका छन् । विदेशी चुरोट कसरी नेपाल भित्रियो र नेपालको बाटो भएर फेरि किन विदेश पठाउने कोसिस गरियो त्यसको पनि छानबिन हुने भन्सार अधिकारीहरुले बताएका छन् । विदेशी चुरोट खुला सीमाबाट अवैध रुपमा नेपाल भित्रने गरेको छ ।
'प्रहरी, भन्सार कर्मचारी, भन्सार एजेन्टको निगरानीमा हुने त्यस्ता वस्तुको निर्यातमा मिलेमतो हो कि लापरबाही हो, त्यसको अनुसन्धान त भई नै हाल्छ,' भन्सार विभागका महानिर्देशक महेश भट्टराईले बताए ।
सामान जहाजमा लोड गर्नका लागि ट्रलीमा राख्ने क्रममा नियन्त्रणमा लिइएको हो ।
उक्त घटनाको छानबिनका लागि विभानस्थल भन्सार कार्यालयका उपसचिवको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको छ । प्रारम्भिक अनुसन्धान अनुसार ३२ वटा कार्टुनमा क्यानडा र नेपालको चुरोट, सुकुटी, मासुलगायतका सामान प्याक गरेर भन्सारमा घोषणा नै नगरी जहाजमा लोड गर्न खोजिएको थियो । चुरोट राखेको उक्त कार्टुन लन्डन, अमेरिका र अस्ट्रेलिया लैजाने गरी जहाजमा लोड गर्ने स्थानमा पुगिसकेपछि भन्सारले नियन्त्रणमा लिएको हो ।
‘कुन सामान भेटियो भन्दा पनि कुनै पनि सामान भन्सार जाँचपास नभई वा भन्सारले थाहा नै नपाई कसरी हवाइजहाजसम्म पुग्यो भन्ने विषयलाई गम्भीरतापूर्वक लिएका छौं,' महानिर्देशक भट्टराईले भने, 'त्यही भएरै छानबिन समिति बनाएका हौं ।'
