राजदूत थापा संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्‌को अध्यक्षमा निर्वाचित

आर्थिक तथा सामाजिक परिषद् संयुक्त राष्ट्रसंघका ६ प्रमुख अंगमध्ये एक हो, यसले अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक सहयोग र विकास प्रवर्द्धनमा काम गर्दै आएको छ ।

श्रावण १६, २०८२

कान्तिपुर संवाददाता

Ambassador Thapa was elected as the President of the Economic and Social Council of the United Nations

काठमाडौँ — न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगका राजदूत लोकबहादुर थापा आर्थिक तथा सामाजिक परिषद् (एकोसोक) को अध्यक्षमा बिहीबार निर्वाचित भएका छन् । 

नवनिर्वाचित अध्यक्ष थापाले आफ्नो देशका लागि यो 'ऐतिहासिक क्षण' भएको बताए । थापाले राम्रो परिणाम दिनका लागि बहुपक्षीय साझेदारीलाई सुदृढ बनाउँदै २०३० को दिगो विकास एजेन्डासहितका पहलहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 'राम्रो डेलिभरी मात्रै विकल्प होइन, यो अनिवार्य पनि हो,' उनले भने, 'बहुपक्षीयतामा विश्वास गर्ने, विभाजनलाई जोड्ने, कमजोरलाई सशक्त बनाउने र प्रतिबद्धतालाई कार्यान्वयन गर्ने हाम्रो उद्देश्य हो ।'

परिषद्मा आगामी वर्षका लागि चार उपाध्यक्ष पनि निर्वाचित भएका छन् । जसमा अमर बेन्जामा (अल्जेरिया), हेक्टर गोमेज हर्नान्डेज (स्पेन), वेलिङ्टन डारियो बेन्कोस्मे कास्तानोस (डोमिनिकन रिपब्लिक) र पारुयर होभहान्निस्यान (आर्मेनिया) रहेका छन् ।

आर्थिक तथा सामाजिक परिषद् संयुक्त राष्ट्र संघका ६ प्रमुख अंगमध्ये एक हो । अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक सहयोग र विकास प्रवर्द्धनका लागि यसले काम गर्दै आएको छ । ५४ सदस्य राष्ट्रहरू संलग्न परिषद्‌मा महासभाद्वारा तीन वर्षको कार्यकालका लागि आलोपालो निर्वाचित गर्ने व्यवस्था छ ।

कान्तिपुर संवाददाता

Link copied successfully