मल कम लाग्ने र सिँचाइ पनि धेरै आवश्यक नपर्ने बहुगुणी कोदोलाई उपेक्षामा राखेको भन्दै सरकारको आलोचना हुँदै आइरहेको छ ।
What you should know
चितवन — सरकारले औपचारिक रूपमा शुक्रबार पहिलो पटक राष्ट्रिय कोदो दिवस मनायो । तर भरतपुर महानगरपालिका–९ को त्रिपुरेश्वर कृषि सहकारी संस्थाले यसरी कोदो दिवस मनाउन थालेको तीन वर्ष भयो । साउन १५ गते कोदो बालीको प्रवर्द्धनका लागि कार्यक्रम गर्दै आएको उक्त सहकारीले सरकारले साउन १६ लाई कोदो दिवस मनाउने निर्णय गरेपछि शुक्रबार बिहान कोदो रोप्ने कार्यक्रम आयोजना गर्यो ।
‘अघिल्ला वर्षहरूमा हामीले साउन १५ मा कोदो रोप्दै आएका थियौं । यो रैथाने बाली पौष्टिक हुनुका साथै किसानका लागि सहज बाली पनि हो । सिँचाइ नभए पनि हुने, मल पनि खासै धेरै नचाहिने, रोग किराले पनि नबिगार्ने भएकाले यो बाली किसानमैत्री छ,’ सहकारीका अध्यक्ष वेदप्रसाद सापकोटाले भने । तर पछिल्लो समय कोदो रोप्ने चलन हराउँदै गएपछि यो खेतीको प्रवर्द्धनका लागि कार्यक्रम गर्दै आएको उनले बताए ।
दुर्गा सापकोटाको परिवार २०२३ सालमा बागलुङबाट बसाइँ सरेर चितवन सदरमुकाम भरतपुर नजिकको गौरीगञ्ज आएको हो । त्यहाँ किनेको २ बिघा १३ कट्ठा जमिनमध्ये बर्खायाममा दुर्गाको परिवारले चार पाँच कट्ठामा सधैं कोदो लगाउँदै आए । ‘साउनको अन्तिम, भदौतिर कोदो रोप्ने चलन थियो । विकासे मल, अरु औषधि केही राख्न नपर्ने, बेस्सरी राम्रो फल्थ्यो । कट्ठामै डेढ दुई मुरी फल्थ्यो,’ दुर्गाले भने ।
एउटै झ्याउ भनेको पाकेपछि दाना झार्न थियो । ठटाउने, माड्ने गर्दा कोदो भित्र्याउन अलि समय लाग्ने गरेको उनले सुनाए । पछि कोदोको रोटी खाने चलन पनि हराउँदै गयो । काम गर्ने मान्छे पनि पाउन कम भयो । २०४० सालदेखि कोदो रोप्न कम हुँदै हुँदै गएर अहिले लगभग हरायो भन्छन् दुर्गा । भरतपुर–९ का वडाध्यक्ष यमलाल कँडेल पहिला गौरीगञ्ज शरदपुर क्षेत्रमा कोदो खेती राम्रै हुने गरेको बताउँछन् ।
‘अहिले कोदो रोप्ने चलन बिलाउँदै गएपछि हामीले कोदोलगायत रैथाने बालीलाई प्रोत्साहन गर्ने नीति लिएका छौं । कसैले जग्गा भाडामा लिएर कोदो लगाउँछ भने त्यसको भाडा वडाले तिर्ने भनेका छौं । यसमा आमा समूहहरू लाग्नु भएको छ । यसरी दुई तीन बिघामा कोदो खेती भएको छ,’ वडाध्यक्ष कँडेलले भने । यसो गर्दा रैथाने बालीको प्रवर्द्धन हुनुका साथै जग्गा बाँझो पनि नरहने उनले बताए ।
यसपटक भरतपुर महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन शाखा र त्रिपुरेश्वर कृषि सहकारीले संयुक्त रूपमा पहिलो राष्ट्रिय कोदो दिवस मनाएका हुन् । त्रिपुरेश्वर कृषि सहकारीले साउन १५ मा चार वर्ष अघिदेखि कोदो रोप्दै आएको अध्यक्ष सापकोटाले बताए । पहिलो पटक बीउका लागि दुई कट्ठामा कोदो रोपेको उनले बताए । त्यसपछि सात कट्ठा जग्गा भाडामा लिएर सहकारीले कोदो रोप्दै आएको छ ।
‘त्यो सात कट्ठा जमिनबाट पनि दुई बाली कोदो भित्र्याइसक्यौं । पहिलो पटक सात कट्ठामा पाँच क्विन्टलजति फल्यो । बाँझो र पुरानो खेल मैदान भाडामा लिएका हौं । गत वर्ष त्यही जमिनमा सात क्विन्टलजति फल्यो । यो पटक झन् बढ्ने आशा छ’ सहकारीका अध्यक्ष सापकोटाले भने । चितवनको कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले जिल्लामा एक हजार ५० हेक्टरमा कोदो खेती हुने बताए ।
वर्षमा सरदर १२ सय मेट्रिक टन कोदो चितवनमा उत्पादन हुने गरेको कार्यालयको तथ्याङ्क छ । ‘यो क्षेत्रफल र उत्पादकत्व बढाउन सकिन्छ । बढाउनु पनि पर्छ । किनकि कोदो आडिलो अन्न हो । यो खाएपछि श्रमिकहरूले मजाले काम गर्न सक्छन् । खाद्य तत्त्व प्रशस्त हुने कोदोमा पोषकतत्त्व पनि पाइन्छ । रगतमा हेमोग्लोबिनको मात्रा कम हुनेलाई कोदोको परिकार खाए बढाउन मद्दत गर्दछ,’ कृषि विकास कार्यालयका प्रमुख कँडेलले भने ।
त्यसैगरी सिँचाइ नचाहिने, मल पनि धेरै नचाहिने यो बालीलाई यो वर्ष खडेरी पर्दा धेरैले सम्झिएको कँडेलले बताए । अरू बालीका लागि प्रतिकूल हुने मौसम र माटोमा पनि कोदो राम्ररी फल्ने हुँदा नेपाली किसानका लागि कोदो उपयोगी बाली भएको उनले बताए । कोदोसँगै चिनो, कागुनो र कोदो बालीकै पनि विभिन्न जातहरूको खेती बढाउँदै लैजान आवश्यक भएको उनले बताए ।
राष्ट्रिय कोदो दिवस कार्यक्रमको प्रमुख अतिथि भएर कोदो रोप्न गौरीगञ्ज पुगेका भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले कोदोको स्वाद र फाइदाको बखान गरे । ‘अरू केही नफल्ने सुर्काहरूमा कोदालोले चपरी उप्काएर कोदो रोपेपछि सप्रेर आउँथ्यो । मस्याङ, भटमास पनि सँगै रोपिन्थ्यो,’ उनले भने ।
हिउँदमा गुन्द्रुक तयार हुन्थ्यो । ‘कोदोको ढिँडो तयार गरेपछि गुन्द्रुकमा भटमास मिसाएको झोल या मस्याङको दाल बनाएर त्यसैसँग ढिँडो खाँदा आहा कति स्वादिलो पो हुन्थ्यो । अझ गोठका गाई, भैँसीको दूध, दही, घ्यू मिसाउँदा आउने स्वाद अहिलेको कुन आयातित खान्कीले दिन्छ,’ उपमेयर चित्रसेन अधिकारीले भने । उनले एक मुरी कोदोले १० मुरी धानको काम गर्दछ भन्ने विगतको मान्यता रहेको बताए ।
जग्गा बाँझो छाड्ने प्रवृत्तिलाई महानगरले निरुत्साहित गर्ने नीति लिएको उनले बताए । त्यस्ता जग्गामा फापर, कोदो जस्ता रैथाने बाली लगाउन प्रोत्साहित गर्ने उपमेयर अधिकारीको भनाइ छ । सहकारीले सानो क्षेत्रफलबाट कोदो रोप्न सुरु गरेको र बिस्तारै क्षेत्रफल बढाउँदै लैजाने सहकारीका अध्यक्ष सापकोटाको भनाइ छ । उनले अरूले उत्पादन गरेको कोदो पनि संकलन र कुटानी गरेर बिक्री गर्ने योजना बनाएको बताए ।
बहुगुणीका अन्नका रूपमा रहेको कोदो खेती कम भइरहेका अवस्थामा सरकारले साउन राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो । सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यी बालीको उत्पादन बढाउन बर्सेनि अर्बौंको रासायनिक मल आयात हुने गरेको छ ।
तर, मल कम लाग्ने र सिँचाइ पनि धेरै आवश्यक नपर्ने बहुगुणी कोदोलाई भने उपेक्षामा राखेको भन्दै सरकारको आलोचना हुँदै आइरहेको छ । कृषि मन्त्रालयका अनुसार ७७ जिल्लामै उत्पादन गर्न सकिने कोदोको खेती ६० मिटरदेखि ३६५० मिटर उचाइसम्म हुन्छ । उत्पादनको हिसाबले सबैभन्दा बढी सम्भावना कर्णालीमा रहेको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक)ले जनाएको छ ।
कोदो र कोदोजन्य परिकारको माग बढे पनि सरकारले उत्पादन बढाउन सकेको छैन । विगतको तथ्यांक हेर्दा कोदोको उत्पादन घट्दै गएको छ । कृषि मन्त्रालयका अनुसार २०७८/७९ मा २ लाख ६७ हजार ७१ हेक्टरमा खेती र ३ लाख ३९ हजार ४ सय ६२ टन उत्पादन भएको थियो ।
२०७९/८० मा क्षेत्रफल घटेर २ लाख २७ हजार ९ सय ३४ हेक्टर पुगेको छ । उत्पादन पनि घटेर ३ लाख १० हजार ८ सय ४७ टनमा झरेको मन्त्रालयको तथ्यांक छ । देशमा बर्सेनि करोडौंको कोदो आयात हुने गरेको छ ।
