वडाध्यक्षसहितको समूहले एक लाख रुपैयाँ लिएर मिल्न दबाब दिँदै घटनालाई ढाकछोप गर्न खोजेको पीडित परिवारको आरोप छ ।
What you should know
राजविराज — सप्तरीको राजविराज नगरपालिका-११ झल्हीमा एक १५ वर्षकी दलित बालिकामाथि सामूहिक बलात्कार भएको छ । बुधबार साँझ चार जनाको समूहमा आएका युवाहरुले घरअगाडि उभिरहेकी ती बालिकालाई उठाएर लगेका थिए ।
छिमेकीले घरमा खबर गरेपछि साँझबाटै बालिकाको खोजी गरिरहेका परिवारजनले भोलिपल्ट बिहान आरोपीमध्येका १९ वर्षीय राजु यादवलाई देख्नासाथ समातेर हातपात गरेपछि बालिकामाथि भएको बलात्कार घटनाबारे खुल्न आएको हो । बालिकालाई लुकाएर राखिएको घरबाट बिहान उद्धार गरिएको थियो भने आरोपी राजुलाई प्रहरीको जिम्मा लगाइएको पीडित परिवारले जनाएको छ ।
राजु र १८ वर्षीय विवेक यादवले सामूहिक बलात्कार गरेको पीडित बालिकाका दाजुले बताए । ‘अन्यले घटनामा सघाएको बहिनीले मलाई बताइन् तर अहिले वडाध्यक्षसमेतले मिल्न दबाब दिइरहेका छन्,’ उनले भने ।
बिहीबारदेखि मिल्न दबाब दिँदै आएका उनीहरूले शुक्रबार बिहान वडाध्यक्ष उतिदनारायण यादवसमेतको उपस्थितिमा स्वास्थ्य चौकीमा पञ्चायती बसाएर थप दबाब दिएको उनको भनाइ छ । ‘पञ्चायतीमा उपस्थित सबैले एक लाख रुपैयाँ लिएर मिलिहाल्न भन्छन्,’ उनले कान्तिपुरसँग भने, ‘त्यो कुरा नमानेर त्यहाँबाट निस्किहालेँ, अहिले घरमै आएर तनाव दिइरहेका छन्, जाहेरी दिन पनि निस्किन दिएको छैन ।’
वडाध्यक्ष यादवले भने गल्ती गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्ने विषय मात्रै आफूले बोलेको बताए । ‘म पञ्चायतीमा गएको पनि होइन, मल वितरण गर्न त्यहाँ पुग्दा छलफल भइरहेको देखेँ,’ उनले भने, ‘तर, मैले घटना मिलाउन दबाब दिएको छैन ।’
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी जितेन्द्रकुमार बस्नेतले बालिकाको परिवारले गराएको जानकारीअनुसार एक जना युवकलाई नियन्त्रणमा लिएको बताए । ‘तर, घटनाबारे जाहेरी आइसकेको छैन,’ उनले भने, ‘जाहेरी आएपछि हामी मुद्दा दर्तामा प्रक्रियामा जान्छौं ।’
