मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल गर्नका लागि एमाले सांसद दीपा शर्माको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ ।
काठमाडौँ — प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया काउन्सिल विधेयकमाथि छलफल गर्नका लागि उपसमिति गठन गरेको छ ।
प्रतिनिधिसभाले दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक पठाएको थियो । समितिले भने दफावार छलफलका लागि सात सदस्यीय उपसमिति गठन गरेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकले एमाले सांसद दीपा शर्माको संयोजकत्वमा मिडिया काउन्सिल विधेयकमाथि दफावार छलफल गर्न उपसमिति गठन गरेको हो ।
उपसमिति सदस्यमा प्रभु हजारा, लीलादेवी लिम्बू, ज्ञानु बस्नेत सुवेदी, डा. तोसिमा कार्की, विनिताकुमारी सिंह र महेन्द्रकुमार राय रहेका छन् । समितिलाई काम सुरु गरेको १५ दिनभित्र प्रतिवेदन समितिसमक्ष पेस गर्न कार्यादेश दिइएको समिति सचिव दशरथ धमलाले जानकारी दिए ।
उपसमितिमा विधेयक पठाउनु पहिले शुक्रबारको बैठकमा प्रस्तावनामा छलफल गरिएको थियो । विधेयकमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले प्रेस स्वतन्त्रतालाई तलमाथि गर्ने परिकल्पना नगरेको स्पष्ट बताए । उनले विधेयकमा दिएको अधिकारमाथि सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका थिए ।
