‘नेपालमा हामी हाल कृत्रिम बुद्धिमत्तासम्बन्धी विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयकमाथि काम गरिरहेका छौं’
What you should know
काठमाडौँ — सभामुख देवराज घिमिरेले नीति निर्माणमा जनताको सहभागिता गराउनका लागि सांसदहरूलाई सामाजिक सञ्जाल र डिजिटल माध्यमले सहयोग पुर्याइरहेको बताएका छन् ।
संसद्का सभामुखहरूको छैटौं विश्व सम्मेलनलाई स्विट्जरल्यान्डको जेनेभामा सम्बोधन गर्दै सभामुख घिमिरेले सामाजिक सञ्जालसँगै प्रविधिको विकासले नीति निर्मातालाई सहज बनाएको बताएका हुन् । ‘हाम्रो डिजिटल भविष्य निर्माणमा संसद्हरूको भूमिका के हुनसक्छ?’ विषयक प्यानल छलफलमा सभामुख घिमिरेले सहभागिता जनाएका हुन् ।
डिजिटल प्रविधिले संसद्को कार्यसञ्चालनमा पारदर्शिता, कार्यकुशलता र जनसहभागिता अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको पनि सभामुख घिमिरेको भनाइ थियो । ‘अनलाइन प्रसारण, ई-संसद् प्रणाली, डिजिटल अभिलेख तथा इलेक्ट्रोनिक मतदान प्रणालीजस्ता प्रविधिहरूले संसद्को कामकाजलाई आधुनिक, प्रभावकारी र सबैका लागि पहुँचयोग्य बनाएका छन्,’ सभामुख घिमिरेले भने, ‘नेपालमा आधुनिक प्रविधिमा आधारित भएर निर्माण भइरहेको संघीय संसद्मा हामी कृत्रिम बुद्धिमत्ताको प्रयोग विधायन व्यस्थापनमा गर्नेबारे अध्ययन भइरहेको जानकारी गराउन चाहन्छु । नेपालमा हामी हाल कृत्रिम बुद्धिमत्ता सम्बन्धी विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयकमाथि काम गरिरहेका छौं ।'
सभामुख घिमिरेले सांसदहरूले मेसिन लर्निङ, डेटा सेन्टर, डिजिटाइजेशन, स्पीच-टु-टेक्स्ट प्रविधिको अभ्यास गरेर संसद्को कार्य प्रणालीलाई अझ प्रभावकारी बनाउन सकिने बताए । ‘यस्ता प्रविधिहरूले जनसाधारणसँग संसदको सम्बन्ध अझ बलियो बनाउँछ । सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत सांसदले नागरिकसँग संवाद गर्न, उनीहरूको प्रतिक्रिया लिन र जनमतलाई नीतिनिर्माणमा समावेश गर्न सक्षम भएका छन् ।’
सभामुख घिमिरेले गलत सूचना, भ्रमपूर्ण प्रचार, डीप फेक जस्ता प्रविधिको दुरुपयोगका समस्याहरू पनि बढ्दै गएको बताए । ‘सांसदहरूको काँधमा प्रविधि प्रयोगसँगै डिजिटल साक्षरता प्रवर्द्धन गर्ने जिम्मेवारी रहेको छ । प्रविधि क्षेत्रमा बजेट वृद्धिलाई प्राथमिकता दिन अत्यन्त जरूरी छ,’ उनले भने, ‘डिजिटल पूर्वाधार, साइबर सुरक्षा, इन्टरनेट साक्षरता र डेटा सुरक्षामा स्रोत सुनिश्चित गर्न सक्नुपर्छ । तीव्र डिजिटल परिवर्तनको युगमा सांसदहरू पछाडि मात्र लाग्ने नभई अग्रसर हुने संस्थाहरू बन्नुपर्छ । आज सांसदको शक्ति केवल शब्दमा मात्र होइन, डिजिटल पहुँच र जनविश्वासमा निहित रहेको विश्वास गर्दछु ।’
सांसदहरूको विश्व सम्मेलनमा भाग लिन सभामुख घिमिरे साउन ११ मा जेनेभा गएका थिए । यो सम्मेलन प्रत्येक पाँच वर्षमा आयोजना हुने गर्दछ । सभामुख आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
