आज कारागार नजिकै रहेको होटलमा संसदीय दलको बैठक बस्दै, बैठकमा राजनीतिक अवस्था, पार्टीले उठाएको भिजिट भिसा प्रकरणलगायत मुद्दामा छलफल हुने ।
What you should know
बुटवल — संसदीय दलको बैठकका लागि रास्वपाका कार्यवाहक सभापति र संसदीय दलका उपनेतासहितको टोली भैरहवामा आइपुगेको छ।
कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झासहित अधिकांश सांसदहरू मंगलबार साँझ नै भैरहवा आइपुगेका थिए। अन्य सांसदहरू बुधबार बिहान आइपुगेका छन्।
संसदीय दलको बैठक अघि कार्यवाहक सभापति, उपसभापति, महासचिव, प्रवक्तासहितको टोलीले मंगलबार बिहान सामूहिक रूपमा रवि लामिछानेलाई भेट्ने प्रयास गरेको थियो। तर, नेताहरूको उक्त प्रस्ताव प्रशासनले अस्वीकार गरेपछि छुट्टाछुट्टै रूपमा दुई जनाले मात्र भेट गरेका छन्। स्रोतका अनुसार पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले मंगलबार लामिछानेसँग भेट गरेका छन्। सांसद सोविता गौतमले बुधबार बिहान भेट गरेकी हुन्।
सामूहिक भेट्न नमिल्ने प्रशासनले जानकारी दिएपछि कार्यवाहक सभापति अर्यालले बुधबार नै १५ देखि २० मिनेटसम्म लामिछानेसँग कुराकानी गरेका थिए। यस अघिको भेटमा रविको सन्देश भन्दै बाहिर सार्वजनिक गरे पनि मंगलबारको भेटमा लामिछाने र अर्यालबीच के विषयमा कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन। स्रोतका अनुसार पछिल्लो राजनीतिक विकास, रुपन्देही क्षेत्र नं ३ मा हुन लागेको उपनिर्वाचन र रास्वपाको संसदीय दलकै विषयमा बढी छलफल भएको थियो।
लामिछानेको सांसद पद निलम्बनमा परेपछि रास्वपा संसदीय दल नेतृत्वविहीन अवस्थामा छ। कार्यवाहक पनि अहिलेसम्म नतोकिएकाले बैठक कस्को अध्यक्षतामा बस्ने भन्ने टुङ्गो छैन। संसदीय दलको संयोजन भने उपनेता विराजभक्त श्रेष्ठले गरिरहेका छन्। त्यो विषयमा कसरी अघि बढ्ने भन्नेबारेमा अर्यालले कुरा गरेका थिए।
‘तर, लामिछानेले तत्कालै दलको नेता छान्ने विषयमा कुनै संकेत गरेनन्,’ स्रोतले भन्यो, ‘अहिले जुन अवस्थामा छ, त्यसमै अघि बढ्ने गरी छलफल गर्नु मात्र भने।’ अन्य राजनीतिक विषय र पार्टीले उठाउनुपर्ने भूमिकामा पनि लामिछाने सन्तुष्ट नदेखिएको स्रोतको दाबी छ।
रास्वपाको संसदीय दलको बैठकका लागि बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय तोकिएको छ। बैठक कारागारबाट १० मिनेटको दूरीमा रहेको होटल रमादामा हुने पार्टी जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माले जानकारी दिएका छन्।
रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार पार्टीका सांसदहरू आज र भोलि दुई दिन भैरहवा एवं रुपन्देही क्षेत्र नं ३ मा रहनेछन्। ‘संसदीय दलको बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसद्मा पार्टीले उठाएका भिजिट भिसा प्रकरणलगायत मुद्दामा छलफल गर्दै छौँ,’ उनले भने, ‘सरकारले विपक्षीको माग सम्बोधन नगरी संख्याको आधारमा जबरजस्ती संसद् चलाएको, संसद्मा पेस भएका विभिन्न विधेयक, भ्रष्टाचारका मुद्दामा पार्टीले लिएका अडानको विषयमा पनि समीक्षा हुनेछ।’
दलको नेताको विषय बैठकको कुनै एजेन्डा नरहेको पनि उनले बताए।
संसदीय दलको बैठक सकिएपछि पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सांसदहरू सहभागी हुने रास्वपाले जनाएको छ। बैठकमा रुपन्देहीको निर्वाचनका विषयमा पनि छलफल हुने परियारले बताए। पार्टीले रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट आवेदन माग गरिसकेको छ। त्यसको म्याद साउन २१ गतेसम्म छ।
