सरकार र भ्रष्टाचार पर्यायवाची बने : सांसद शर्मा

'सरकारले समस्या अन्यत्र होइन आफैंभित्र खोज्न सक्नुपर्छ'

श्रावण १४, २०८२

कान्तिपुर संवाददाता

Government and corruption became synonymous: MP Sharma

काठमाडौँ — मुलुकमा भ्रष्टाचार बढ्नुको प्रमुख दोषी सरकार रहेको प्रमुख प्रतिपक्षी माओवादीका सांसदले आरोप लगाएका छन् । राष्ट्रिय सभामा माओवादी सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार अहिले पर्यायवाची जस्तै बनेको बताएका हुन् । 

राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसद शर्माले मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी सरकार रहेको बताएका हुन् । 

भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न नसके मुलुक कालोसूचीमा पर्ने चेतावनी पनि सांसद शर्माले सरकारलाई दिएका छन् । उनले भ्रष्टाचार रोक्न सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको बताए । ‘अहिले राष्ट्रको मुख्य समस्या भ्रष्टाचार बनेको छ । भ्रष्टाचारको मुख्य दोषी सरकार नै हुन्छ । सरकार र भ्रष्टाचार अहिले पर्यायवाची बनेका छन्,' सांसद शर्माले भने, 'सरकारले समस्या अन्यत्र होइन आफैंभित्र खोज्न सक्नुपर्छ । यसलाई रोक्न नसक्दा देश र जनता बर्बादीको दिशामा गइरहेका छन् । आउने पुस्ताको भविष्य झन डामाडोल हुँदै गइरहेको छ । यसलाई समयमै रोक्न नसक्ने हो भने देश 'ग्रे लिष्ट'बाट निस्किने होइन कि सिधै 'ब्ल्याक लिष्ट'मा जाने अवस्था आउन सक्छ ।'

सांसद शर्माले भ्रष्टाचार नियन्त्रण गर्नका लागि विशेष कदम चाल्न सरकारसँग आग्रह गरेका थिए । उनले सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन गर्नुपर्ने पनि बताए ।  

कान्तिपुर

Link copied successfully