१६ वर्षमा अपराध, ४६ वर्षमा सजाय

सर्वोच्च अदालतले फैसला गरेको २३ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पोखराबाट पक्राउ, घटनापछि नाम नै परिवर्तन गरेर नागरिकता कायम ।

श्रावण १४, २०८२

प्रतीक्षा काफ्ले

Crime in 16 years, sentence in 46 years

What you should know

स्याङ्जा — २०५० साल फागुन महिना थियो। साबिकको रत्नपुर गाउँ विकास समिति वडा नम्बर २ धुर्कोट (हालको चापाकोट नगरपालिका–२) मा विवाह आँटिएको थियो। गाउँमा विवाह आँटिएपछि रमाइलो एकातिर थियो भने, आफन्त, छरछिमेक वरिपरिका बासिन्दा जम्मा भएका थिए।

गाउँको विवाहमा जन्ती थिए, हस्ते विक र बाजिन्द्रबहादुर सोतीमगर। २०५० सालमा हस्ते विक उमेरले ६० र बाजिन्द्र १६ वर्षका थिए। विवाहमा जन्ती गएका उनीहरूको नाता सम्बन्ध केही थिएन। तर, उमेर बाउ–छोरा सरह थियो। पोखरा जन्ती गएका हस्ते र सोती एक आपसमा झगडा गरे। झगडाले उग्र रूप लिएपछि कुटपिट भयो। हस्ते गम्भीर घाइते भए। उपचारका लागि उनलाई तत्कालै अस्पताल लगियो। चिकित्सकले उपचारको क्रममा मृत घोषणा गरे।

घटनालगत्तै मृतक हस्तेका परिवारले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिए। प्रहरीले जाहेरी दर्ता गरेपछि पक्राउ गरी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो। जिल्ला अदालतले ५ हजार धरौटीमा रिहा गर्‍यो। २२ दिन मात्र हिरासत बसेको भन्दै पीडितका आफन्तले कैद सजायको माग गरेका थिए।

जिल्ला अदालतको फैसला चित्त नबुझेपछि मृतकका आफन्त तत्कालीन पुनरावेदन अदालत पुगे। पुनरावेदनले पनि जिल्ला अदालतको फैसला सदर गरेपछि पीडित पक्ष सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका थिए। पीडितको पक्षमा सर्वोच्च अदालतले २०५९ असोज ७ गते दुई वर्ष कैद सजाय तोकिदियो।

सर्वोच्चको फैसलापछि फरार रहेका सोतीमगर २३ वर्षपछि मंगलबार पक्राउ परेका छन्। अन्ततः १६ वर्षमा गरेको अपराधको सजाय सोतीले ४६ वर्षमा भोग्न बाध्य भए। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका–१७, बिरौटाबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

एसपी न्यौपानेका अनुसार सोतीमगरले १६ वर्ष उमेर पुगेपछि तत्कालीन नाम परिवर्तन गरी नागरिकता निकालेका थिए। ‘हामीलाई अनुसन्धानमा पत्ता लगाउनै निकै गाह्रो भयो,’ एसपी न्यौपाने भन्छन्, ‘एक त नाम परिवर्तन गरेको छ। अर्को कुरा, घटना पुरानो भयो। द्वन्द्वको क्रममा २०५८ सालमा सबै मिसिल (फाइल) जलेका थिए। पुराना फाइल प्रहरीमा नभेटिने समस्याका बाबजुद पनि पक्राउ गर्न सफल भयौँ।’ उनले सर्वोच्चले पठाएको लगत कट्टाको आधारमा पक्राउ गरिएको बताए।

पोखरामा व्यवसाय गर्दै आएका सोतीमगरलाई प्रहरीले मंगलबार कैद सजाय भुक्तानका लागि जिल्ला अदालत स्याङ्जामा हाजिर गराएपछि जिल्ला कारागार झारिएको छ।

प्रतीक्षा

Link copied successfully