भ्रष्टाचार बढ्नुमा मुख्य दोष सरकारकै : सांसद शर्मा

सांसद शर्माले संसदमा सरकारलाई भ्रष्टाचारको दोषी ठहर्याउँदै कडा कदम चाल्न आग्रह गरे।

श्रावण १४, २०८२

कान्तिपुर संवाददाता

The government is mainly to blame for the rise in corruption: MP Sharma

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद शर्माले मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको आरोप लगाए। उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न नसके मुलुक कालोसूचीमा पर्न सक्ने चेतावनी दिए ।

सांसद शर्माले भने,  'अहिले राष्ट्रको मुख्य समस्या भ्रष्टाचार बनेको छ। भ्रष्टाचारको मुख्य दोषी सरकार नै हुन्छ। सरकार र भ्रष्टाचार अहिले पर्यायवाची बनेका छन्। सरकारले समस्या अन्यत्र होइन, आफैँभित्र खोज्न सक्नुपर्छ। यसलाई रोक्न नसक्दा देश र जनता बर्बादीको दिशामा गइरहेका छन् र आउने पुस्ताको भविष्य झन् डामाडोल हुँदै गइरहेको छ। यसलाई समयमै रोक्न नसक्ने हो भने देश ग्रे लिस्ट मा होइन, सिधै ब्ल्याक लिस्ट मा जाने अवस्था आउन सक्छ। भ्रष्टाचार रोक्न विशेष कदम चाल्न र सम्पत्ति छानबिन गर्ने प्रक्रिया अघि बढाइयोस् भन्ने मेरो सरकारप्रति ध्यानाकर्षण हो।'

उनले भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम चाल्न तथा नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रक्रिया तुरुन्तै सुरु गर्न सरकारलाई आग्रह गरे।

कान्तिपुर

Link copied successfully