विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सभापति कमला पन्तले अन्तर्राष्ट्रिय व्यापार र नेपालमा आउने चुनौतीको विषयलाई सदनमा प्रस्तुत गरिन्।

श्रावण १४, २०८२

कान्तिपुर संवाददाता

A motion to discuss the report on upgrading in developing countries was approved

What you should know

काठमाडौँ — ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ।

राष्ट्रिय सभाको आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्ताव प्रस्तुत गरेकी थिइन् । समितिले गत असार ५ गते प्रतिवेदन बनाई सदनमा पेस गरेको थियो।

प्रस्ताव प्रस्तुत गर्दै सभापति पन्तले यसबाट अन्तर्राष्ट्रिय व्यापार थप हुने तर स्तरोन्नतिबाट नेपालमा विभिन्न चुनौती समेत आउने बताइन्। लाभ र हानीका विषय प्रतिवेदनमा विस्तृत रूपमा उल्लेख गरिएको जानकारी पनि उनले दिइन् ।

स्तरोन्नतिका लागि तीन वटा सर्तमध्ये मानव सम्पत्ति र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क पूरा भए पनि प्रति व्यक्ति आयको सूचकाङ्क अझै पूरा नभएको जानकारी उनले दिइन् ।

स्तरोन्नतिपछि नेपालले विभिन्न क्षेत्रमा पाउँदै आएको सहुलियतमा असर पुग्ने, यात्रा सहुलियतमा कटौती हुने र विश्व बैंकले दिएको ऋणमा दुई प्रतिशत ब्याज लाग्ने खबर आएको पनि उनले सुनाउनुभयो। यसका लागि नोभेम्बर २०२६ सम्मको कार्ययोजना बनाई लागू गर्नुपर्ने उनको भनाइ थियो।

सदस्यहरू उर्मिला अर्याल, इन्दिरादेवी गौतम, मदनकुमारी शाह (गरिमा), पूजा चौधरी, शेखरकुमार सिंह, डा. अञ्जान शाक्य, गोपाल भट्टराई, गङ्गाकुमारी बेल्वासे, किरण श्रेष्ठ, तुलसाकुमारी दाहाल, गोपीबहादुर सार्की अछामी, कृष्णप्रसाद पौडेल, रुक्मिणी कोइराला, भुवनबहादुर सुनार, नारायणदत्त मिश्र, पदमबहादुर परियार, विष्णुबहादुर विश्वकर्मा, विष्णुकुमारी सापकोटा, कृष्णप्रसाद अधिकारी र सुमित्रा बिसीले प्रस्तावमाथि आ–आफ्नो धारणा राखे।

उनहरूले स्तरोन्नतिबाट विकास सहायतामा कमी हुने, सुविधा पाएर गलैंचालगायत सामग्री नेपालबाट विदेशमा निर्यात भइरहेकामा के प्रभाव पर्छ भन्नेबारे सरकारको तयारी के छ भनी प्रश्न गरे।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पठाइएको पत्र पढेर सुनाए।

कान्तिपुर संवाददाता

Link copied successfully