प्रधानमन्त्रीले गरे रानीजमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युत् आयोजना उद्‍घाटन

श्रावण १३, २०८२

कान्तिपुर संवाददाता

Prime Minister inaugurated additional irrigation and hydropower project of Ranijamara Kularia project

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले रानीजमरा कुलरिया सिँचाइ आयोजनाको सिँचाइतर्फको थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइन उद्‍घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार थप १४ हजार ३ सय हेक्टरमा सिँचाइ सुविधाको सिँचाइ आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन् ।

कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ कटासेस्थित सिँचाइ नहरमा विद्युत् उत्पादन भएर ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम सुरु भएका छन् । 

आयोजनाले विगतमा टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा तेस्रो चरणमा भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि गर्नेछ ।

Prime Minister inaugurated additional irrigation and hydropower project of Ranijamara Kularia projectप्रधानमन्त्री ओलीले सो आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भन्दै यसले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षाको चित्रण गर्ने बताए । 

प्रधानमन्त्री ओलीले १२० वर्षअघिको स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरु भएको रानी जमरा कुलरिया प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका सिँचाइ आयोजना-सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजना यथाशीघ्र सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिए । 

कान्तिपुर

Link copied successfully