शक्तिशालीका लागि लाभदायी हुने गरी भूमि विधेयक ल्याइयो : सांसद गौतम

'एकै चरणमा आउँदा सर्वसाधारणले बुझ्छन् भन्ने जस्तो गरी चलाखीपूर्वक तीन चरणमा यो कानुन संशोधन गरियो'

श्रावण १३, २०८२

कान्तिपुर संवाददाता

The Land Bill was introduced to benefit the powerful: MP Gautam

What you should know

काठमाडौँ — सरकारले भूमि सम्बन्धी कानुन संशोधन विधेयक ल्याउनुका पछाडि शक्तिशालीलाई लाभ पुर्‍याउनु रहेको रास्वपा सांसद सोबिता गौतमले बताएकी छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलबारको बैठकमा सांसद गौतमले सुकुम्बासी र भूमिहीनलाई जमिन दिनुभन्दा पनि हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्नका लागि बाटो खोल्नु रहेको उनले बताइन् ।

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८२ प्रतिनिधिसभाको संसदीय समितिमा छलफलमा रहेको छ । विधेयक संसदीय समितिमा ल्याएर व्यापक छलफल गराउनु पनि भाग्यको कुराजस्तो भएको सांसद गौतमको भनाइ थियो ।

छोटो समयमा भूमिसम्बन्धी ऐनलाई तीन पटकमा संशोधन गरिएको सांसद गौतमले बताइन् । भूमि ऐनको आठौं संशोधन, लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन र अहिले भूमि सम्बन्धी केही नेपाल ऐन गरी तीन चरणमा एउटै ऐन संशोधन गरिएको उनको भनाइ थियो । 

भूमि ऐनमा एकैपटक आवश्यक संशोधन गर्दा सर्वसाधारणले बुझ्छन् भन्ने लागेर सरकारले चलाखीपूर्वक छोटो समयमा तीन पटक संशोधन गरेको गौतमको दाबी थियो । 'एकै चरणमा आउँदा सर्वसाधारणले बुझ्छन् भन्ने जस्तो गरी चलाखीपूर्वक तीन चरणमा यो कानुन संशोधन गरियो । अहिलेको विधेयकको गहिरो उद्देश्य यो मात्रै पढ्दा बुझिँदैन,' उनले भनिन् । तीन चरणमा आएका संशोधन विधेयक पढ्दा मात्रै हदबन्दीभन्दा बढीको जग्गा निर्वाध रूपमा बेच्न सजिलो हुने गरी ल्याइएको भित्री उद्देश्य देखिएको उनको भनाइ थियो ।

भूमिसम्बन्धी ऐन संशोधनमा नीतिगत भ्रष्टाचार भएको पनि उनले बताइन् । केही घरजग्गा व्यवसायीले कानुनको इन्द्रजाल प्रयोग गरी हदबन्दीभन्दा बढी जमिन लिन सफल भएको पनि उनको भनाइ थियो । भूमिहीनलाई सरकारले भूमि दिनुपर्ने अपरीहार्य आवश्यकता भएपनि सरकारले लक्ष्यबिना हचुवाको भरमा कानुन संशोधन गरिरहेको उनले बताइन् । ‘अहिले विवादमा चुलिएको गिरीबन्धु टी स्टेट जग्गा प्रकरणमा सट्टापट्टाको कानुनी व्यवस्थाबाट सुरु भएको देखिन्छ । यो नीतिगत भ्रष्टाचारको एक स्पष्ट उदाहरण हो । जुन काम गर्नको लागि जग्गा लिएको त्यो काम त्यही जग्गामा नगरेर अन्यत्र गर्छु भन्नु चाहिँ राज्यमाथिको ठगी हो,' उनले भनिन् ।  

२००७ सालपछि सामाजिक सन्तुलन कायम गर्न भूमि सुधारको अभ्यास सुरु गरेको तर अहिले भने त्यो सन्तुलन बिगार्ने कानुन ल्याइएको उनको भनाइ थियो । 'एकदम अस्पष्ट र खुला प्रावधानले भूमि सम्बन्धी कानुनलाई शक्तिशालीका लागि चाहिँ एकदमै लाभदायक र सौदाबाजीमा रुपान्तरण गरेको छ । यो विधेयक विगतका दुई संशोधनको निरन्तरता नै हो,' उनले भनिन् ।

अहिलेको संशोधनले घरजग्गा व्यवसायका लागि हदबन्दीभन्दा बढीको जग्गा लिन पाउने र त्यसका लागि डीपीआर र ईआईए आवश्यक नपर्ने व्यवस्था गरिएको पनि सांसद गौतमको भनाइ थियो । सरकारले ल्याएको विधेयकको व्यवस्था पारित भएमा दुरुपयोग हुने खतरा रहेको उनले बताइन् ।

‘उद्योग सञ्चालन होला या नहोला तर सञ्चालकले कानुनको दुरुपयोग गरेर अकुत लाभ उठाउन पाउँछन् । आउने दिनमा उत्पादन सोचेजस्तो नभएको अवस्थामा कानुनको गलत प्रयोग गरी ठूलो रकम कमाउने चाहना भएका मानिसलाई हदबन्दीभन्दा बढी जमिन भएका व्यवसायीले यही तरिका नअपनाउलान् भन्न सकिन्न,' उनले भनिन्, 'केहीले त यो प्रक्रिया गरिरहेकै पनि छन् । अहिले विवादमा चुलिएको गिरीबन्धु टि स्टेट जग्गा प्रकरण पनि यही सट्टापट्टाको कानुनी व्यवस्थाबाट सुरु भएको देखिन्छ । यो नीतिगत भ्रष्टाचारको एक स्पष्ट उदाहरण हो । जुन काम गर्नको लागि जग्गा लिएको त्यो काम त्यही जग्गामा नगरेर अन्यत्र गर्छु भन्नु चाहिँ राज्यमाथिको ठगी हो । हामी यसमा स्पष्ट हुनुपर्छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully