पहिलेको तुलनामा स्वास्थ्य क्षेत्रमा सुधार भए पनि आम नागरिकले अझै अनुभूति गर्न पाएका छैनन्  : मन्त्री पौडेल

ओपीडी ४२ वर्ष र मेडिकल वार्ड ७० वर्ष पुरानो भवनबाट सञ्चालन

श्रावण १३, २०८२

प्रशान्त माली

Even though the health sector has improved compared to before, the common citizens have not yet been able to feel it: Minister Paudel

What you should know

काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालको थप सुधारको लागि आवश्यक जनशक्ति र उपकरण उपलब्ध गराउन मन्त्रालयले सक्दो प्रयास गर्ने बताएका छन् । 

वीर अस्पतालको १३६औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा उनले स्वास्थ्य क्षेत्रमा पछिल्ला दिनहरुमा सुधार भए पनि आम नागरिकले अझै त्यसको अनुभूति गर्न नपाएको बताएका हुन् । 

‘नितिगत सुधारले मात्र नागरिकलाई स्वास्थ्य क्षेत्रमा सुधार भएको महशुस गराउन नसकिने रहेछ,’ उनले भने,‘ अस्पतालको सुधार गरेपछि मात्र नागरिकले स्वास्थ्य क्षेत्रमा सुधार गरेको महशुस गर्ने रहेछन् ।’ वीरमा राज्यको सबैभन्दा बढी लगानी छ । स्वास्थ्य क्षेत्रमा राज्यको उपस्थित यो अस्पतालले देखाइरहेको बताउँदै मन्त्री पौडेलले भने, ‘स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले दायित्वबाट राज्य पन्छिन मिल्दैन । हामीले आधारभूत स्वास्थ्य सेवा निःशुल्क र विशिष्टकृत सेवा सस्तो सर्वसुलभ र नसक्नेलाई निःशुल्क उपलब्ध गराउने भनेका छौं ।’

वीरका निर्देशक प्रा.डा.दिलीप शर्माले अस्पतालमा बिरामीको चाप बढ्दो रहेको र अझै पनि ओपीडी ४२ वर्ष पुरानो र मेडिकल वार्ड ७० वर्ष पुरानो भवनबाट सेवा दिन बाध्य रहेको बताए । ‘दक्ष प्राविधिक जनशक्ति बेला बेलामा अपुग हुने गरेको छ,’ उनले भने, ‘मन्त्रीज्यूलाई पुल दरबन्दी सिर्जना गरेर भए पनि प्राविधिक जनशक्तिको व्यवस्थापन गर्न अनुरोध गर्छु ।’

वीर अस्पताल वि.सं. १९४७ साउन १२ गते श्री ३ वीर शम्शेरको पहलमा स्थापित नेपालको सबै भन्दा पुरानो अस्पताल हो । सरकारको केन्द्रीय अस्पतालको रूपमा वीर अस्पताललाई लिने गरेको छ । अस्पतालको चौतर्फी विकासको लागि राष्ट्रिय स्तरमा दक्ष जनशक्ति समेत उत्पादन गर्नको लागि २०६३ सालमा नेपाल सरकारले चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान ऐन जारी गरी वीरलाई प्रतिष्ठानको रुपमा विकास गरेको थियो ।

अस्पतालमा अति गरीब, बेवारिसे, हिंसा पीडित महिला असहाय निमुखा, अपांग, जेष्ठ नागरिक, अल्पसंख्यक, जनआन्दोलनका घाइते जस्ता बिरामीहरुको लागि सर्वसुलभ तथा निशुल्क उपचार गर्दै आइरहेको छ ।

१५ शय्याबाट सुरु भई ४६० शय्यामा सेवा दिइरहेको वीर अस्पताल हाल नयाँ सर्जिकल भवनबाट थप सेवा शुरु भएसँगै ९६० शय्या सञ्चालन योग्य अवस्थामा रहेको छ ।

प्रशान्त माली

Link copied successfully