अयोध्यापुरी: बाघको सन्त्रासबाट मुक्त हुँदै गएको एउटा गाउँ

सुरुको आठ वर्षमा बाघले १३ जना मारेको अयोध्यापुरीमा त्यसपछिको १६ वर्षमा बाघका कारण जम्मा चारजनाको मृत्यु भएको देखिन्छ

श्रावण १३, २०८२

रमेशकुमार पौडेल

Ayodhyapuri: A village emerging from tiger terror

What you should know

चितवन — जंगली जनावर बाघबाट निकै आक्रान्त गाउँ हो चितवनको दक्षिणी भेगमा पर्ने माडीको अयोध्यापुरी । चितवन राष्ट्रिय निकुञ्ज र सोमेश्वर पहाडको जंगलले चारै तिरबाट घेरिएको पूरै नै माडी वन्यजन्तुले हैरान पारेको ठाउँ हो ।

माडीभित्र अयोध्यापुरी झनै पिडित मानिन्छ । ६० को दशकसम्म जंगली जनावरको एकपछि अर्को आक्रमणको घटनाले निकै अत्याएको यो ठाउँमा पछिल्ला वर्षहरुमा घटनाहरु निकै कम भएर गएका छन् । 

बाघ लगायतका जनावरको आक्रमण यहाँ कसरी घट्यो ? चितवन निकुञ्ज क्षेत्रमा पहिलाको भन्दा सबै खाले जंगली जनावरहरुको संख्या बढ्दो छ । जंगली जनावरहरुबाट जोगिने सम्बन्धमा आफूहरुले विभिन्न गतिविधि र स्थानीयलाई जंगली जनावरहरुको स्वभाव आनीबानी बुझाउने अभियान चलाउँदै आएको माडीको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायक बताउँछन् । 

तर पनि ठ्याक्कै के कारणले वन्यजन्तुको आक्रमण घटेको हो ? त्यसबारे विज्ञहरुले अध्ययन अनुसन्धान गरे राम्रो हुने उनले बताए । बाघको डर कस्तो हुन्छ ? अझ आँखै अगाडि आफन्त र साथी भाइलाई बाघले आक्रमण गरेर ज्यान लिएको टुलुटुलु हेरेर मात्रै बस्नुपर्ने बाध्यता हुँदा मन कति चिरिन्छ ? माडी अयोध्यापुरी बगइ गाउँका राजेन्द्र न्यौपाने यो त्रासदीपुर्ण अवस्थाबाट गुज्रिसकेका छन् ।

२१ वर्ष पहिले अयोध्यापुरी गणेशकुञ्ज गाउँका पाँचजना वनभोज खान जंगल जाने भए । त्यता जान लागेका पदमलाल अधिकारीका जेठान हुन् राजेन्द्र । पदमलाल विदेशबाट आएका थिए । त्यसैले रमाइलो गर्न जान लागेका पाँचजनाको टोलीमा पदमले जेठान राजेन्द्रलाई पनि सामेल गरे ।

गाउँबाट निकै पर जंगलमा रहेको निलो रह (ताल)मा दिनभर रमाइलो गरेर फर्कन लाग्दा पदमले बाघ आए लखेट्न पर्दछ भन्दै लौरो काटे । ‘लौरो काटेर यस्सो हिँडेका मात्रै के थियौं कता हो कताबाट एक्कासी झ्याम्मै बाघ आइ हाल्यो,’ राजेन्द्रले भने । अचानक झुल्केको बाघले बिजुलीको गतिमा ज्वाइँ पदमलाई झम्टेर लग्यो भन्छन् राजेन्द्र । हेर्दा हेर्दै त्यहाँको अवस्था कहाली लाग्दो बन्यो । सवै रुने कराउने काँप्ने गर्न थाले ।

Ayodhyapuri: A village emerging from tiger terror

ज्वाईलाई बाघबाट फुत्काउन राजेन्द्रले अन्तिम प्रयास गर्ने आँट गरे । साथीको हातमा हसिया थियो । हसिया माग्दा डरले काँप्दै बसेको साथीले दिँदै दिएन । उनले खोसेर आफैंले बाघको पुच्छर तिर हाने । त्यसपछि रनथनिएको बाघले अन्धाधुन्ध आक्रमण गर्न लाग्यो । उनले यता ऐया, उता ऐया गरेको सुने । ‘ज्ञानु तमाङ थियो उसले ल दाई म त मर्ने भएँ तपाई जोगिनुस भन्यो’ राजेन्द्रले सुनाए ।

त्यसपछि उनी बेतोडले दौडिए । केही पर एउटा रुख देखे । खासै रुख चढ्ने नगरेका उनी अरु उपाए नभएपछि सम्हालिदै त्यसैमा चढे । साँझ पर्न लाग्यो । उनलाई लाग्यो, म त जोगिए खै अरुलाई के के भयो ? औंसीको बेला थियो । निस्पट्ट अँध्यारो । उनी चिच्याउँछन् । त्यो घनघोर जंगलमा कल्ले सुन्ने उनको आवाज । सँगै गएका साथीहरु कोही केही बोल्दैनन् । न ए्यो, न आत्थु, न एसो न उसो । उनलाई लाग्यो ‘कोही बचेनन् ।’

बेला बेलामा बाघ मजैले गर्जन्थ्यो । कता रुखबाट लडिने पो हो कि भनेर उनले सर्ट खोलेर आफ्नो ज्यान रुखमा कसे । भोक त सहन सक्थे तर राति बेस्सरी पानी तिर्खा लाग्यो । बाघको डर, साथीहरुको हालत सबै कुरा सोचेर ल्याउँदा उनी डाँको छाडेर रुन चिच्याउन खोज्थे थर आवाज सुनेपछि बाघ पनि गर्जने गरेका कारण उनले आफूलाई सम्हाले । उज्यालो भयो, बाघ उनी चढेकै रुख वरपर आउन थाल्यो । 

तिर्खाले अति नै छटपटिएपछि उनी रुखबाट ओर्लिए । बाघले मार्ने भन्दा पनि तिर्खाले बेहोस हुने खतरा बढेपछि उनले यस्तो निर्णय लिएका थिए । तर बाघ अलि बेर पछि लाग्ने रोकिने गर्न थाल्यो । बाघ पछि लाग्दा उनी हात जोडेर बिन्ती गर्दथे । ‘ए देवि मलाई छाड बरु के चढाउने हो चढाउँछु’ भनेर भाकल गर्दथे । अलि बेरपछि बाघ अडियो उनी गाउँ पुगे । उनले त्यत्रा मान्छे मारेको बाघ भएको ठाउँमा एक्लै १७ घण्टा गुजारे ।

विस २०६० सालको चैत्र १२ मा भएको थियो यो घटना । राजेन्द्रका ज्वाइँ पदमबहादुरसहित ज्ञानु भन्ने ज्ञानबहादुर तामाङ, सन्तबहादुर प्रजा चोपाङ, सार्की दमाई र बृजमान तमाङको बाघले ज्यान लिएको थियो त्यो दिन । रमाउन गएका ६ जनामध्ये एकजना राजेन्द्र मात्रै घर फर्किए । ‘त्यो कालो दिन सम्झदा अझै पनि झस्कन्छु । जंगल जानै नपरोस जस्तो लाग्छ । तर गाई बाख्रा छन् नगइ हुन्न’ राजेन्द्रले भने । 

अयोध्यापुरी बाघ लगायत गैंडा, जंगली हात्तीले धेरै नै सताएको ठाउँ हो । राजेन्द्र जस्ता आफन्त साथी भाइ गुमाएका यो गाउँमा अरु पनि छन् । माडीमा पहिला चार गाउँ विकास समिति (गाविस) थिए । पछि सबैलाई मिलाएर माडी नगरपालिका बन्यो । चितवन निकुञ्जमा २०५४ सालदेखि निकुञ्ज आडको बस्तीलाई मध्यवर्ती क्षेत्र घोषणा गर्दै उपभोक्ता समिति गठन भए । 

मध्यवर्तीका हाल २१ उपभोक्ता समिति र एक उपसमिति छन् । तत्कालीन पूरै आयोध्यापुरी गाविसलाई समेटेर गठन भएको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिमा हालको माडी नगरपालिकाको ७ नम्बर वडाको आंशिक र आठ र नौ नम्बर वडा पूरै भाग पर्दछ । जहाँ २२ सय घरधुरी बसोबास गर्छन् ।

Ayodhyapuri: A village emerging from tiger terror

‘मध्यवर्ती गठन भएयता हालसम्म यहाँ जंगली जनावरहरुले ३१ जनालाई मारेको रहेछ,’ मध्यवर्ती अध्यक्ष शिवजी गायकले भने । ३१ मध्ये १७ जनालाई बाघले मारेको समितिको विवरणमा उल्लेख छ । 

अयोध्यापुरीमा २०५५ सालको फागुन २२ मा भएको घटनामा मध्यवर्ती समितिले पहिलो पटक दिवंगत व्यक्तिका परिवारलाई राहत दिएको थियो । त्यो बेला चिसबहादुर गुरुङलाई बाघले मारेको थियो । राहत दिएको दोस्रो घटना पनि बाघ आक्रमणबाट मृत्यु भएकै थियो । त्यसपछि २०६३ सालको मंसिर २२ सम्म आठ वर्षमा वन्यजन्तु आक्रमणमा परेर १६ जनाको निधन भयो । तिमध्ये बाघबाट ज्यान गुमाउने १३ जना थिए ।

मध्यवर्तीको विवरण अनुसार वन्यजन्तुबाट ज्यानै जाने गरेर हुने आक्रमणका घटना २०७९ सालको बैशाख २० गतेबाट भएको छैन । त्यो अन्तिम घटना पनि बाघले नै मान्छे मारेको थियो । २०६३ सालयता २०७९ सालसम्म १६ वर्षको अवधिमा जंगली जनावरको आक्रमणमा परेर १५ जनाको निधन भएको छ । यो समयमा बाघको आक्रमणमा परेर ज्यान गुमाउने ४ जना थिए । यो अवधिमा जंगली हात्तीको आक्रमण बढेको देखिन्छ ।

अर्थात पहिलो आठ वर्षको तुलनामा पछिल्लो १६ वर्षमा सवै खाले जनावरहरुबाट हुने मानव मृत्युको संख्यामा कमी आएको छ । त्यसमाथि बाघबाट हुने मानव मृत्यु त झनै उल्लेख्य मात्रामा घटेको छ । अयोध्यापुरीको पश्चिम सिमानामा मात्रै मानव वस्ती छ । उत्तरमा चितवन राष्ट्रिय निकुञ्जको घना जंगल छ । दक्षिणमा सोमेश्वर पर्वतको जंगल छ । चितवन निकुञ्जमा र सोमेश्वर जंगल दुवैमा बाघ छन् ।

नेपालमा सवैभन्दा धेरै १९८ वटा बाघ चितवन निकुञ्जमा छन् । २०८० सालको असोजमा ४० दिन लगाएर गरेको सर्वेक्षणमा सोमेश्वर क्षेत्रमा १४ वटा बाघ देखा परेका थिए । त्यसअघि २०१८ को अनुगमनमा तीनवटा मात्रै बाघ भेटिएको सोमेश्वर क्षेत्रमा सन् २०२२ को राष्ट्रिय बाघ सर्वेक्षणमा आठवटा बाघ थिए । अयोध्यापुरीसँग जोडिएको वन क्षेत्रमा पछिल्लो समय बाघको उपस्थिति बढेको छ । तर घटना कम भएको छ ।

‘पहिला वन र वस्तीबीच कुनै छेकबार थिएन । मान्छे पनि गाईभैँसी बाख्रा चराउन जंगल जान्थे । घाँस दाउरा गर्नै पर्ने बाध्यता थियो, अहिले कम भएको छ । पछि हामीले तारबार गर्न थाल्यौं । स्थानीयलाई आक्रामक जंगली जनावरहरुको स्वभाव बानी ब्यहोराका बारेमा घर दैलो नै थरेर पढाउन बुझाउन थाल्यौं । यसैको प्रभाव देखिएको होला’ अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका पुर्व अध्यक्ष मथुरा भण्डारीले भने । उनी २०५९ पछि २० वर्ष अध्यक्ष थिए ।

समितिका वर्तमान अध्यक्ष शिवजी गायक निकुञ्ज र संरक्षण क्षेत्रमा कार्यरत संघ संस्थाहरुको साझेदारीमा आफूहरुले विभिन्न गतिविधिहरु गर्दै आएको बताए । ‘जनावरको संख्या बढेको अवस्थामा पनि स्थानीयको ज्यानै जाने तहका घटनाहरु कम हुनु सुखद पक्ष हो । यसो हुनुको कारण पत्ता लगाए अन्यत्र पनि सिकाइको विषय बन्ने थियो । त्यसैले अलि अध्ययन अनुसन्धान गरेरै निचोडमा पुगौं’ अध्यक्ष गायकले आग्रह गरे ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully