What you should know
काठमाडौँ — राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युट (एनबीआई)को संयुक्त आयोजनामा आगामी भदौ ३० गते नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको चौथो संस्करण हुने भएको छ ।
सम्मेलनको चौथो संस्करण आयोजनासम्बन्धी समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको हो । समझदारीपत्रमा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र एनबीआईका कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरे । युवा परिषद् र नेपाल बिजनेस इन्ष्टिच्युटले सन् २०१९ बाट सम्मेलन आयोजना गर्दै आएका छन् ।
परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले जेनजी पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्दै तीनै तहका सरकारले गरेका प्रयासबारे जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए । युवाहरुलाई उद्यमी बन्न प्रोत्साहित गर्न र स्टार्टअप उद्यमहरुलाई वित्तीय सहजीकरण गर्न सम्मेलन लाभदायी हुने उनको विश्वास छ ।
एनबीआईका कार्यकारी अध्यक्ष गैरेले सम्मेलनमा सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायले युवा उद्यमशीलता प्रवर्द्धनमा हालसम्म गरेका नीतिगत र कार्यक्रमगत उपलब्धिको लेखाजोखा गरिने बताए । उनले उद्यमी बन्न चाहने युवाहरु, उद्यम गरिरहेका युवाहरु र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ता, उच्चपदस्थ सरकारी अधिकारी र अन्य सरोकारवालासहित देशभरका ५ सय प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने जानकारी दिए ।
'युवा उद्यमशीलता : नीति, कार्यक्रम र कार्यान्वयन' भन्ने मूल नारासहित हुने सम्मेलन उद्घाटन प्रधानमन्त्रीले गर्नेछन् । सम्मेलनमा पूर्वप्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, दातृ संस्था र निजी क्षेत्रका उच्चपदस्थ अधिकारीहरुको सहभागिता र साझेदारी रहनेछ ।
युवाहरुमा वित्तीय पहुँच अभिवृद्धि , सरकारी नीति, कर नीति, स्टार्टअप कार्यक्रम, स्टोरी सियरिङ, समूहगत छलफल र स्टार्टअप विजनेस सम्बन्धमा युवा उद्यमीहरुको क्षमता अभिवृद्धि र उद्यमको वृद्धि विकासमा सम्मेलन महत्वपूर्ण हुने आयोजकको भनाइ छ ।
