'हदबन्दीभन्दा बढी जग्गा लिनेको डीपीआरमा रोजगारी कति सिर्जना गर्तनुपर्छ पनि हेर्नु नपर्ने, वातावरणीय असर पनि हेर्नु नपर्ने अनि खडेरी पर्यो भनेर हेलिकोप्टरमा घुम्न गएर मात्र मधेशमा पानी आउँदैन'
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले लालपूर्जा भएको मानिसक मात्रै भूमिको मालिक भन्ने सोच त्याग्नुपर्ने बताएकी छन् । उनले हदबन्दीभन्दा बढी जग्गा राख्नेका लागि वातावरणीय मूल्यांकन र डीपीआर अनिवार्य गर्नुपर्ने बताएकी हुन् ।
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबारको बैठकमा भूमि विधेयकमाथिको छलफलमा सहभागी सांसद श्रेष्ठले भूमिको स्वामित्वको विषय लालपूर्जासँग मात्रै नजोडिएको बताएकी हुन् ।
भूमि सम्बन्धी हाल कार्यान्वयनमा रहेको कानुनमा हदबन्दीभन्दा बढी जग्गा राख्नेका लागि वातावरणीय मूल्यांकन र डीपीआर गर्नुपर्ने व्यवस्था अहिले परिवर्तन गरिएको सांसद श्रेष्ठको भनाइ थियो । ‘पहिले भूमिलाई जसरी व्याख्या गर्थ्यौं र अहिले जसरी व्याख्या गर्छौं त्यो निकै फरक परिसकेको छ । त्यो परिवर्तित अवस्थालाई हामीले आत्मसाथ नगर्ने हो भने फेरि पनि निर्वाचनमा लालपूर्जा बाँड्छु भन्नेबाहेक अर्को चुनावी एजेन्डा हुँदैन । सैद्धान्तिक रुपमा भूमिको प्रयोगबाट जाऔँ । भूमिलाई सुरक्षित आवाससँग नजोड्ने हो भने भाडामा बस्दाखेरि सुरक्षित छैन । लालपूर्जा भएको मानिस मात्र भूमिको मालिक भनेर सोच्ने कुरा एकदमै गलत हुन्छ,' उनले भनिन् ।
हदबन्दीभन्दा बढी जग्गा प्रयोग गर्नेले समाजलाई के सेवा गर्छन् भन्ने कुराको पनि कानुनी व्यवस्था गर्नुपर्ने सांसद श्रेष्ठको भनाइ थियो । उनले भनिन्, 'यो विधेयकमा पहिला हदबन्दीभन्दा बढी जग्गा राख्नेलाई ईआईए गर्नुपर्थ्यो, डीपीआर देखाउनुपर्थ्यो । डीपीआरमा रोजगारी कति सिर्जना गर्तनुपर्छ पनि हेर्नु नपर्ने, वातावरणीय असर पनि हेर्नु नपर्ने अनि खडेरी पर्यो भनेर हेलिकोप्टरमा घुम्न गएर मात्र मधेशमा पानी आउँदैन । त्यो चुरे दोहन भएकोले अहिले मधेसको समस्या हो । त्यसैले अहिले पनि ईआईए र डीपीआर अनिवार्य हुनुपर्छ ।'
सरकारले राज्यले उपलब्ध गराउने शिक्षा, स्वास्थ्य लगायतका सेवाबाट विमुख नागरिकलाई पनि हेर्नुपर्ने बताइन् । भूमि विधेयकमार्फत सरकारले सहरमा अर्बौंको सम्पत्ति भएकाहरूलाई मात्रै हेर्न लागेको बताइन् ।
