माओवादीभित्रको द्वन्द्व सतहमा

नेतृत्वलाई कमजोर गराउने प्रवृत्ति स्विकार्य हुँदैनः उपमहासचिव पुन, कम्युनिस्ट पार्टीको नेतृत्वमा देखिएको प्रवृत्ति मात्रै औंल्याएको हुःँ उपमहासचिव शर्मा

श्रावण १२, २०८२

गंगा बीसी

Conflicts within Maoists surface

What you should know

काठमाडौँ — अध्यक्ष पुष्पकमल दाहालको कार्यशैलीप्रति उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रूपमा आलोचना गरेपछि माओवादी केन्द्रभित्रको अन्तरद्वन्द्व सतहमा आएको छ । अध्यक्ष दाहाल र शर्माबीच सार्वजनिक मञ्चबाटै आरोप प्रत्यारोप चलेको हो ।

शर्माले नेपाली कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवसकाे अवसर पारेर साउन ७ मा आयोजित एक कार्यक्रममा पार्टीभित्र आन्तरिक लोकतन्त्र (जनवाद) सकिएको र नेतृत्व भ्रष्ट भएको बताएपछि आरोप प्रत्यारोपको पछिल्लो शृंखला सुरु भएको हो ।

मा‌ओवादी केन्द्रीय कार्यालय ‘हेडक्वार्टर’ निकट रहेका नेताहरूले शर्माले मुख्य नेतृत्वविरुद्ध धावा बोलेको भन्दै उनलाई स्पष्टीकरण सोध्नुपर्ने माग समेत गर्न थालेका छन् ।

‘जनार्दनजीको नेतृत्वमाथि गरेको टिप्पणीलाई हेडक्वार्टरले गम्भीर रूपमा लिएको छ,’ एक माओवादी नेताले भने, ‘यसबारे स्थायी समितिमा पनि गम्भीर रूपमा कुरा उठ्ने भएको छ ।’ शर्माले आफूले नेपाल कम्युनिस्ट पार्टीमा देखिएको प्रवृत्ति मात्रै औंल्याएको भन्दै स्थायी समितिमा त्यसको जवाफ दिने बताएका छन् । 

माओवादीको साउन १६ देखि सुरु हुने स्थायी समिति बैठकमा अध्यक्ष दाहालमाथि लगाइएका आरोपमाथि छलफल हुने नेताहरूले बताएका छन् । स्थायी समिति बैठकमा समेत यो अन्तरद्वन्द्व थप चर्किने संकेत देखिएको छ ।

यही प्रसंगमा उपमहासचिव वर्षमान पुनले शर्माको अभिव्यक्तिप्रति संकेत गर्दै मुख्य नेतृत्वलाई कमजोर बनाउने कार्य कदापि स्वीकार्य नहुने बताएका छन् । माओवादी केन्द्रको फेसबुक पेजमा सोमबार सार्वजनिक भएको भिडियो अन्तर्वार्तामा उनले पार्टीभित्र आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भएको उल्लेख गर्दै शर्माको अभिव्यक्ति गलत भएको बताएका हुन् ।

‘विगतमा केन्द्रीय पदाधिकारी बैठकमा पनि हप्ता दिनजति यसै विषयमा बहस गर्‍यौं । पर्याप्त जनवाद हुने, छलफल हुने अनि फेरि आफ्ना कुरा बाहिर राख्ने हुँदा यो राम्रो होइन । यसले पार्टीभित्र अराजकता ल्याउँछ, यसले पार्टीमा अनावश्यक गुटबन्दी, ध्रुवीकरण गर्छ,’ उनले भनेका छन्, ‘पार्टी रूपान्तरण राम्रो हुँदा नेतृत्वलाई राम्रो भन्न सक्नुपर्छ । नेतृत्वले राम्रो गरेको बेलामा व्यक्तिगत आरोप र लाञ्छना लगाउने, नेतृत्वलाई कमजोर गराउने प्रवृत्ति कदापि स्विकार्य हुँदैन ।’

माओवादीको साउन १६ देखि हुने सुरु हुने स्थायी समिति बैठकले आगामी केन्द्रीय समितिको प्रस्ताव तयार गर्ने कार्यक्रम छ । स्थायी समितिमा पार्टीभित्र उत्पन्न अराजक गतिविधिबारे पनि छलफल हुने पुनको भनाइ छ । ‘यसबारे स्थायी समितिमा छलफल गर्छौं । आवेग र उत्तजेना होइन, आन्दोलनको मोडमा आउने प्रवृत्तिबारे छलफल, बहस र रूपान्तरण गरेर जानुपर्छ,’ उनको भनाइ छ, ‘यसका बाबजुद पनि रूपान्तरण हुन नचाहनेलाई कमिटीले कारबाहीको निर्णय गर्नेछ ।’

माओवादी हेडक्वार्टरले पार्टीभित्र शर्माले छुट्टै गुट चलाएको, पार्टी विभाजनका लागि तयारी गरेको आरोप लगाउँदै आएको शर्मा निकट नेताले बताए । त्यसलाई लक्षित गर्दै शर्माले सामाजिक सञ्जालमा पार्टीको विषयमा आफूले दिएको अभिव्यक्तिलाई समग्र पक्षको अध्ययन गर्न आग्रह गरेका छन् ।

‘पार्टीबारे भइरहेका टीका–टिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । आफ्नो अनुकूल व्याख्या गर्नुभन्दा समग्र पक्ष अध्ययन गर्न सबैमा आग्रह गर्दछु,’ उनले लेखेका छन् ।

यसअघि उपमहासचिव शर्माबारे खासै टिप्पणी नगरेका पुनले यसपटक पार्टीभित्र समानान्तर ढंगले गुटबन्दी गरेको उनीमाथि आरोप लगाएका छन् । ‘पार्टी नोकरशाही पद्धतिमा विश्वास गर्दैन । आफूखुसी जहाँ पायो, त्यही बोल्दिने । नेतृत्वबारे बोल्दिने, पार्टीबारे बोल्ने, सहयोद्धाबारे जे पनि टिप्पणी गरिदिने पार्टीको नीति, विधिभन्दा बाहिर गएर । पार्टीको स्वीकृत कार्यदिशाविपरीत आफूखुसी कुरा गर्दै जाने प्रवृत्ति देखिन्छ,’ पुनको भनाइ छ, ‘पार्टीलाई कमजोर बनाउने ढंगले गुटबन्दीहरू, सामानान्तर ढंगले काम गर्ने प्रवृत्तिलाई त पार्टीले बेलाबेला निरुत्साहित गर्दै आएको छ । यस्तो प्रवृत्ति निरुत्साहित गर्नैपर्छ ।’

उनले अध्यक्ष दाहालले सरकार र राजनीतिक अभियान सफलतापूर्वक अघि बढाएपछि पार्टीभित्र र बाहिरबाट प्रहार भइरहेको बताए । ‘नेतृत्व सफल हुँदा अर्को कोणबाट प्रहार हुने विचलन देखिइरहेको छ,’ उनको भनाइ छ ।

उपमहासचिवद्वय पुन र शर्मा २०८१ असोजमा भएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा एक ठाउँमा उभिएका थिए । त्यसबेला उनीहरूले आफूलाई मिलाएको गुनासो गर्दै दुई नेताबीच विवाद नभएको बताएका थिए । पछिल्लो समय उपमहासचिव पुन अध्यक्ष दाहालका अघोषित ‘प्रमुख सल्लाहकार’का रूपमा काम गरिरहेका छन् भने अर्का महासचिव शर्माले सार्वजनिक रूपमा अध्यक्षविरुद्ध आरोप लगाउँदै आएका छन् ।

२०८१ साउनमा भएको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले १४ पृष्ठ लामो मत राख्दै दाहालको पार्टीको प्रणाली लोकतान्त्रिक नभएको, नेतृत्व हस्तान्तरण हुनुपर्ने, वैचारिक नीति स्पष्ट हुनुपर्ने माग गरेका थिए । उनको मतलाई सातै प्रदेशमा ‘परामर्श बैठक’ गरी छलफल भएको थियो । त्यसलाई माओवादीले आन्तरिक लोकतन्त्रको उच्चतम अभ्यास भनेको थियो ।

त्यसपछि दाहाल र शर्माबीच सम्बन्ध सुधार हुन सकेन । गत पुसमा भएको केन्द्रीय समितिले उनलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको थियो । मध्यपहाडी राजमार्ग केन्द्रित राजमार्ग अभियान रुकुम पश्चिम पुगेका बेला जेठको पहिलो साता दाहालले ‘केही व्यक्तिले बाटो बिराउँदैमा पार्टीले बाटो नबिराउने’ बताएका थिए । आफ्नो जिल्लामा युद्धमा सँगै भएका व्यक्तिले पार्टी छाडेको प्रसंगमा कुनै व्यक्तिले पार्टी छाडेर गए पनि फरक नपर्ने बताएपछि उपमहासचिव शर्मा बिच्किएका थिए । दाहाललाई रुकुम पश्चिमबाट बिदाइ गर्ने बेला शर्माले सडकमै ‘यो अभिव्यक्तिको समीक्षा हुनुपर्ने’ बताएका थिए । त्यसपछि दाहाल र शर्माबीच सार्वजनिक मञ्चमै सवालजवाफ चल्दै आएको छ ।

अध्यक्ष दाहालले साउन ७ मा पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उपमहासचिव शर्माले सिंगौरी खेल्दै हिँडेको उल्लेख गर्दै त्यसप्रति उदार हुनु आफ्नो कमजोरी भएको बताएका थिए । ‘भिन्न मतप्रति अलि उदार हुने मेरो कमजोरी हो । मैले कसैलाई कारबाही गरिनँ,’ दाहालले भनेका थिए, ‘मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा कसैलाई पनि पार्टीबाट निकालेको छैन । कतिपय साथीहरूलाई बस्ने ठाउँ दिँदैन भन्नु पनि सत्य होइन । मैले पर्याप्त छलफल गर्ने वातावरण दिएको छु ।’ दाहालले शर्माप्रति संकेत गर्दै अगाडि भने, ‘अहिले पनि केही साथीहरूले अलिअलि सिंगौरी खेल्न पाएजस्तो गर्नुभएको छ । उहाँहरूलाई प्रशस्त सिंगौरी खेल्न दिएको छु । डेढ महिना परामर्श भन्दै देशभरि लिएर हिँडें, योभन्दा गर्ने के हो जनवादको अभ्यास ?’

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द वक्ता रहेको कार्यक्रममा माओवादीका उपमहासचिव शर्माले साउन ७ मा मनमोहन अधिकारीबाहेक कम्युनिस्ट आन्दोलनको सम्पूर्ण नेतृत्व भ्रष्ट भएको बताएका थिए । ‘मुख्य नेतृत्व भ्रष्टाचार नगर्ने भयो भने ६० प्रतिशत भ्रष्टाचार त्यसै घट्छ । मनमोहन अधिकारीबाहेक अरु बाँकीबाट असुली धन्दा भएकै छ । यो आरोप होइन,’ उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको बताएका थिए ।

‘नेतृत्वको प्रशंसा गर्नेलाई आशीर्वाद दिने प्रवृत्ति मौलायो । कम्युनिस्ट पार्टीभित्र आलोचना सुन्न पनि सकिँदैन । हामीले पार्टीमा जनवादी केन्द्रीयताको कुरा गरेका छौं । जनवाद समाप्त भयो,’ उनले भनेका थिए, ‘केन्द्रीयता नोकरशाहीमा बदलियो । नोकरशाहीमा मात्र सीमित भएन, सामन्ती निरंकुशतामा नै बदलियो ।’

नेपालका कम्युनिस्ट पार्टीहरू सामन्तमा रूपान्तरण भएको उनको भनाइ थियो । ‘कम्युनिस्ट पार्टी सामन्ती झुण्डजस्ता बन्न पुगे,’ शर्माले थपे, ‘मैले व्यक्ति विशेषलाई दोष लगाएको होइन । यो प्रवृत्ति हो ।’

अर्का उपमहासचिव हरिबोल गजुरेलले पार्टीभित्रको अन्तरसंघर्ष सतहमा आइसकेको बताए । ‘अन्तरसंघर्ष सार्वजनिक रूपमै देखिएको छ,’ उनले भने, जनार्दनजीले सार्वजनिक रूपमा नेतृत्वप्रति प्रश्न उठाउनु भयो । यो गम्भीर कुरा हो,’ उनले भने, ‘स्थायी समितिमा यसबारे छलफल हुनुपर्छ ।’

गंगा

Link copied successfully