रन्जिता श्रेष्ठले शिव बास्तोलालाई दिइन् नाउपाको कार्यवाहक अध्यक्षको जिम्मा

श्रावण ११, २०८२

कान्तिपुर संवाददाता

Ranjita Shrestha handed over Shiv Bastola as acting president of NAUPA

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टी(नाउपा) की अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीको कार्यवाहकको अध्यक्षको जिम्मा शिव बास्तोलालाई दिएकी छिन् । श्रेष्ठले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै पार्टीकै वरिष्ठ नेता रहेका बास्तोलालाई अध्यक्षको जिम्मा दिएकी हुन् । 

अस्वस्थताको कारण पार्टीको गतिविधिहरूमा पूर्ण रूपमा सक्रिय हुन असमर्थ रहेको उनले बताएकी छिन् । 'यस विषम परिस्थितिमा, हाम्रो नागरिक उन्मुक्ति पार्टीको विधान २०७८ को धारा २० को उपधारा (९) बमोजिम, तपाई यस पार्टीको वरिष्ठ नेता शिव बास्तोलालाई मेरो अनुपस्थितिमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नका लागि यो पत्रमार्फत तोकिएको छ,' उनले पत्रमा भनेकी छिन् । 

आफ्नो स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्म यो जिम्मेवारी निरन्तर रहने उनले बताएकी छिन् । 

शुक्रबार बहुमत केन्द्रीय सदस्यले अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समितिको बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिएका थिए । शुक्रबार नाउपाका केन्द्रीय कमिटीका १२ जना सदस्यहरूले विधानको दफा ४१ को उपदफा ६ अनुसार पार्टी अध्यक्ष श्रेष्ठ चौधरीलाई केन्द्रीय समितिको बैठक बोलाउन अल्टिमेटम दिएको उल्लेख गरेका थिए । नागरिक उन्मुक्तिमा रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष छिन् भने अन्य २० जना केन्द्रीय सदस्य छन् ।

पटक-पटक आग्रह गर्दा पनि बैठक नबोलाएको भन्दै उनीहरुले २४ घण्टाभित्र बैठक नबोलाएमा साउन ११ गते आइतबार पार्टी केन्द्रीय समितिको बैठक गरेर आवश्यक निर्णय गर्ने चेतावनी पनि अध्यक्ष श्रेष्ठ चौधरीलाई दिएका थिए ।

Ranjita Shrestha handed over Shiv Bastola as acting president of NAUPA

कान्तिपुर संवाददाता

Link copied successfully