What you should know
काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेमा वैचारिक र राजनीतिक ठूलो संकट देखिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशका ठूला राजनीतिक दलहरूमा वैचारिक र राजनीतिक संकट रहेको उल्लेख गरे। कांग्रेसमा विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरूले खेलेको भूमिका र गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको अभाव देखिएको बताए।
एमालेमा पनि वैचारिक, राजनीतिक र नेतृत्व संकट देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले उक्त पार्टी मदन भण्डारी र जनताको बहुदलीय जनवादको आधारमा टिकेको भए पनि पछिल्लो समय त्यसको प्रवर्तक र प्रस्तावक को भन्ने विषयमै विवाद देखिएको बताए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई मदन भण्डारी र जनताको बहुदलीय जनवादको साँचो उत्तराधिकारीका रूपमा प्रस्तुत गर्न थालेकोसमेत उनले बताए ।
अध्यक्ष दाहालले भने, 'अहिले देशका ठूला भनिएका राजनीतिक दलहरूमा निकै ठूलो वैचारिक र राजनीतिक संकट देखिएको छ। कांग्रेसमा विश्वेश्वरप्रसाद कोइराला र पछिल्लो पटक गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरूको जस्तो भूमिका खेल्ने नेतृत्वको अभाव देखिएको छ। एमालेभित्र त झन् ठूलो संकट छ। अहिले त जनताको बहुदलीय जनवादको साँचो उत्तराधिकारी को हो भन्ने विवादसमेत देखिएको छ। मदन भण्डारीसँग सम्बन्धित एक कार्यक्रममा प्रधानमन्त्रीले उनमाथि अनेक आरोप लगाउनु, त्यसपछि पूर्वराष्ट्रपतिले आफू नै साँचो उत्तराधिकारी हुँ भन्ने ढंगले प्रस्तुत हुनु, यी सबै कुरा त्यो पार्टीभित्रको गम्भीर संकटको संकेत हुन्।'
उनले अहिले वैचारिक, राजनीतिक संकट नभएको एक मात्र दल माओवादी केन्द्र भएको दाबी गरे ।
