भाइले दाजुको मृत्युबारे फेसबुकमा पोस्ट गरेपछि खुल्यो झुटो किरियाको रहस्य
What you should know
काठमाडौँ — काठमाडौंमा डेरा गरी बस्दै आएका डम्बरबहादुर सार्की बिहीबार बेलुकी अचानक मोरङको केराबारी पुगे । मलिन अनुहारसहित घर पुगेका उनले हतारहतार कपाल खौरिने व्यक्ति बोलाए । माइला छोरा सुजनको निधन भएको भन्दै काजकिरिया सुरु गरे ।
बाबु किरियामा बसेपछि साइँला छोरा सुमितले दाजु सुजनको मृत्यु भएको भन्दै शुक्रबार सामाजिक सञ्जालमा तस्बिरसहित श्रद्धाञ्जली लेखे । श्रद्धाञ्जली पोस्ट भएको केहीबेरमै काठमाडौंको वीर अस्पतालबाट एकजना कुरुवाले फोन गरे- ‘तिम्रो दाजु त जिउँदै छ ! फेसबुकमा किन मरेको भनी पोस्ट गरेको ?’
खबर पाउनेबित्तिकै उनी झसंग भए । दाजु मरिसकेको भनेर बाबु किरिया बस्नु अनि अस्पतालबाट जिउँदै छ भन्ने खबर पाउनु ! उनी छाँगाबाट खसेजस्तै भए ।
किरिया बसेका बाबुतिर हेरे । रिसले चुर हुँदै दाजु जिँउदै रहेको खबर सुनाए । बाबु तर्किन खोजे । सुरुमा त आफैं अन्तिम संस्कार गरेर आएको भन्ने दाबी गरे । पछि छरछिमेक हुँदै प्रहरीसम्म खबर पुगेपछि सबै कुरा खुल्दै गयो ।
केराबारी गाउँपालिका–८ का वडाध्यक्ष कमल बस्नेतलगायत जनप्रतिनिधिसहित प्रहरीले केरकार गर्दा डम्बरले झुटो बोलेर छोराको किरिया बसेको थाहा भयो ।
'हामी जाँदा उनी किरिया बसिरहेका थिए, केरकार गरेर कुरा खुलेपछि सेतोवस्त्र खोल्न लगायौं,' इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी सहायक निरीक्षक खगिन्द्र तोलाङ्गेले भने, 'सम्झाइबुझाइ उनलाई पनि काठमाडौं पठाउने सहमति गरेका थियौं । अहिले उनी फरार छन् ।'
सुजन अहिले वीर अस्पतालको आईसीयूमा छन् ।
सोमबार बसभित्रै विष सेवन गरेका सुजनलाई तत्काल अर्का स्टाफले मनमोहन अस्पतालमा लगे पनि तर त्यहाँ उपचार सम्भव नभएपछि वीर अस्पतालमा पुर्याइएको थियो ।
सुजनको मोबाइलमार्फत सम्पर्क गरेर बाबु डम्बरलाई तिनै स्टाफले छोरो अस्पतालमा भएको जानकारी दिए । त्यसपछि उनी छोरा भेट्न मंगलबार वीर अस्पताल पुगे । तर अचेत छोरालाई अस्पतालमै छाडेर उनी बिहीबार केराबारी लागे, छोरा मरेको र दाहसंस्कार गरिसकेको भन्दै काजकिरिया सुरु गरे ।
'अस्पतालका कर्मचारीले छोरा मरिसकेको र पोस्टमार्टमका लागि कालो प्लास्टिक किनेर ल्याउन भनेपछि आफूले प्लास्टिक दिएको, त्यसपछि शवलाई लगेर पशुपतिमा दाहसंस्कार गरेको' भनी घरमा जानकारी दिएका थिए । तर जिउँदै भएको थाहा भएपछि उपचारका लागि आर्थिक रकम नहुँदा आफूले त्यसो गरेको भन्ने जवाफ दिएको वडाध्यक्ष बस्नेत बताउँछन् ।
‘घरमा सबैलाई छोरा मरिसकेको भनेर काजकिरिया नै सुरु गरिसकेका रहेछन् । भोलिपल्ट साइँला छोराको फेसबुकबाट श्रद्धाञ्जली पोस्ट गरेपछि मात्र अस्पतालमा कुरुवा बसेका साथीले जिउँदै भएको जानकारी दिएका रहेछन्,' बस्नेतले कान्तिपुरसँग भने ।
डम्बर भने शुक्रबार रातिदेखि सम्पर्कमा छैनन् । ‘हिजो सम्झाइबुझाइ गरेर काठमाडौं जानु भनेका थियौं । तर राति घरमा झगडा गरेछन् । आज बिहान (शनिबार) बुझ्न जाँदा राति नै घर छाडेर भागेको परिवारले जानकारी दिए,’ वडासदस्य दिलबहादुर राईले भने । काठमाडौं पठाउनका लागि सबैले चन्दासमेत संकलन गरेको उनको भनाइ छ । सुजनकी बहिनी र आमा काठमाडौंका लागि हिँडिसकेका छन् ।
बहिनी सुनिताले पनि बुबाले त्यस्तो किन गरेका हुन् भन्ने थाहा नभएको बताइन् । कान्तिपुरसँग कुरा गर्दै उनले भनिन्, ‘एक्कासि बुबा दाइ खसेको भन्दै घरमा आउनु भो र किरिया गर्न थाल्नु भो । दाजु जिउँदै हुनुहुन्छ भन्ने हिजो मात्रै थाहा पायौं । त्यसपछि गाउँले सबै मिलेर केही रकम उठाइदिएका छन् । घर हेर्ने मान्छे नहुँदा साइँला दाजु घरमै हुनुहुन्छ । यहाँ म र आमा आयौं ।’
सुजन र बुबाबीच नागरिकता बनाउने विषयमा पहिलेदेखि झगडा हुँदै आएको उनले बताइन् । ‘तर जिउँदै दाजुलाई मरिसकेको भनेर किरिया गर्नेसम्मको रिस बुबाले पाल्नुभएको रहेछ । हामीले त उहाँको कुरा पत्यायौं । तर दाइ जिउँदै भन्ने थाहा पाएपछि बुबाको व्यवहारले त छाँगाबाट खसेजस्तै भएका छौं ।’
घटनाबारे सुरुमा स्थानीय पत्रकार किसान शाहीले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । 'जिउँदो छोरालाई मरेको भनी किन काजकिरिया गरेको भन्दा उल्टै मलाई ब्ल्याकमेलिङ गर्न नआओ भन्दै थर्काए,' शाही भन्छन्, 'मलाई उल्लु नबनाओ, छोराको शवलाई आफैंले दाहसंस्कार गरेको भन्ने दाबी छाडेनन् । पछि प्रहरी आएर केरकार गरेपछि मात्र घटनाबारे बताए । विष खाएर आईसीयूमा भएको बिरामी बाँच्दैन जस्तो लागेको र आफूसँग उपचार गर्ने खर्च पनि नभएकाले छोरालाई अस्पतालमै छाडेर घर आएको भन्थे ।’
वडाध्यक्ष बस्नेतका अनुसार यसअघि नागरिकता बनाइदिने विषयमा बाबुछोराबीच धेरैपटक झगडा हुने गरेको थियो । गत माघमा पनि सुजनले नागरिकताका लागि बुबासँग अनुरोध गरेका थिए । तर, नमानेपछि झगडा गरेर काठमाडौं आएका थिए । त्यसपछि उनले धादिङ–सीतापाइला रुटमा चल्ने बसको सहचालकका रुपमा काम गर्न थाले । केही समयपछि बाबु पनि काठमाडौं आए । तर दुवैको बोलचाल नभएका कारण फरक–फरक ठाउँमा डेरा लिएका थिए ।
सुनसरीको इनरुवा नगरपालिका–१ का सार्की परिवार हाल मोरङको केराबारी गाउँपालिका–८ मा बस्दै आएका छन् ।
