सुक्खाग्रस्त मधेशमा तत्काल ५ सय डिप बोरिङ जोड्ने प्रधानमन्त्रीको घोषणा

‘पानी बिना छटपटा रहल छि, केना पोषबै बालबच्चा के ? एकोगो किसान नई जितै, अमकिऐ बेर खत्म भजेतै’ (पानी नहुँदा छटपटी भएको छ, बालबच्चा कसरी पाल्ने ? एउटा किसान पनि बाँच्ने स्थिति छैन, यसै वर्ष सबै खत्तम हुन्छ )

श्रावण १०, २०८२

सन्तोष सिंह

Prime Minister's announcement to immediately connect 500 deep borings in drought-stricken Madhesh

What you should know

महोत्तरी — प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन र दीर्घकालीन योजना बनाएर मधेशको सुक्खा संकटलाई समाधान गरिने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले खानेपानी र सिँचाइको संकट झेलिरहेको मधेशमा तत्काल ५ सय डिप बोरिङ जडान गर्ने आश्वासन पनि उनले दिएका छन् । 

सुक्खाग्रस्त मधेश प्रदेशको शुक्रबार निरीक्षण गरेका प्रधानमन्त्री ओलीले सरकारका सबै निकाय तथा गैरसरकारी संस्थालाई सरकारको काममा साथ–सहयोग गर्न आग्रहसमेत गरे ।

‘सर्लाही र महोत्तरीमा रोपाइँ नभएका खाली जग्गाका फाँटहरू नजिकैबाट देखें,’ उनले भने, ‘मधेशमा रोपाइँ नै भएको छैन । खेत सुक्खा छ । पोखरीमा पानी सुकिसकेको छ ।’ उनले हेलिकोप्टरबाट मधेशका सुक्खा फाँट अवलोकन गरेका थिए । प्रधानमन्त्री ओलीले दीर्घकालीन योजनाअनुरूप चुरे क्षेत्रमा तालतलैया र पोखरी बनाएर पानी ‘रिचार्ज’ गरी जमिन सुक्न नदिइने पनि बताए । 

काठमाडौंबाट शुक्रबार बिहान महोत्तरी आउनेक्रममा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका थिए, ‘तराईमा सुक्खाग्रस्त क्षेत्रको अवस्था हेर्दै छु । केहीबेरमा यहाँका किसानसँग भेट हुँदै छ । किसानको राहतका लागि सरकारले केही दिनअघि नै विशेष निर्णय गरेको छ ।’ 

महोत्तरीको मटिहानीस्थित बिग्ही खोलामा पक्की पुल उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीसमक्ष स्थानीय किसानले भने आफ्ना समस्या राख्न नपाएको गुनासो गरे । भीडबाट एक महिलाले भनिन्, ‘पानी बिना छटपटा रहल छि । केना पोषबै बालबच्चा के ? एकोगो किसान नई जितै, अमकिऐ बेर खत्म भजेतै ।’

उनले पानी नहुँदा बालबच्चा कसरी पाल्ने भन्ने छटपटी भएको र एउटा किसान पनि बाँच्ने स्थिति नहुँदा यसै वर्ष सबै खत्तम हुने चिन्ता व्यक्त गरेकी हुन् । तर ती महिलाको विलाप नबुझेपछि प्रधानमन्त्रीलाई सँगै रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मैथिलीमै जवाफ फर्काएका थिए, ‘प्रधानमन्त्री जी मधेशके संकटग्रस्त घोषणा केने है..।’ प्रधानमन्त्रीजीले मधेशलाई संकटग्रस्त घोषणा गरिसकेको भण्डारीको आशय थियो । 

खानेपानी तथा सिँचाइ अभावले सुक्खाग्रस्त भएका कारण नै मधेशलाई मन्त्रिपरिषद्बाट संकटग्रस्त घोषणा गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तत्कालका लागि केही उपाय अवलम्बन गर्ने नीति लिएको सुनाए । ‘कोशीसँग नजिकै रहेको सप्तरीमा सुक्खाको कम प्रभाव भएको र मधेशका अन्य ७ जिल्ला समस्याग्रस्त बनेको पाएँ,’ उनले भने । 

Prime Minister's announcement to immediately connect 500 deep borings in drought-stricken Madhesh

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले वर्षा नभई रोपाइँ प्रभावित भएपछि प्रदेशलाई २६ असारमा प्रदेश सरकारले सुक्खाग्रस्त घोषणा गरेको जानकारी दिए । 

उनले बारा र पर्सामा पिउने पानीको समेत अभाव भएको सुनाए । ‘पानीको चरम अभाव छ । बोरिङसमेत सुकेका छन्,’ मुख्यमन्त्री सिंहले भने, ‘गैरसरकारी संस्थाहरूलाई सुक्खासम्बन्धी कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छौं । वारुणयन्त्र प्रयोग गरेर बारा र पर्सामा सेनाको सहयोगमा पिउनेपानी वितरण भइरहेको छ ।’ प्रदेश सरकारले सम्पूर्ण बजेट खर्च गरे पनि सुक्खा र पानीको समस्या समाधान नहुने भएकाले संघीय सरकारको सहयोग आवश्यक रहेको मुख्यमन्त्री सिंहले बताए । 

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले पानीको समस्याबारे उल्लेख गर्दै आगामी दिनमा हुन सक्ने भोकमरीको समस्या समाधान गर्नेतर्फ गम्भीर हुन आग्रह गरे । ‘कहींकतै रोपिएको धान पनि खडेरीले सुक्न थालेको छ । पानी अभावमा जीवजन्तुसमेत समस्यामा छन् । मधेशको पूर्वमा रहेको कोशी र पश्चिमको गण्डकबाट पानी ल्याउने व्यवस्था गर्नुपर्छ,’ उनले भने । 

Prime Minister's announcement to immediately connect 500 deep borings in drought-stricken Madhesh

मटिहानी र जनकपुर जोड्ने बिग्ही पुल उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले हुलाकी सडक निर्माणले मधेशको दक्षिणी भाग चलायमान बनेको बताए । उनले दुई ठूला दल मिलेर सरकार बनेपछि मुलुकको अर्थतन्त्रमा सुधार भएको दाबी गरेका छन् ।

‘पहिले वर्ष दिनमा ९/१० वटा पुल तथा सडक बन्थे । गत एक वर्षमा मात्रै ९ सय ५० पुल बनेका छन् । जिल्लाहरू सडकले जोडिएका छन्,’ उनले भने, ‘सडक संरचना ध्वस्त थियो । अहिले १५ हजार किलोमिटर सडक कालोपत्र भएको छ ।’

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully