‘कुलिङ अफ पिरियड’ मा प्रधानमन्त्री ओलीलाई नै छानबिनको दायरामा ल्याउनु पर्ने दाहालको माग

उनले यो प्रकरणको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने बताए ।

श्रावण १०, २०८२

कान्तिपुर संवाददाता

Dahal's demand that Prime Minister Oli should be brought under investigation during the 'cooling off period'

What you should know

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय निजामती ऐनमा ‘कुलिङ अफ पिरियड’ बारे भएको छेडखानी पहिले नै प्रधानमन्त्रीकै मिलेमतोमा भएको हुनसक्ने आशङ्का भए पनि त्यसबेला पर्याप्त आधार नरहेको तर अहिले राष्ट्रिय सभामा नेकपा (एमाले) का सांसदहरूको गतिविधिबाट प्रधानमन्त्रीको संलग्नताको आधार पुष्टि भएको जिकिर गरे ।

उनले यो प्रकरणको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने बताए । उनले नेकपा (एमाले) को नेतृत्वकै कारण ‘कुलिङ अफ पिरियड’ मा छेडखानी भएको दाबी गरे ।

अध्यक्ष दाहालले भने, 'तपाईँहरूले देख्नुभएको छ, अहिले जालझेल, ठगी, भ्रष्टाचार, बेइमानी सरकारको परिभाषा जस्तो भएको छ। अहिलेको सरकार भनेकै त्यस्तै हो। संघीय निजामती ऐनमा ‘कुलिङ अफ पिरियड’ दुई वर्ष सर्वसम्मत पारित भएको थियो। सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रिय सभामा संशोधन गरेर अब त्यो हुँदैन भन्न थाल्यो। अन्तिममा एमालेले ‘म्याउँ’ गर्‍यो। यसको नियत नै षड्यन्त्रपूर्ण रहेछ।'

उनले संसदीय छानबिन समितिलाई पनि प्रधानमन्त्रीलाई दायरामा पार्न माग गरिएको बताए । उनले भने, 'शङ्काको सुई पहिल्यै प्रधानमन्त्रीतिर सोझिएको थियो। तर त्यस बेला ठोस आधार थिएन। अहिले एमाले सांसदहरूको संशोधन र गतिविधिबाट यो षड्यन्त्र नेकपा (एमाले) र यसको नेतृत्वकै नियतका कारण भएको पुष्टि भएको छ। छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पर्नुपर्छ भन्ने हाम्रो माग हो। हाम्रा माननीय सदस्यहरूले सदनमा पनि यो कुरा उठाउनुभएको छ।'

अध्यक्ष दाहालले हालको सरकार जालझेल, ठगी, बेइमानी र भ्रष्टाचारको पर्याय भएको आरोप पनि लगाए ।

कान्तिपुर

Link copied successfully