कांग्रेसलाई एमालेले भन्यो: संशोधन राख्न सांसदहरू स्वतन्त्र छन्

राष्ट्रिय सभामा बहस भइरहेको निजामती विधेयकमा कुलिङ अफ पिरियड हटाउने विषयमा एमाले सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका छन्।

श्रावण ९, २०८२

कान्तिपुर संवाददाता

UML to Congress: MPs are free to move amendments

काठमाडौँ — सत्तारुढ दल नेकपा (एमाले) ले सत्ता साझेदार नेपाली कांग्रेसलाई संघीय निजामती विधेयकबारे आफ्ना सांसदहरूको संशोधन प्रस्ताव स्वतन्त्र रूपमा आएको बताएको छ।

राष्ट्रिय सभामा रहेको निजामती विधेयकमा कुलिङ अफ पिरियड हटाउनेबारे एमाले सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका छन्। यसबारे संसदमा बहस भइरहेको छ। कांग्रेसको जिज्ञासामा आफ्ना सांसदहरूले संशोधन हाल्न स्वतन्त्र रहेको कुरा एमालेले बताएको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले कांग्रेसले कुलिङ अफ पिरियडमा एमाले सांसदहरूको संशोधनबारे बुझ्दा एमालेले संशोधनका लागि सांसदहरू स्वतन्त्र रहेको र त्यहीअनुसार संशोधन आएको जानकारी दिएका हुन्।

सरकारले ल्याएको भूमि ऐनमा पनि कांग्रेसका केही सांसदहरूले संशोधन राखेकाले यसलाई सामान्य रूपमा बुझ्नुपर्ने उनले बताए।

उनले भने, ‘उहाँहरूको समग्र पार्टीको तर्फबाट कुरा के आएको छ भने सांसदहरूले आफ्नो ढंगले संशोधन प्रस्ताव राखे। सांसदहरू स्वतन्त्र हुन्छन्। आफ्नो संशोधनहरू राख्न स्वतन्त्र हुन्छन्। भूमि ऐनमा हाम्रा १०/१२ जना सांसदहरूले राख्नुभयो। तर त्यो सरकारबाटै आएको थियो। सरकारबाटै आएको विधेयकमा पनि राख्ने प्रचलन भएकाले राखिएको हो भन्ने छ। छलफल गरेर अगाडि बढ्ने विषय छ।’

कुलिङ अफ पिरियडबारे थप छलफल गरेर टुंग्याइने पनि प्रमुख सचेतक घिमिरेले बताए।

कान्तिपुर

Link copied successfully