काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानताहरू रहेका उल्लेख गरेकी छिन् । आज राजधानीमा आयोजित ‘थाई फ्लेभस् ‘इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्यान्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा सांस्कृतिकलगायत धेरै क्षेत्रमा समानता रहेको बताएकी हुन् ।
मन्त्री राणाले दुई देशका बीचमा पाहुनाहरूको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरूको सम्मान, सहिष्णुता तथा पर्यटन र यसमार्फत प्राप्त गर्न सकिने समिृद्धिलगायत समानताहरू रहेका चर्चा गरिन् ।
पर्यटन दुई देशका बीचको साझा समृद्धि एवं सहकार्यको क्षेत्र हुनसक्ने स्पष्ट गर्दै मन्त्री राणाले नेपालमा पनि पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन एवं हस्पिटालिटीका क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ताहरूलाई आग्रह गरिन् । नेपाल उद्यमशीलताका क्षेत्रमा अघि बढिरहेको र हस्तकलालगायत कैयौँ वस्तुको उत्पादन विश्वबजारको आकर्षण पनि बनेको भन्दै उहाँले नेपालमा लगानी गर्न थाई उद्योगी व्यवसायीहरूलाई आग्रह गरेकी हुन् ।
नेपाल र थाइल्यान्ड कहिल्यै पनि कुनै उपनिवेशमा नरहेका स्वतन्त्र र स्वाधीन राष्ट्र रहेका प्रसङ्ग उल्लेख गर्दै मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै थाइल्यान्डको भ्रमण गरेको र त्यस क्रममा सरकारी तथा निजी क्षेत्रमा सहमति र समझदारी भएका स्मरण गरिन् ।
