कर्माचार्य सही विचारका आधारमा कम्युनिष्ट आन्दोलनको पक्षमा हुनुहुन्थ्यो : अध्यक्ष दाहाल

कर्माचार्यको शताब्दीमा आयोजित कार्यक्रममा जनवादी संगीतका १३ हस्तीलाई सम्मान दिइयो, सहभागी कलाकारले सांगीतिक प्रस्तुति दिए ।

श्रावण ९, २०८२

रासस

Karmacharya was in favor of the communist movement based on the right ideas: President Dahal

What you should know

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कमार्चार्यले जहिले पनि सही विचारका आधारमा कम्युनिष्ट आन्दोलनको पक्षपोषण गर्दै आएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य कर्माचार्यको जन्म शताब्दीका अवसरमा शुक्रबार यहाँ आयोजित सांगीतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कर्माचार्य अत्यन्तै सरल, निष्ठावान, क्रान्तिकारी विचारप्रति अविचलित रुपमा अघि बढ्ने नेता रहेको बताए ।

कर्मचार्यको संरक्षकत्वमा आफूले झण्डै छ वर्ष बिताएको स्मरण गर्दै अध्यक्ष दाहालले कर्मचार्यकै उत्प्रेरणामा जनयुद्धको सुरुआत गरिएको बताए । 'कर्माचार्यले मलाई जनयुद्धको नेतृत्व गर्नुपर्छ भनेर उत्प्रेरित गरिरहनुहुन्थ्यो', दाहालले भने, 'जनयुद्धको तयारीबारेमा उहाँसँग मेरो बारम्बार सल्लाह हुन्थ्यो ।' कर्माचार्यबाट वैचारिक निष्ठा, क्रान्तिको निरन्तरता, इमान्दारिता, सरलताजस्ता गुण सदैव अनुशरण गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष एवं माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले श्रमिक, किसान र उत्पीडित वर्गको अधिकारका लागि कर्माचार्यले प्रारम्भिक सङ्घर्षको दिशा तय गरेको स्मरण गर्दै उनको नेतृत्व र दृष्टिकोणले नेपालमा समान्तवादविरुद्ध चेतनाको बिउ रोपेको बताए ।

कार्यक्रममा जनवादी र प्रगतिशील संगीतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका १३ जनालाई सम्मान गरिएको थियो । जनसंगीतका हस्तीहरु रायन, जीवन शर्मा, श्याम तमोट, शरद पौडेल, रामकृष्ण दुवाल, कुन्ता शर्मा, नरेन्द्र रेग्मी र हरिदेव ठाकुरलाई सम्मान प्रदान गरिएको थियो । यस्तै सहिद कृष्णसेन इच्छुक, चुन गुरुङ, हरि दर्शनधारी, खुशीराम पाख्रिन र जेबी टुहुरेलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष एवं पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपाल, नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका संस्थापक नारायणकाजी श्रेष्ठलगायत कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए । त्यस अवसरमा जीवन शर्मा, टेक बलम्पाकी, झंकार बुढामगरलगायत कलाकारले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए ।

Karmacharya was in favor of the communist movement based on the right ideas: President Dahal

रासस

Link copied successfully