मधेशका खेत सुक्खा र पोखरीको पानी सुकेको देखेँ : प्रधानमन्त्री ओली

श्रावण ९, २०८२

सन्तोष सिंह

I saw the fields of Madhesh dry and the water in the pond dried up: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशको सुक्खा संकट दीर्घकालीन र तत्कालीन गरी दुई उपायबाट समाधान गरिने बताएका छन् । मन्त्रिपरिषद्को बैठकले मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपछि प्रधानमन्त्रीओली आज बिहानैदेखि महोत्तरी र बाराको भ्रमणमा छन् । उनले सो क्षेत्रको हवाई अनुगमन तथा निरीक्षण पनि गरेका छन् । 

'मधेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर मात्रै केही हुँदैन,' प्रधानमन्त्री ओलीले भने,‘मधेशमा पानी र सिँचाइको समस्या समाधान गर्न दीर्घकालीन योजनन चुरेमा तालतलैया तथा पोखरी बनाएर पानी रिचार्ज गरी जमिन सुक्न नदिन अनुकूल वातावरण बनाउने र तत्कालका लागि ५ सय वटा डिप बोरिङ जडान गरिन्छ ।'

सरकारका सबै निकाय तथा गैरसरकारी संघसंस्थालाई पनि सरकारको काममा साथ सहयोगका लागि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । 'महोत्तरीको मटिहानीमा पुल र प्रसूति गृह उद्घाटन गर्न शुक्रबार आउँदा सर्लाही र महोत्तरीमा रोपाइँ नभएका खाली जग्गाका फाँट नजिकैबाट देखेको छु,' प्रधानमन्त्री ओलीले भने,'मधेशमा रोपाइँ नै भएको छैन । खेत सुक्खा छन् । पोखरीहरूमा पानी सुकिसकेको छ ।' 

कोशीसँग नजिकै रहेको सप्तरीमा सुक्खाको कम प्रभाव भएको र मधेश प्रदेशका ७ जिल्ला समस्याग्रस्त बनेको ओलीले बताए ।  

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully