म अहिले पनि एमालेमै आबद्ध छु, कसैले चाहँदैमा मेरो सदस्यता खान सक्दैन : पूर्वराष्ट्रपति भण्डारी

श्रावण ९, २०८२

कान्तिपुर संवाददाता

I am still affiliated with UML, no one can take my membership if they want: Former President Bhandari

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि एमालेमै रहेको बताएकी छिन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफू एमाले सदस्य नै रहेको बताएकी हुन् । 

'मैले एमालेमा सदस्यता नवीकरण गरिसकेको छु । म अहिले पनि एमालेमै आबद्ध छु,' उनले भनिन् । 

पछिल्लो समय सदस्यता नवीकरण गरेर पार्टीमा पुन: जोडिएको प्रसंग सुनाउँदै पार्टीमा आफ्नो ठूलो योगदान रहेको भण्डारीले बताइन् । 'मैले पार्टी सदस्यता लिएको ४५ वर्ष भयो ।...कसैलाई लाग्दैमा मेरो सदस्यता खान सक्दैन,' उनले भनिन् ।

तत्कालीन समय कोशी सगरमाथा इन्चार्ज रहेका मदन भण्डारीसँग आफूले पार्टी सदस्यताको शपथ लिएको पनि उनले सुनाइन् ।'जननेता मदन भण्डारीले समृद्ध नेपाल सुखी नेपाली कसरी बनाउन सकिन्छ भनेर जनताको बहुदलीय जनवाद कार्यक्रम ल्याउनुभाको थ्यो । हामीले त्यसको आदर्श मर्मअनुसार कार्यक्रम गर्ने हो,' उनले भनिन् । 

भण्डारीले एमालेमा आफ्नो पार्टी सदस्यता नवीकरण त्यसै विवादमा ल्याइएकोसमेत बताएकी छिन् । 'पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने कुनै कारण नै छैन,' उनले भनिन् ।

पार्टीका आन्तरिक मामिलाबारे पार्टीमै छलफल हुन सक्ने पनि उनले बताइन् । 

कान्तिपुर संवाददाता

Link copied successfully