काठमाडौँ — माओवादी सांसद जनार्दन शर्माले मधेशमा दशकौँदेखि अलपत्र पारिएका खानेपानी आयोजनाका कारण मरुभूमिकरण बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् ।
उनले मधेशवासीलाई खानेपानी, सिँचाइ र मल आपूर्तिको व्यवस्थापन तत्काल गर्न सरकारसँग माग गरेका छन्। सांसद शर्माले मधेशवासीले बोरिङ चलाएवापत आउने विद्युत् महशुलसमेत सरकारले तिर्नुपर्ने बताएका छन्।
उनले भने, ‘मधेशमा करिब तीन दशकदेखि सुरु भएका खानेपानी आयोजनाहरू अधुरा छन्। ती पूरा नभएका कारण पनि पानीको हाहाकार भएको छ। चुरे विनाशका कारणले पनि आज यो संकट उत्पन्न भएको छ। केही वर्षपछि यस्तै भयो भने मरुभूमि हुने भन्ने वैज्ञानिकहरूको भनाइ छ । किसानहरूले खानेपानी, सिँचाइ र मल ल्याउन पनि नपाउने ? सीमा नाकाबाट मल ल्याउन दिइयोस्।’
उनले चुरे क्षेत्रको विनाश बढ्दै गए केही वर्षमा मरुभूमि हुने भन्दै चुरे संरक्षणप्रति सरकार गम्भीर हुनुपर्ने बताए।
